उर्लाबारी । नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।
आफन्तको शरणमा जनमन गरेर बस्दै आएका लालबहादुर १ बर्षदेखि नसा रोगका कारण थलिनु भएको हो । जनमन गरी परिवारको जीविकोपार्जन गर्दै आउनु भएका घरमुली लालबहादुरको यतिबेला हात, खुट्टा चल्न छोडेका छन् । छोरीको घरमा शरण बस्दै आएका लालबहादुरको उपचारका लागि राई परिवार सहयोगी हातको खोजीमा छ । ऋणपान गरी लालबहादुरको उपचारमा ५० हजार रुपैयाँ खर्च गरिसकेको पत्नी अम्बिका राईले बताउनुभयो । जनमन गर्ने मान्छे नै बिरामी भएपछि समस्या सिर्जना भएको र उपचार गर्न नसकेको उहाँको भनाई छ ।
https://www.youtube.com/watch?v=8rjNngQU-uk&feature=share&fbclid=IwAR1oju4dSH5xpb8tyn_l08tyKErSYrFskUcz7jf7cIPonprREvdEQxN8IR8
गहभरी आँसु पार्दै अम्बिकाले भन्नुभयो–‘ औषधि किन्ने पैसा पनि छैन, अब के गर्ने ?’ लालबहादुरको उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी, कोशी अस्पताल विराटनगरमा लगिएपनि निको नभएको र थप उपचार गर्न सक्ने हैसियत नभएकाले घरमै राख्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँले सबै सहयोगी हातहरुलाई सहयोगका लागि अपिल गर्नुभयो ।
बर्षौदेखि अरुको जग्गामा बस्दै आएका राई परिवारलाई जग्गाधनीले हटाएपछि आफन्तको शरणमा पुगेका थिए । राई परिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले देशविदेशमा रहनु भएका सहयोगी महानुभावलाई सकेको सहयोग गर्न स्थानीय नवराज कटुवालले अपिल गर्नुभयो ।