कोरोना भाइरसका कारण त्रास फैलिएपछि सरकारले होली खेल्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारले चिसोमा कोरोना भाइरस सर्ने सम्भावना बढी भएका कारण होली खेल्दा सवधानी अपनाउन आग्रह गरेको हो । प्रदेश १ सरकारले होली खेल्दा मानिसको ठूलो जमघट नगर्न र पानी नखेल्न आग्रह गरेको छ । त्यस्तै स्थानीय सरकारले पनि सवधानी अपनाउन आग्रह गरेको छ ।
२६ फागुनमा पहाड र २७ फागुनमा तराइमा होली मनाइन्छ । चीनबाट फैलिएको कोरोना प्रकोपको नेपाल उच्च जोखिममा परेपछि सरकारले होली मनाउन चोकमा नजान र लोला, पिचकारी प्रयोग नगर्न आग्रह गरेको हो ।
संघीय सरकारले कोरोनाको जोखिम बढेपछि ठूला सभा सम्मेलन र जमघट नगर्न निर्देशन जारी गरेको थियो ।
सरकारको निर्देशनपछि नेकपाले झापामा आयोजना गर्ने ठूला दुई सभा स्थगित गरेको छ । मंगलबारका लागि तय भएको प्रदेश प्रशिक्षण र बुधबारका लागि तय भएको सुखानी सम्मेलन स्थगित गरेको हो ।
कोरोनाको त्रास फैलिएपछि पूर्वतयारीअनुरुप प्रदेश १ सरकारले २८ शैय्याको आइसोलेसन वार्ड पनि तयार पारेको छ ।