• ‘कांग्रेस कोइरालाहरूको मात्रै बपौती हो र ?’
    फाल्गुन १५, २०७६

    काठमाडौँ — कांग्रेसको गैरसंस्थापन पक्षमा सभापतिको प्रत्याशी को हुने भन्ने दौडधुप चलिरहेका बेला महामन्त्री शशांक कोइरालाले फागुन १ गते उत्तरप्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्यनाथसँग गरेको भेटवार्ता अहिले चर्चामा छ । कोइरालाको उक्त भेटलाई पार्टीको आसन्न महाधिवेशन र ‘हिन्दु राज्य’ को मुद्दासँग जोडेर हेर्ने गरिएको छ ।

    केही समयअघि स्वास्थ्य परीक्षण गर्न दिल्ली पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलको भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवं रक्षामन्त्री राजनाथ सिंहसँग भेटेका थिए । जसको चर्चा नसेलाउँदै कोइरालाले भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदीका विश्वासपात्र आदित्यनाथलाई भेटेका हुन् ।

    कोइराला इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल–भारत च्याम्बर अफ कमर्स इन्डस्ट्रीले संयुक्त रूपमा माघ २९ देखि फागुन १ सम्म आयोजना गरेको कार्यक्रममा सहभागी हुन उत्तरप्रदेश पुगेका थिए । आयोजकले योगी सहभागी हुने कार्यक्रममा कांग्रेसबाट महामन्त्री कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बोलाएका थिए । नेपाल र भारतबीचको बहुपक्षीय विषयमा भएको संवाद कार्यक्रममा अन्य राजनीतिक दलका नेतासमेत आमन्त्रित थिए ।

    कांग्रेस नेता रिजालका अनुसार कोइराला र योगीसँगको भेटवार्ता छुट्टै भएको थियो । उनीहरूबीचको भेट औपचारिकतामा मात्रै सीमित थिएन । पार्टीको आसन्न महाधिवेशन र नेपालको पछिल्ला घटनाक्रममाथि खुलेरै कुराकानी भएको थियो । भारतसँग कोइरालाहरूको पुरानो सम्बन्ध र बीपीकै छोरा भएका कारण पनि योगीले कोइरालासँगको भेटलाई बढी महत्त्व दिएको रिजालको बुझाइ छ ।
    नेपालमा हिन्दु राज्य स्थापना हुनुपर्छ भन्ने भनाइ बेलाबखत सार्वजनिक रूपमै प्रकट गर्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथसँग कोइरालाको भेटलाई पार्टीकै कतिपय नेताहरूले महाधिवेशनभन्दा पनि धर्मसँग जोडेर हेर्ने गरेका छन् । कोइराला भने धर्मबारे कुराकानी नै नभएको दाबी गर्छन् । ‘पार्टीको महाधिवेशन र सरकारका विषयमा कुराकानी भयो । धर्मका बारेमा कुराकानी नै भएन,’ उनले कान्तिपुरसँग भने, ‘धेरैजसो त पार्टीको आसन्न महाधिवेशनकै बारेमा उनीहरूको पनि चासो देखियो । हाम्रो कुराकानी पनि त्यसैमा बढी केन्द्रित भयो ।’

    धर्मबारे आफ्नो दृष्टिकोणमा कुनै हेरफेर नभएको भने उनले बताए । ‘धर्म निरपेक्षता हटाउनै पर्छ, अहिले पनि मेरो धारणा त्यही हो । तर दुई तिहाइको समर्थन अर्कोतिर छ । अहिल्यै हट्ने सम्भावना छैन,’ उनले भने, ‘धर्मसापेक्ष र निरपेक्ष दुवै हुनु हुन्न, स्वतन्त्र हुनुपर्छ भन्नेमा म स्पष्ट छु ।’ ...

    कोइराला कार्यकर्ताको कुरा सुन्छन्, प्रतिक्रिया दिनुपर्ने भए मात्रै एक/दुई वाक्य बोल्छन् । नत्र मुसुक्क हाँसेर टारिदिन्छन् । आफ्नै बारेमा जति कटु आलोचना गरे पनि त्यसको प्रतिक्रिया उनको हाँसो हुन्छ । कसैलाई बिझाउँदैनन् ।

    संसद्मै कोइरालाले दुई वर्षमा दुई पटक मात्रै बोलेका छन्, एकपटक सभामुख निर्वाचित भएपछि कृष्णबहादुर महरालाई बधाई दिने क्रममा र अर्कोपटक सरकारको नीति तथा कार्यक्रममाथि । पार्टीको केन्द्रीय कार्यसमितिमै उनी हतपत बोल्दैनन् । उनको भूमिकासमेत अर्का महामन्त्री पूर्णबहादुर खड्काले निर्वाह गरिरहेका हुन्छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाको हरेक गल्तीमा साक्षी बनेको आरोप शशांकलाई आफ्नै समूहबाट समेत लाग्दै आएको छ । पार्टीभित्र उनको सबैभन्दा ठूलो पुँजी बीपीको विरासत हो ।

