फागुन २२, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध सचेतनाका कार्यक्रम सुरु गरेको छ । बैंकले कोरोना रोकथामसम्बन्धी उपाय अवलम्बन गर्न सुरु गरेको हो ।
सेवा लिन आउने ग्राहकको सुरक्षाका लागि बैंकले कार्यालय परिसरको प्रवेश र निकासद्वारमा सेनिटाइजेसन र बच्ने उपाय उल्लेख गरिएको सूचना टाँस गरेको छ । यसका साथै कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरेर भाइरस प्रभावित हुनबाट सतर्क रहन बैंकले अनुरोध गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विश्वभरि नोबल कोरोना भाइरस (कोभिड-१९) फैलिँदै गएको तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो-सरोकार व्यक्त गर्दछ ।'
विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गरेका सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न पनि बैंक सम्पूर्ण देशवासीलाई आग्रह गरेको छ ।