मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको दुई दिनसम्म चलेको हिउँदे अधिबेशनले दुईवटा विधेयक सहित १८ वटा निषयमा निर्णय गरेको छ ।
फागुन १६ र १७ गते भएको अधिवेशनले नगरको उपप्रमुख यमुना विष्टले प्रस्तुत गरेको सहकारी र वातावरण तथा प्राकृतिक संरक्षण सम्बन्धि विधेयक पारित भएको नगरको प्रवक्ता यमनाथ गुरागाईले बताए ।
अधिवेशनले नगरले वैदेशिक दातृ निकायसँग आर्थिक तथा प्राविधि सहायता लिने र भगिनी सम्वन्ध स्थापित गर्न पहल गर्ने निर्णय भएको छ । नगरको मुख्य समस्याको रुपमा रहेको अव्यवस्थित बसोवासी (सुकुम्बासी) समस्या समाधानका लागि प्रदेश सरकारले समेत पहल गरिदिन अनुरोध गर्ने निर्णय भएको छ ।
आउन लागेको नयाँ वर्ष ३०७८ लाई पर्यटन भ्रमण वर्षको रुपमा बृहत कार्यक्रम गरेर मनाउने निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए । नगरलाई रासायनिक वस्तु विस्थापित गरी अर्गानिक नगर बनाउन पहल गर्ने, डीएसपीको दरवन्दी रहेको इलाका प्रहरी कार्यालय पथरीको भवनको व्यवस्थापन गर्ने, हसन्दहमा र वडा नम्वर ६ र ८ को सिमानाबाट कानेपोखरी ४ जोडने डाँसखोलाको झोलुंगे पुल क्षेत्र नजिकमा प्रहरी चौकी स्थापना गर्न सम्वन्धित मन्त्रालयमा माग गर्ने निर्णय भएको छ ।
चालु आर्थिक वर्षमा ठेक्काबाट बचेको १ करोड ५१ लाख १३ हजार ३ सय ३९ को नयाँ योजना पारित भएको छ । वडा समितिबाट पेश भएका २६ वटा योजनाहरु नगरसभाले संसोधित गरेको छ ।
वडा नम्वर ६ र कानेपोखरी ४ जोड्न, १० नम्वरको त्रिवेणी चोकबाट जिरिखिम्तिी जोड्न डाँसखोलामा पक्कीपुल निर्माण, त्यसैगरी
५ नम्वरको पौडेल चोकबाट मौलीबारी जोड्ने बक्राहा खोलामा पक्की पुल निर्माण गर्न र पथरी खोला तटवन्ध सहितका २२ वटा योजना मन्त्रालय तथा सम्वन्धित निकायमा पेश गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले केही संसोधित योजना सहितका कार्यक्रमहरु पेश गरेका थिए ।