२ शिक्षकद्वारा सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार, जाहेरीपछि पीडक फरार
बझाङमा दुई शिक्षकले एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
आफूलाई ७ महिनाअघि पटकपटक बलात्कार गरिएको र ती शिक्षकबाटै अहिले आफ्नो ७ महिनाको गर्भ रहेको भन्दै उनले दुर्गाथलीमै रहेको विद्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र वसन्त ओलीविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन् ।
‘प्रारम्भिक अनुसन्धानबाट ती किशोरी सुस्त मनस्थिति भएको भन्ने खुलेको र ती ७ महिनादेखि गर्भवती छिन् भन्ने खुलेको छ, यद्यपि उनको मेडिकल रिपोर्ट आइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले भने, ‘किशोरीलाई सुस्तमनस्थिति भनिएको भए पनि उनी आफैँले प्रहरीमा जाहेरी दिएकी छन्, हामी घटनाको अनुसन्धान गर्दै छौँ ।’
आरोपित दुवै शिक्षक अहिले फरार रहेकाले तिनको खोजी कार्य भइरहेको उनले बताए । अहिले पीडित किशोरीे सदरमुकाम चैनपुरस्थित सुरक्षित आवास गृहमा छन् ।