    तत्कालीन सभापति सुशील कोइराला त्यस्तै नबोल्ने नेतामा पर्थे । उनलाई संसद्मा ‘ब्याकबेन्चर’ भनिन्थ्यो । संसद् प्रवेशको सुरुवाती कालखण्डमा उनी पछिल्लो बेन्चमा बस्थे । जिब्रोको क्यान्सरका कारण उनको बोली पनि स्पष्ट थिएन । बोली स्पष्ट भए पनि शशांक भने आमसभामै दुई, तीन मिनेटभन्दा बढी बोल्दैनन् । संसद्को नीति तथा कार्यक्रममाथि बोल्दा उनले जम्मा एक मिनेट बोलेका थिए । पार्टी पदाधिकारी हुनुअघि उनी पनि संसद्को पछिल्लो बेन्चमा हुन्थे ।

    पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शशांक आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा छन् । एक वर्षअघि विराटनगरबाट उनले उम्मेदवारी घोषणासमेत गरेका थिए । उनको घोषणालाई लिएर आन्तरिक गुटको बैठकमा आलोचना भयो । उम्मेदवार घोषणाको प्रतिस्पर्धाले पार्टी सभापति देउवालाई लाभ पुग्ने ठानेर संस्थापन इतरपक्षमा कसैले पनि सार्वजनिक रूपमा उम्मेदवार घोषणा नगर्ने सहमति बन्यो ।

    पछिल्लो समय सार्वजनिक रूपमा उम्मेदवार हुँ नभने पनि शशांकको गतिविधि बदलिएको छ । साढे तीन वर्ष पार्टी सभापति देउवालाई सहयोग गरेका उनी ६ महिनायता सबैभन्दा बढी विरोधीका रूपमा देखिएका छन् । सार्वजनिक रूपमा देउवालाई अक्षम र पार्टी चलाउन नसक्ने नेता भनी आलोचना गरेका छन् ।

    बाहिरी गतिविधि कम तर भित्रभित्रै सभापतिका लागि तयारी थालेका शशांकको भारत साइनो पनि त्यसैसँग जोडिन पुगेको छ । उनी निकट एक नेताका अनुसार योगीसँगको भेटवार्ता एजेन्डा जेजस्ता भए पनि भारतसँगको सम्बन्ध विस्तार गर्नकै लागि थियो । शशांकका लागि उम्मेदवार बन्न भने परिवारभित्रै दाजु शेखरको चुनौती छ । शेखर दुई वर्षदेखि नै सभापतिको प्रत्याशीका लागि दौडधुपमा छन् । राजधानीभन्दा बाहिर जिल्लामा उनको बसाइ बढी छ । शशांक बीपी पुत्र हुन् भने शेखर बीपीका भाइ केशवका छोरा हुन् । विरासतको लाभको हिसाबले शेखरभन्दा शशांक अघि देखिन्छन् । क्रियाशीलता शेखरको बढी छ । यति हुँदाहुँदै पनि संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल मुख्य दाबेदारका रूपमा छन् । उनी आफैं उम्मेदवार हुनेमा ढुक्क देखिन्छन् तर शशांक र शेखरलाई मनाउनु नै पौडेललाई फलामको चिउराजस्तै छ । गणेशमान पुत्र प्रकाशमान सिंह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि आकांक्षी हुन् ।

    शशांकले देउवा फेरि सभापति भए कांग्रेस धेरै कमजोर हुने दाबी गरे । ‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन,’ उनले कान्तिपुरसित भने, ‘म सभापति हुने/नहुने भन्दा पनि कसरी शेरबहादुरजीलाई नेतृत्वमा आउनबाट रोक्ने भन्नेमा बढी ध्यान मेरो छ ।’

    संस्थापनइतर पक्षमा जति प्रतिस्पर्धी देखिए पनि अन्तिममा एक जना मात्रै उम्मदेवार हुने दाबी शशांकले गरेका छन् । ‘एक भएन भने त फेरि पनि शेरबहादुरजीले नेतृत्व हत्याउनुहुन्छ । त्यसैले हामीबीच सल्लाह हुँदै छ,’ उनले भने ।

    ‘कांग्रेस कोइरालाहरूको मात्रै बपौती हो र ?’
    भारत किन जानुभएको थियो ?
    सेमिनार थियो । त्यसैमा गएको हो । यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीजीसँग भेटवार्ता भयो ।

    छुट्टै भेटवार्ता ?
    हो भयो । हामीले कुरा राख्यौं, दुई देशका विकासका बारेमा । अहिलेको सरकारप्रति उनीहरू पनि सन्तुष्ट भएको पाइएन ।

    कांग्रेसकै विषयमा कस्तो चासो रहेछ ?
    आगामी महाधिवेशनका विषयमा कुराकानी भए । पार्टी सभापति शेरबहादुरजीप्रति उनीहरूको धारणा सकारात्मक भएको पाइनँ ।

