काठमाडौं । बाल यौन दुराचार अभियोगमा प्रहरीले बौद्ध (आरुबारी)स्थित कदम्बा गुम्बाका सञ्चालक अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई पक्राउ गरेको छ ।
अस्ट्रेलिया मेलवर्न घर भई गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुखसमेत रहेका रिम्पोछेलाई महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार पक्राउ गरेको हो। बौद्ध वृत्तका डीएसपी रमेश सिंहका अनुसार रिम्पोछे स्वयंले पढाउन ल्याएका १५ वर्षीय किशोरमाथि यौन दुराचार गरेको आरोप छ।
पीडित किशोरले प्रहरीलाई दिएको बयानमा आफूलाई १५/२० दिन देखि गुम्बामै रिम्पोछेले मुख मैथुन गराउन लगाएको उल्लेख छ। पछिल्लो पटक रिम्पोछेले फागुन १८ गते किशोरमाथि यौन शोषण गरेका थिए।
संखुवासभाबाट पढाउनकै लागि रिम्पोछेले आफ्ना ‘अनुयायी’ तथा चिनजानका मानिस मार्फत् पढाउन ल्याएका थिए। ‘१५/२० दिन देखि रिम्पोछेले ती किशोरमाथि यौन दुराचार गरेको उजुरी परेको थियो,’ डीएसपी सिंहले भने, ‘बुधबार औपचारिक रुपमा उजुरी दर्ता भयो, बिहीबार पक्राउ गरी रिम्पोछेलाई हिरासतमा लिएका छौं। कान्तिपुरबाट ।