•  

    काठमाडौँ — करिब आधा विश्वमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का बारेमा के पहिले नै भविष्यवाणी गरिएको थियो ? साहित्यकारहरुले विभिन्न रोग तथा महामारीहरुको बारेमा आफ्ना कृतिमा समावेश गर्दै आएका छन् । चाहे त्यो आदिमकालमा लेखिएका साहित्य हुन् वा उत्तरआधुनिक कालमा । कतै न कतै भविष्यमा हुने खतरा र महामारीको प्रसंग कोट्याइएको भेटिन्छ ।

    त्यसो भए के साहित्यरकारहरुले केही वर्षअघि नै अहिले महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारेमा भविष्यवाणी गरेका थिए त?

    पछिल्लो समय सामाजिक सञ्जालमा केही वर्षअघि नै लेखिएको उपन्यासमा लेखिएझैँ नै अहिले चीनको वुहानबाट भाइरसको संक्रमण फैलिएको दाबी गरिएको छ। यहाँ ती दुई उपन्यासमा प्रस्तुत गरिएका भाइरस र अहिले देखिएको भाइरसमा समानता छ/छैन भन्नेबारे अहिले सामाजिक सञ्जालमा बहस चलेको छ।

    धेरैजसो समाचार पोर्टल र सामाजिक सञ्जालमा दुई लेखकले आफ्नो कृतिमा दशकअघि नै कोभिड–१९ महामारीको भविष्यवाणी गरेको दाबी गरेका छन्।

    पहिलो पुस्तक हो, सन् १९८१ मा अमेरिकी उपन्यासकार डिन कुन्जद्वारा लिखित साइन्स फिक्सन ‘द आइज अफ् डार्कनेस’। उपन्यासमा काल्पनिक रुपमा एउटा बायोलोजिकल विपन(जैविक हतियार) को चर्चा गरिएको छ। उपन्यासमा उक्त मानवनिर्मित भाइरसलाई ‘वुहान–४००’ नाम दिइएको छ। उपन्यासमा मानिसलाई मार्ने उद्देश्यले बनाइएको भनिएको उक्त भाइरसले अन्जानमै बालबालिकाको भने मानसिक क्षमताको वृद्धि गराइदिन्छ।

    वुहानबाट सुरु भएको भाइरसलाई प्राविधिक रुपमा ‘सार्स–कोभ–२’ नाम दिइए पनि अहिले कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) ले चिनिन्छ। अहिले फैलिएको भाइरस र उपन्यासमा चर्चा गरिएको भाइरसबीच समानता भनेको चिनियाँ सहर वुहान मात्रै हो। तर यसको सुरुवातका बारेमा भने समानता पाइँदैन। उपन्यासमा प्रस्तुत गरिएको काल्पनिक रोग वुहान सहरबाहिर रहेको प्रयोगशालामा तयार पारिन्छ। तर अहिले देखिएको भाइरस भने वुहान सहरबाटै सुरु भएको मानिएको छ। र अर्को कुरा, अहिलेसम्म यो भाइरस कृत्रिम रुपमा तयार पारिएको भन्ने कुनै प्रमाण फेला पारिएको छैन।

    उपन्यासको वुहान–४०० र कोभिड–१९ मा अर्को पनि भिन्नता रहेको छ। उपन्यासमा यो भाइरसको संक्रमणपछि कोही पनि २४ घण्टाभन्दा बढी नबाँच्ने भनिएको छ। यो हिसाबमा यो रोगको मृत्युदर शतप्रतिशत पक्का हो भन्ने देखिन्छ। अहिले देखिएको भाइरसमा भने त्यो कुरा लागू हुँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ को मृत्युदर ३.४ प्रतिशत मात्रै हो।

    उपन्यासमा प्रस्तुत गरिएको भाइरस मान्छेमा मात्रै संक्रमण हुने र अन्य पशुपन्छीमा नहुने उल्लेख छ। तर कोभिड–१९ चमेरो हुँदै समुद्री जीवजन्तुबाट मान्छेमा सरेकोआँकलन गरिएको छ। कोभिड–१९ मुख्यतया श्वासप्रश्वाससम्बन्धी रोग हो। तर उपन्यासमा भने भाइरसले सिधै मस्तिष्कमा आक्रमण गर्ने उल्लेख छ। यसले मस्तिष्कको कोषलाई ब्याट्रीमा प्रयोग गरिने एसिडले एकदमै नरम कपडा (चीजक्लथ) लाई नष्ट गरेझैँ समाप्त पार्ने उपन्यासकारले कल्पना गरेका छन्।

    तर यसमा छुटाउनै नहुने कुराचाहिँ ‘आइज अफ् डार्कनेस’ को पहिलो संस्करणको सन्दर्भ हो। सन् १९८१ प्रकाशित कुन्जको उपन्यासमा ‘वुहान–४००’ भाइरस नै उल्लेख नभएको साउथ चाइना मोर्निङ पोस्टमा केट ह्वाइटहेडले दाबी गरेकी छिन्। पहिलो संस्करणमा उपन्यासकारले भाइरसको निर्माण तत्कालीन सोभियत संघको गोर्कीमा भएको उल्लेख गरेका छन्। गोर्की रुसको सानो गाउँ हो।

    पहिलो संस्करणमा गोर्की–४०० भाइरस को चर्चा गरिएको छ। जसमा रुसी वैज्ञानिक इल्या पोपारोपवले गोर्की–४०० नामक जैविक हतियार बोकेर अमेरिका प्रवेश गरेको कुरा उल्लेख छ। उपन्यासमा लेखिएको छ, ‘...रुसी नागरिकले उक्त जैविक हतियारलाई गोर्की–४०० भन्ने गर्छन्। किनभने त्यो गोर्कीभन्दा बाहिरको ‘आरडीएनए’ ल्याबमा तयार पारिएको हो। यो अनुसन्धान केन्द्रमा तयार पारिएको मानवनिर्मित ४००औं सूक्ष्म जीव हो।’

    अमेरिका र तत्कालीन सोभियत संघबीच शीतयुद्ध चलिरहेका बेला उपन्यास लेखिएकाले उपन्यासकारले रुसले जैविक हतियार बनाउन सक्ने भन्दै उपन्यास लेखेको हुन सक्ने समीक्षक बताउँछन्। तर सोभियत संघको पतनपछि उपन्यासकारले उपन्यासको पुनर्लेखन गरेका हुन्। प्रकाशकको आग्रहमा वा आफैंले उपन्यासमा केही पात्र र कथावस्तु परिवर्तन गरे भन्नेबारे केही स्पष्ट छैन। साउथ चाइना मोर्निङ पोस्टले यसबारे उपन्यासकार र प्रकाशकसँग बुझ्ने प्रयास गरे पनि जवाफ नआएको बताएको छ।

     

    तर सन् १९८९ मा हार्डकभरमा पुनः प्रकाशित उपन्यासमा गोर्की–४०० को ठाउँमा वुहान–४०० भाइरस उल्लेख गरिएको छ। त्यस्तै रुसी वैज्ञानिक इल्या पोपारोपोवलाई चिनियाँ वैज्ञानिक ली चेन बनाइएको छ। उपन्यासमा गोर्कीलाई वुहान र इल्यालाई ली बनाउने काम बाहेक खासै अरु परिवर्तन गरिएको छैन। हङकङमा रहेको ब्लिक हाउस बुक्सकी संस्थापक जेनी स्मिथ सन् १९८६ बाट रुस र अमेरिकाबीच सम्बन्ध सुधार हुँदै गएपछि उपन्यासका पात्र र कथावस्तु परिवर्तन गरिएको हुन सक्ने बताउँछिन्। पछिल्लो विश्व राजनीतिक वातावरणअनुसार रुसलाई खलनायक बनाइराख्न उपयुक्त नहुने देखेर उपन्यासमा चीनलाई प्रस्तुत गरिएको स्मिथको बुझाइ छ।

    त्यतिबेलाका शक्ति राष्ट्र फ्रान्स, बेलायत, जापानलगायतका मुलुकहरु अमेरिकाका ‘असल मित्र’ भएको र चीनसँगको सम्बन्ध राम्रो थिएन। त्यसैले पनि चीनलाई शंकाको दृष्टिकोणमा त्यसरी प्रस्तुत गरिएको हुन सक्ने स्मिथले साउथ चाइना मोर्निङ पोस्टसँगको कुराकानीमा बताएकी छिन्। साथै सन् १९८९ को तियानमेन स्क्वायरको घटनापछि विभिन्न मुलुकहरुले जैविक हतियारको उत्पादनलगायतका हल्लाहरु चलेकाले पनि उपन्यासमा ठाउँ र नाउँ परिवर्तन गरिएको धेरैजसोको बुझाइ छ।

    त्यस्तै कोरोना भाइरससँग जोडेर हेरिएको अर्को उपन्यास हो, सिल्भिया ब्राउनद्वारा सन् २००८ मा लिखित ‘इन्ड अफ् डेज : प्रेडिक्सन एन्ड प्रोफेसिज अबाउट द इन्ड अफ द् वर्ल्ड’।

    उपन्यासमा लेखिएको छ, ‘सन् २०२० तिर निमोनियाजस्तै गम्भीर रोग विश्वव्यापी रुपमा फैलिनेछ। जसले फोक्सो र श्वासनलीमा आक्रमण गर्नेछ। जसको उपचार सम्भव छैन।’

    यसमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने कोभिड–१९ को उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन आविष्कार भएको छैन। मानिसमा रहेको रोग प्रतिरोधात्मक क्षमताबाट नै यो रोगबाट निको हुने एउटा मात्र उपाय सुझाइएको छ अहिलेसम्म। आशा गरौं, निकट भविष्यमै भ्याक्सिन र औषधि बन्ला। निकै घातक भनिए पनि यो भाइरसको संक्रमणपछि निको भएका थुप्रै बिरामी रहेका छन्। भ्याक्सिन र उपचारका अन्य पद्दतिबारे अहिले अनुसन्धान भइरहेको छ।

     

    सिल्भिया ब्राउनले सन् २०२० मा फैलिने निमोनियाजस्तै रोग केही समयमात्रै सक्रिय हुने र १० वर्षपछि पुनः देखा परेर सधैँका लागि हराउने कुरा उपन्यासमा लेखेकी छिन्।नोट गर्नुपर्ने अर्को कुरा के हो भने सिल्भियाले सार्स महामारी फैलिइसकेपछि उस्तै प्रकारको भाइरसबारे भविष्यवाणी गरेकी हुन्। साथै उपन्यासमा सन् २०२० पछि अन्धोपनको समस्या नहुने पनि उल्लेख गरिएको छ।

    उपन्यासकारले केका आधारमा भविष्यवाणी गर्छन्?
    कोरोना भाइरस(कोभिड–१९) का बारेमा डिन कुन्जले उपन्यासमा उल्लेख गरेको वुहान सहर बाहेक केही पनि मिलेको देखिँदैन। त्यस्तै सिल्भिया ब्राउनको उपन्यास ‘इन्ड अफ् द डेज’ मा पनि ‘सन् २०२०’ मा निमोनियाजस्तै केही रोग विश्वव्यापी रुपमा फैलन्छ भनेको बाहेक केही मिलेको देखिँदैन।

    तर साहित्यकारले आफ्नो रचनाको आधार धेरै हदसम्म आफूले बाँचेको र भोगेको समाजलाई नै बनाउने भएकाले भविष्यका बारेमा गरेका केही संकेतहरु भने मिल्ने गरेका छन्। त्रिभुवन विश्वविद्यालय, अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक राजकुमार बराल साहित्यकारको कल्पनाको आधार उ बाँचेको तत्कालीन समाजको विकास हुने बताउँछन्।

    उनी भन्छन्, ‘समाज कतातिर जाँदैछ भन्ने कल्पना वा आँकलन साहित्यकार मात्रै होइन, आम मानिसले पनि केही हदसम्म गर्ने गरेका छन्। मुख्यतया तत्कालीन समाजको परिवेशअनुसार नै साहित्यकारले आफू बसेको, देखेको र भोगेको समाजका कुरा नै साहित्यमा उतार्छ। कल्पनाका आधार चाहिँ लेखकले बाँचेको समाजको सामाजिक, सांस्कृतिक, वैज्ञानिक परिवेश नै हुन्छ।’

    सन् १९८० को दशकपछि धेरै सिद्धान्तकारहरुले साहित्य समाजका लागि र समाजकै कुरा लेखिनुपर्छ भन्ने गरेको उल्लेख गर्दै उपप्राध्यापक बरालले यसअघि पनि थुप्रै ‘डिस्टोपियन’ उपन्यासहरुमा गरिएका भविष्यवाणी केही हदसम्म मिलेको बताउँछन्। ‘डिस्टोपिया’ एउटा यस्तो काल्पनिक मुलुक हो जहाँ दमन, प्रकोप, महामारी, आवश्यकताभन्दा बढी जनसंख्या र डरको साम्राज्य हो। जहाँ सबै कुरा गलत भइरहेको हुन्छ। डिस्टोपिया युटोपियाको ठीक उल्टो हुन्छ, जुन आदर्श समाजको पर्याय हो। जसमा न अपराध हुन्छ, न गरिबी।

