२०७६ फाल्गुण १६ शुक्रबार
काठमाडौं । राजनीतिक संरक्षणमा बचतकर्ताको लगानी दुरुपयोग गरिरहेका पूर्व एमाले सांसद् तथा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका संस्थापक ईच्छाराज तामाङ्गबारेको अनुसन्धान सकिएपनि विशेष अदालतमा मुद्दा दर्ता गर्न विलम्ब भैरहेको एक पीडित बचतकर्ताले बताएका छन् । सम्पत्ति शुध्दीकरण अनुसन्धान विभागले तामाङ्ग र उनकी पत्नी सिर्जना शाक्य तामाङले नेतृत्व गरेका सिभिल ग्रुपका अधिकांश संस्थाहरुको कागजात अनुसन्धान गरिसकेको थाहा भएको छ । तर अर्थमन्त्री युवराज खतिवडा र सत्तारुढ दलका दर्जनौ नेताको दवावले अनुसन्धान टुंगिन नपाएको जानकार सूत्रले बताएको छ । यसमा प्रमुख प्रतिपक्षका पनि केही नेताको समेत स्वार्थ गाँसिएको पाईएको विभागको एक सूत्रले जनाएको छ ।
सिभिलका अनेक वित्तिय लगायतका संस्थामा भएको पैसाको बहाव आश्चर्यलाग्दो देखिएको सूत्रले बताएको छ । जनताबाट संकलन भएको रकमले सिभिल कोअपरेटिभ बनेको थियो । इच्छाराजका आफ्नै मामा ससुरालाई संचालन गर्न लगाई उनी आफू भने पर्दा पछाडि बसेका थिए । सिभिल होम्स सीमित ब्यक्तिद्वारा संचालित थियो । सिभिल अपार्टमेन्ट र अन्य कम्पनिहरुमा पनि यस्तै अवस्था देखिन्छ । यसले लगभग २ हजारवटा जति घर बिक्री गरेको देखिएको अनुसन्धानबाट खुलेको बुझिएको छ । तर राज्यलाई नियमानुसार तिर्नुपर्ने कर भने नतिरेको प्रमाणहरु फेला परेको छ । यसैगरी कर्जा बापत लिएको रकम सहकारीलाई नतिरि कम्पनिबाट बाहिर लगानी गरेको पाईएको छ । इच्छाले पत्नी सिर्जना र आफ्ना परिवारका सदस्यहरुको खाताहरुमा ब्यक्तिगत सम्पति जसरी लुकाएको देखिएको थाहा भएको छ । उनले अधिकांश कारोबार संस्थाका नाममा गरेपनि आम्दानी भने बाहिर प्रयोग गर्दै अन्यत्र लगानी गरेको देखिएको छ ।
इच्छाकी पत्नी सिर्जना कुनैबेला निजामति कर्मचारी हुन् । उनी सरकारी सेवामा मिति २०४६ भदौ २१ गते देखि २०७४ माघ १७ सम्म कार्यरत थिईन् । उनले सेवाबाट विदा लिँदा तलव भत्ता स्वरुप ३५ लाख रुपैयाँ पाएको देखिएको अख्तियार सूत्रबाट थाहा भएको छ ।
तर सोहि अवधिमा सिभिल बैकको संस्थापक शेयरमा सिर्जनाले १२ करोड ४० लाख ८० हजार रुपैयाँ तथा सिभिल क्यापिटलमा संस्थापक शेयरकै रुपमा १५ लाख ७१ हजार ५०० गरि जम्मा करिब १४ करोडको संस्थापक शेयर खरिद गरेको पाईएको छ । यसका साथै अरु विभिन्न संस्थाका अरु कित्ता नम्बरका १५ देखि २० करोड रकम बराबरका जग्गाहरु समेत खरिद गरेको तर सो कुरा सम्पत्ति बिवरण फाराममा लुकाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बध्द सूत्रले बताएको छ ।
यसैगरी सिभिल बैकको संस्थापक शेयर बिक्री गरि रकम भने अन्यत्र लगेको देखिएको छ । बंैकको अध्यक्षको परिवारका मानिसले बिक्री गर्न ऐनले बन्देज लगाएकोले अंशबण्डा गरेर छुट्टिई अलग भएको फर्जी कागज बनाएको प्रमाण समेत फेला परेको आयोग सूत्रले बताएको छ ।
सिर्जनाले आफ्नो नाममा खरिद गरेको १ करोड मूल्य पर्ने RAV 4 ब्राण्डको टोयोटा गाडीे पनि अनुसन्धानकर्ताहरुका लागि आश्चर्यको बिषय भएको छ । यतिमात्र होइन निजामति कर्मचारीको रुपमा बहालै रहेको अवस्थामा सिर्जना सिभिल क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष समेत रहेको पाईएको छ ।
यी विवरणहरुले भ्रष्टाचार निवारण ऐन २०५९ बिपरित गैरकानुनी व्यापार ब्यवसाय गर्ने कसुर गरेको आधार बनेको अनुसन्धानमा देखिएको छ । साथै सम्पति बिवरण दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवकले वास्तबिक सम्पति भन्दा भएरहेको सम्पति लुकाई छिपाई झुट्टा विवरण दिएकोले यो कार्य अख्तियार दुरुपयोग निवारण ऐन २०४८ बिपरित भएकाले अख्तियारबाट आवश्यक अनुसन्धान गरी कानूनी कार्बाही हुनुपर्ने अवस्था देखिएको विभाग सूत्रको भनाई छ ।
यसो भएमा इच्छा दम्पत्तिले मुद्दा दर्ता भएको अवस्थामा गैरकानूनी ढंगले लुकाएको तथा आर्जन गरेको सम्पति जफत हुनसक्ने बलियो आधार समेत रहेको सूत्रको बुझाई छ ।