    तपाईं र योगीबीचको धर्मको‘कनेक्सन’लाई लिएर टीकाटिप्पणी भइरहेको छ नि ?
    धर्मबारे कुरा नै भएन ।

    तपाईंको‘लाइन’ त हिन्दु राज्य स्थापना गर्नुपर्छ भन्ने हो नि, हैन ?
    त्यहाँ त्यस्तो कुरा भएन तर म प्रस्ट छु, धर्म निरपेक्ष राख्न हुन्न । धर्म स्वतन्त्र हुनुपर्छ ।

    महाधिवेशनका लागि पार्टीभित्र तपाईंको तयारी कस्तो छ ?
    अब १४ औं महाधिवेशनमा शेरबहादुरजीलाई नेतृत्वमा आउन नदिनका लागि म लागेको छु ।

    तपाईंहरू (संस्थापनइतर पक्ष) नै विभाजित हुनुहुन्छ भने कसरी सम्भव हुन्छ ?
    त्यसैका लागि मेरो ध्यान केन्द्रित छ । हामी एक भएनौं भने फेरि शेरबहादुरजीले नेतृत्व लिनुहुन्छ । त्यसैमा ध्यान दिनुपर्छ । एउटै उम्मेदवार हुने विषयमा छलफल भइरहेको छ । खालि को हुने भन्ने मात्र हो ।

    तपाईं र शेखर कोइरालामध्ये एक होभन्छन् नि ?
    रामचन्द्र दाइ पनि हुनुहुन्छ ।

    कोइरालाले नेतृत्व लिनुपर्छ भन्ने धारणा तपाईंहरूको हो ?
    के कांग्रेस कोइरालाहरूको बपौती हो र ? त्यो त होइन नि । हामीबीच मिल्ने कुरा भइरहेको छ । समय छ ।

    पार्टी सभापतिको चार वर्षको कार्यकाललाई कसरी लिनुहुन्छ ?
    पार्टीलाई चारैतिर आक्रमण हुँदा समेत नेतृत्वले केही गर्न सकेन । कांग्रेसकै साथीहरू रिसाएका छन् । शेरबहादुरजीले पार्टी नै चलाउन सक्नुभएन, गति दिन सक्नुभएन । उहाँको केही भिजन नै रहनेछ ।

    तपाईंहरूले सहयोग गर्दिनुभएन भन्ने छ नि ?
    शेरबहादुरजीलाई मैले सधैं सहयोग गरेँ । कहिल्यै बाधक बनिनँ । चुनावमा पार्टी पराजित भयो । त्यतिबेला शेरबहादुरजीका टाउकामा मात्रै दोष हालेर हुँदैन भनेर मैले नै बचाएको हो । हामी पनि निर्णय गर्ने ठाउँमा छौं भनेर बचाएको हो । त्यसपछि पनि गति लिन सक्नुभएन ।

    पार्टी सभापतिसँग तपाईंको कुराकानीकत्तिको हुन्छ ?
    बैठकमा मात्रै हुन्छ । पहिला जस्तो कुराकानी हुन्न ।

    नेतृत्वले गल्ती गर्दा पनि तपार्इं किन मौन बस्दै आउनुभएको ?
    हो, विरोध गरिनँ । मैले नै विरोध गरेको भए बाहिर पार्टी सभापति कमजोर भएको सन्देश जान्थ्यो । अब त महाधिवेशन पनि आइसकेको छ । उहाँले केही पनि गर्न
    सक्नुभएन । अब त बोल्नैपर्छ भनेर बोल्न थालेको हो ।

    सभापतिले कांग्रेसलाई पुरानै अवस्थामा लैजान्छु भन्नुभएको छ नि ?
    यो त सबैले भन्ने कुरा हो । फेरि शेरबहादुरजी नै सभापति बन्नुभयो भने पार्टी झनै खत्तम हुन्छ । भिजन नभएको नेताबाट पार्टी चल्दैन ।

    तपाईंको भिजन के छ ?
    पार्टी एक गराउने र सरकारमा लैजाने हैसियतमा पार्टीलाई पुर्‍याउने भिजन मसँग छ ।

    महाधिवेशन तयारी अघि बढेको हो ?
    केही बढेको छैन । क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छैन । समायोजनको काम सकिएको छैन । तोकिएकै मितिमा महाधिवेशन हुनेमा आशंका बढ्दै छ ।

    किन तयारी अघि नबढेको ?
    शेरबहादुरजीले चाँडै महाधिवेशन गराउन नै खोज्नुभएको छैन । कार्यकाल लम्ब्याइराख्ने र पार्टीलाई अप्ठ्यारामा पार्ने काम उहाँले गर्न खोज्दै हुनुहुन्छ । हामी छिटो गर्नुहोस्भन्दै दबाब दिँदै आएका छौं तर छिटो हुन सकेको छैन ।कान्तिपुरबाट

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …