विराटनगर: सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दा दोषी ठहर भएका प्रदेश-१ की सांसद गुलेफुन खातुन हराएको भन्दै खोजी गर्न सदनमा माग गरिएको छ।
नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्कीले हराएको सांसदको खोजी गर्न सभामुखलाई आग्रह गरेका हुन्। बिहीबारको संसद् बैठकको विशेष समयमा बोल्दै कार्कीले खातुनतर्फ इंकित गर्दै उनको खोजी गर्न आग्रह गरेका हुन्। 'सभामुख महोदय एकजना सांसद हराइरहेको जस्तो लाग्दछ, हामीले एकजना सांसद देखिरहेका छैनौँ’ कार्कीले भने ’धेरै दिनदेखि बाहिर सही पनि देखेका छैनौँ, सभामुख महोदय हराएको सांसद कहाँ हुनुहुन्छ, पत्रिकामा खोजी हुन्छ कि हुँदैन?’
संसद्मा सामान्य प्रसङ्ग मात्र कोट्याएका कार्कीले फोन सम्पर्कमा भने खातुनलाई नै इंकित गरेको बताए। ’कृष्णबहादुर महराविरुद्ध फौजदारी केस दर्ता भएलगत्तै निलम्बन परे’ कार्कीले भने 'यो त झन् प्रमाणित भएको विषय हो, अहिले मैले सामान्य इंकित मात्र गरेको हो। अन्य दबाबमूलक कार्यक्रम पनि गर्ने छौँ।’ कार्कीले इंकित गरेको सांसद नेकपाबाट समानुपातिक तर्फबाट निर्वाचित खातुन हुन्। खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरे पनि उनी अझै प्रदेश-१ को प्रदेशसभा सदस्यमा कायमै छन्।