फागुन १२, पथरी ।
हालको पथरी शनिश्चरे नगपालिका वडा नम्वर १०, साविकको शनिश्चरे गाविस वडा १ घर भएका ३६ वर्षीय सुर्य विश्वकर्मालाई पथरी प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृृत्वको टोलीले पक्राउ गरेको हो ।
१४ वर्षअघि पथरीकै विश्वकर्मा सहित, हालको पथरीशनिश्चरे– १० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको कुरा बाहिर आएको थियोे ।
घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए उनीहरु विरुद्ध पुनरावेदन अदालत विराटनगरले २०७१ वैशाख १० गते जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तर त्यस अघि २०६९ पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ भने परेका थिएनन् ।
यसै क्रममा पछिल्लो समय पथरी प्रहरीको प्रमुख भएर आएका डिएस्पी दिलिप कुमार गिरीले फरार रहेका अपराधीलाई कानुनी कठघारामा उभ्याउने अभियान चलाए सगै विश्वकर्मा १४ वर्ष पछि पक्राउ परेका हुन ।
विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार रहेका कारण उनीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताए ।
डीएसपी गिरीका अनुसार पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरमा रहेको दिदीको घरमा पुगेकी युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् । साँझको समयमा चउरमा निस्किएका बेला तीन युवा आएर ती युवतीलाई आफ्नै साथीकी बहिनी रहेको भन्दै घुम्न जाउँ भनेर फकाउँदै लगेपछि दीपकको घरमा पु¥याएर दुई दिनसम्म बन्धक बनाई सामूहिक बलात्कार गरेको उनको भनाइ छ ।