काठमाडौं, १२ फागुन । उत्तरी छिमेकी मुलुक चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वलाई पिरेको छ । रोकथामको उपाय खोज्न तल्लिन विश्वका वैज्ञानिकहरुले अहिलेसम्म उपाय पत्ता लगाउन सकेका छैनन् ।
विश्वस्वास्थ्य संगठनले आपातकाल घोषणा गरेर यस रोगका विषयमा सचेत रहन ध्यानाकर्षण गराइरहेको छ । तैपनि कोरोना नियन्त्रणमा आइसकेको छैन र कालबाट महाकाल बन्दै गएको छ ।
चीनसँग सीमा जोडिएको उत्तर कोरियाले विदेशी भूमिबाट आउन सक्ने कोरोना भाइरसको रोकथामका लागि आइसोलेसन प्रणाली लागू गरिसकेको छ । वुहानमा रहेका नेपालीलाई ने्पाल सरकारले फिर्ता ल्याएको छ । अहिले उनीहरु क्वारेनटाइनमा छन् ।
भारतसँग खुला सीमा जोडिएको नेपालमा जो आए हुन्छ, जो गए पनि हुन्छ । चीनसँग पनि सीमा जोडिएको छ । तर, चीनले कडाइ गरे पनि नेपालले उचित प्रवन्ध केही गरिसकेको छैन । नेपालमा कोरोनाको जोखिम बढेर गएको देखिन्छ ।
एकप्रकारले नेपाल पशुपतिनाथले रक्षा गरुन्को हिसावमा देखिन्छ र यसैगरी बाँचिरहेको छ । चीनमा रहेका नेपालीको उद्धार गरेर ल्याइएका विद्यार्थीलाई भक्तपुर खरिपाटी र विद्युत प्राधिकरणका भवनहरुमा राखिएको छ ।
फिर्ता ल्याइएका विद्यार्थीजनलाई १४ दिनको क्वारेन्टाइनका लागि राखिएको हो । व्यापक रुपमा सतर्कता अपनाइएको छ । तर जहाँ जहाँ विद्यार्थी ल्याएर राख्ने प्रवन्ध गरिएको छ, ती क्षेत्रका बासिन्दाले बिद्रोह गरेका छन् ।
कति बसाइसराइ गर्दैछन् त कतिले यता राख्न पाइन्न भनेर आन्दोलन गरेका छन् । आन्दोलन दबाउन सरकारले शक्तिप्रयोग गरेका घटना पनि देखिएका छन् । ती विद्यार्थी नेपाली नै हुन् । ती हाम्रै सन्तान हुन् ।
मुख्य सवाल ती विद्यार्थीले कोरोना भाइरस भित्र्याउन सक्ने र महामारीले मरिन्छ भन्ने भय हो । सरकारले उचित प्रवन्ध गरिसकेपछि र ती विद्यार्थीलाई बचाउने र कदाचित कोरोना भाइरस साथै आएको छ भने त्यसको रोकथामको उचित प्रवन्ध हो । सरकारले गरेकै छ । सरकार हामीले नै बनाएका हौं, सरकारलाई विश्वास गर्नुपर्छ ।
सरकारले पनि महामारी फैलिएर जनता मरुन् भन्ने ठानेको छैन । ठान्न पनि हुन्न । लोकतन्त्रमा सबै लोकेको अभिभावक हो सरकार । अभिभावकले नराम्रो गर्छु भनेर कसरी गर्ला र ?
हो, नीति, नैतिकता र पैसाका मामिलामा सरकार चुकेको छ । सरकार भ्रष्टको खोकिलामा परेको छ । कोरोना भाइरसका सम्बन्धमा सरकारले कुनै कमी नगर्ला । सरकारले घना बस्ती नभएका स्थानमा यस प्रकारका एकाध भवन बनाउन सकेको भए यस्ता समस्याबाट पार पाउन सहज हुनेथियो ।
सरकार कस्तो छ भने महानगरको फोहर घना बस्ती छेउछाउ डम्प गर्ने, महामारीलाई घनाबस्तीकै छेउछाउ ल्याएर उपचार, हेरचाह गर्ने गर्नु सरकारको कमजोरी नै हो । सरकारले परिआउने समस्यासँग पार पाउन उचित प्रवन्ध गर्न नसक्नुले अकल्पनीय समस्या बढेका छन् । अभियान टाइम्सका साथमा ।