काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । अब बजारमा औषधि अभाव खड्किने चिन्ता उपभोक्तामा बढेको छ । तर, औषधि व्यवस्था विभाग भने औषधि अभाव नखड्किनेमा विश्वस्त देखिएको छ । नेपाली बजारमा पर्याप्त मात्रामा औषधि रहेको भन्दै अभाव नखड्किने विभागले जनाएको छ ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधि आयातकर्ता र औषधि उत्पादक संघलाई औषधिको विवरण जानकारी गराउन आग्रह गरिएको बताए ।
उनले भने, ‘तीन महिनासम्म अभाव खड्किँदैन भनेर जानकारी आइसकेको छ । केहीले औषधिको मौज्दात विवरण जानकारी गराउनुभएको छ ।’
औषधि आयातकर्ता संघ र नेपाल औषधि उत्पादक संघले कुनै पनि औषधि अभाव नखड्किने जनाएका छन् । औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार चालू आवमा कुनै पनि औषधि अभाव हुँदैन । उनले भने, ‘यो आर्थिक वर्षमा कुनै पनि औषधिको अभाव खड्किँदैन र औषधिको मूल्य पनि बढाउँदैनौं ।’
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार तीन–चार महिना पुग्ने गरी औषधि मौज्दात राखिएको छ । उनले भने, ‘कुनै पनि औषधि व्यवसायीले अप्राकृतिक रूपमा औषधि स्टकमा नराखौं । चीनले पनि औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न थालिसकेको छ ।’
यस्तै, औषधि व्यवस्था विभागले आइतबारसम्म औषधि आयातकर्तालाई गोदाममा भएको औषधिको विवरण पेस गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने र त्यस समयमा हुने अभावको सामना गर्न यस्तो निर्णय लिनुपरेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुपूर्व सरकारसँग अनुमति लिनुपर्नेछ ।
आयात रोक लगाउन भनिएका औषधिमा पारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, एसाइक्लोभिर, भिटामिन बी वान, भिटामिन बी १२, प्रोगेस्टेरोन, क्लोराम्फेनिकोल, इरिथ्रोमिसिन, नियोमाइसिनलगायत छन् ।
सरकारले विभिन्न औषधि र कच्चा पदार्थको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै भारतले विभिन्न औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।
किन खड्किँदैन औषधि अभाव ?
व्यवसायीले औषधि अभाव हुन नदिने बताएका छन् । खुद्रा व्यापारीले गोदाममा कम्तीमा एक महिनाका लागि पुग्ने औषधिहरू स्टक राखेका हुन्छन् । होलसेलरले पनि डेढदेखि दुई महिनासम्म पुग्ने औषधि भण्डारण गरेका हुन्छन् ।
आयातकर्ताले कम्तीमा दुई–तीन महिनासम्मका लागि औषधि भण्डारण गरेका हुन्छन् । आयातकर्ता संघका महासचिव आचार्यले अप्राकृतिक रूपमा औषधिहरू भण्डार नगर्न आग्रह गरे । उनले भने, ‘कम्तीमा चार महिनाका लागि पुग्ने औषधि मौज्दात छ । औषधिको अभाव हुन्छ भनेर शंका नगर्नुहोस् ।’ राजधानीबाट ।