फागुन १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगनकुमार थापाले गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो टेप प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ महिना अघिनै सुनेको कुराको संसदमा जवाफ दिनु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै नेता थापाले सो विषयमा नागरिक र प्रतिपक्षी दलको प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन भनि प्रश्न गरे । उनले भने,‘प्रधानमन्त्री ज्यूसँग यो हिम्मत छ कि छैन तर संसदसँग यो हिम्मत हुनु पर्छ ।’ उनले ध्यानाकर्षण मात्रै गराएर नपुग्ने बताउँदै संसदले सामथ्र्य राख्नु पर्ने जिकिर गरे ।
उनले भने, ‘सम्माननिय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन, तालतलैया हेरेर बस्ने होइन, सदनमा आउनु पर्छ, यहाँ उभ्भिनु पर्छ, हाम्रो प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्न सोध्ने छौं ।’
नेता थापाले सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ्ग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई बाँस्कोटा प्रकरण थाहा नभएको भन्दै बाहिर आएका कुरामा आक्रोस पोख्दै उनले भने, ‘प्रधानमन्त्रीले के भन्नु हुन्छ थहा छैन तर उहाँका आसेपासेहरुले केही दिन देखि एउटै कुरा भनिराख्नु भएको छ , प्रधानमन्त्रीलाई थाहा थिएन । प्रधानमन्त्रीको चुल्हो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीका भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीका प्रवक्ताले गर्नु भएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनु पर्ने ?’
‘यी सबै कुरा थाहा थिएन भने प्रधानमन्त्री ज्यू तपाईलाई के थाहा छ त ?’