काठमाडौं | सूर्यको रहस्य अझै पत्ता लगाउने कार्यमा वैज्ञानिकहरु जुटेका छन् । यसको पछिल्लो प्रयासस्वरुप सोलार अर्विटर पठाइएको छ । यसले सूर्यसम्म पुग्न करिब चार करोड १८ लाख किलोमिटर यात्रा गर्नेछ । यसलाई यो दूरी पार गर्न करिब सात वर्षको समय लाग्ने बताइएको छ ।
‘युनाइटेड लन्च बी’ को सहायताले यस अर्विटरलाई सोमबार बिहान करिब ८ बजेर ३३ मिनेटमा अमेरिकाको फ्लोरिडाको केप केनेवरल स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको तथा यस अर्विटरबाट वैज्ञानिकले सूर्यको रहस्यलाई खोतल्न धेरै मद्दत मिल्ने अपेक्षा गरेका छन् । यस मिसनमा अमेरिकी स्पेस एजेन्सी नासा र युरोपियन स्पेस एजेन्सी इसा संयुक्त रुपमा काम गरिरहेका छन् । योअर्विटर सूर्यको ध्रुवको पहिलो पटक तस्वीर लिनेछ । यसमा १० उपकरण लगाइएको छ । जसमा हाइ रिजोलुसनवाला ६ वटा क्यामेरा जडान गरिएको छ । यही अर्विटरका माध्यमबाट पहिलो पटक वैज्ञानिक सूर्यको ध्रवका बारेमा जानकारी लिन सक्ने बताइएकोे छ ।
यसअघि कुनै पनि अर्विटरले सूर्यको यति नजिकबाट तस्वीर लिन नसकेको कारण यसलाई ठूलो उपलब्धीको रुपमा व्याख्या गरिंदै आएको छ । यसका साथै यो सूर्यको सतहमा अवशेषित कण, हावाको प्रवाह, सूर्यको भित्री चुम्बकीय क्षेत्र र यसमा बन्ने हेलियोस्फियरको पनि जाँच गर्ने बताइएको छ । सूर्यको उत्तरी र दक्षिणी ध्रुवको तस्वीर कैद गर्नका लागि यस अर्विटरलाई एक्लिप्टिक प्लेनबाट बाहिर निकालेछ । वैज्ञानिक यसलाई पृथ्वी र शुक्रको कक्षभन्दा यस्तो ठाउँमा स्थापित गर्नेछन् जहाँबाट सूर्यको दुवै ध्रुव देखिनेछ ।
आफ्नो गन्तव्यमा पुगेपछि यसलाई २४ डिग्रीसम्म घुमाउने नासाले जनाएको छ । जहाँबाट अपेक्षाभन्दा बढी जानकारी प्राप्त गर्न सम्भव हुनेछ । यसबाट प्राप्त जानकारीबाट वैज्ञानिकले सूर्यप्रति हाम्रो सोच परिवर्तन गर्ने दाबी गरेका छन् । सूर्यको बाहिरी सतहको तापक्रम पाँच हजार सात सय ७८ केल्भीन (५,५०५ डिग्री सेल्सियस, ९,९४१ फरेनहाइट) छ । यही कारण यसको नजिक जान सम्भव छैन । यति धेरै तापक्रमले कुनै पनि बस्तुलाई केही सेकेन्डमै भष्म गर्न सक्छ । सोलर अर्विटरलाई पनि यस्तो प्रचण्ड तापक्रमको सामना गर्नुपर्ने हुन्छ तर केही क्षणमै राख बनाउन सक्ने यस्तो तापक्रमबाट बच्न यस अर्विटरमा खास किसिमको शिल्ड प्रयोग गरिएको छ । यसका लागि यस शिल्डमा क्याल्सियम फस्फेटको कोटिङ गरिएको छ । यस्तो कोटिङलाई हजारौँ वर्ष पहिले मानव गुफामा बनाइएको भित्तेचित्र बनाउन प्रयोग गरिन्थ्यो ।
अब यस अर्विटर स्थापित भएपछि सूर्य पृथ्वीलगायत सौर्यमण्डलका अन्य ग्रहको मौसममा कस्तो प्रभाव पार्दै आएको छ, यसका साथै अन्तरिक्ष यात्री, उपग्रह, रडियो र जीपीएस जस्ता इलेक्ट्रोनिक उपकरणमा सूर्यको कारण कसरी प्रभावित हुन्छन् भन्ने रहस्य पनि खुल्ने विश्वास लिइएको छ ।