काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आज आह्वान गरेको आम शैक्षिक हडतालका कारण बिहानैबाट शैक्षिक संस्था प्रभावित भएका छन् ।
अखिल (क्रान्तिकारी) ले सङ्गठनका नेता–कार्यकर्ताको गिरफ्तारी र सङ्गठनमाथि सरकारले अघोषित रूपमा प्रतिबन्ध लगाएको भन्दै एकदिने आम शैक्षिक हडतालको आह्वान गरेको थियो ।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराईले सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायत नेताहरूको गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाइको मागसहित चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार अखिल (क्रान्तिकारी) ले बुधबार शैक्षिक संस्था बन्दका लागि आह्वान गरेको थियो ।
हडतालका कारण काठमाडौँ उपत्यकासहित देशभरका सबै शैक्षिक संस्था प्रभावित भएका छन् । हडतालको तयारी पूर्ण भइसकेपछि सरकारले सङ्गठनका अध्यक्षलाई थुनामुक्त गरे पनि कोषाध्यक्षलगायत नेता–कार्यकर्ताहरू अझै थुनामा छन् ।