    बेलायती उपन्यासकार जर्ज अर्वेलले सन् १९४९ मा ‘१९८४’ उपन्यासमा ‘मास सर्भिलेन्स’(सामूहिक निगरानी) को कुरा उठाएका थिए। उनले सन् १९४९ मै भविष्यमा सर्वसत्तावादी सरकारहरुले आफ्ना नागरिकमाथि व्यापक निगरानी गर्ने उल्लेख गरेका थिए। जर्ज अर्वेलले उपन्यासमा प्रस्तुत गरेझैं अहिले हरेक कार्यक्षेत्रदेखि सार्वजनिकस्थलसम्म सीसीटीभी क्यामेरालगायतले मानिसको निगरानी भइरहेको छ। उपन्यासमा रहेको चर्चित लाइन ‘बिग ब्रदर इज वाचिङ यु’ ले सर्वसत्तावादी सरकारको कार्यशैलीलाई प्रहार गरिएका थियो। तर अर्वेलले सन् १९४९ मै रहेका विश्वका केही सर्वसत्तावादी सत्तालाई इङ्गित गर्दै ‘मास सर्भिलेन्स’ को कुरा उठाएका थिए।

    त्यस्तै रे ब्राडबरीको ‘फरेनहाइट ४५१’, एल्डक्स हक्स्लेको ‘ब्रेभ न्यू वर्ल्ड’ जस्ता उपन्यासमा पनि पश्चिमा समाजको ‘ड्रग कल्चर’, तथा प्रविधि र चिकित्सा विज्ञानको प्रभावका बारेमा भविष्यवाणी गरिएको उपप्राध्यापक बराल बताउँछन्।

    हक्स्लेको उपन्यास ‘ब्रेभ न्यू वर्ल्ड’ को सेटिङ सन् २५४० को लन्डन रहेको छ। सन् १९३२ मा लेखिएको यो उपन्यासको वास्तविक समय आउन अझै ५२० वर्ष बाँकी छ। तर उनले उल्लेख गरेका आंशिक कुराहरु अहिले नै मिलिसकेका छन्। उनले पूरा विश्वमा एउटै सरकार रहेको र विश्व जनसंख्या नियन्त्रण लिइएको र २ अर्ब स्थायी जनसंख्या भएको कथा प्रस्तुत गरेका छन्।

    त्यस समाजमा महिलाले बच्चा पाउँदैनन्। उनीहरुले आफ्नो गर्भाशय सरकारलाई दिन्छन्। सरकारी शिक्षा केन्द्रमा सरकारले नै बच्चा पैदा गरिदिन्छ। समाजलाई ५ वर्णमा विभाजित गरिएको हुन्छ, अल्फा, बेटा, गामा, डेल्टा र एप्सिलन। शिशुहरुलाई सिसाको बोतलमा राखेर हुर्काइन्छ। साथै विभिन्न रसायनको प्रयोग गरेर बच्चाहरुको शारीरिक र बौद्धिक विकास गरिन्छ। हक्स्लेको उपन्यास प्रकाशित भएको केही वर्षपछि सन् १९७८ मा विश्वकै पहिलो टेस्ट ट्यूब बेबी लुइस ब्राउनको जन्म भयो। अहिले पनि महिलाहरुले आफ्नो गर्भमा बच्चा नहुर्काइ टेस्ट ट्यूब र आईभीएफ(इन भिट्रो फर्टिलाइजेसन) मार्फत शिशुलाई जन्म दिने क्रम बढ्दो छ।

    त्यस्तै फ्रान्सेली औद्योगिक क्रान्तिपछि सन् १८१८ मा लेखिएको मेरी शेलीको ‘फ्रयांकस्टेइन’ मा पनि पछिल्लोपटक भएको प्रविधिको विकासबारेको भविष्यवाणी मानिएको छ। उपन्यासममा झैं हाडखोर जम्मा पारेर मान्छे बनाउने काम सफल नभए पनि ‘सिमुलेसन’ (नक्कल) मार्फत रोबोटजस्ता स्वचालित यन्त्र बनाउने काम सफल भइसकेको छ र यसलाई अझै परिष्कृत गर्दै लैजाने क्रमतीव्र छ।

    त्यस्तै थुप्रै ‘डिस्टोपियन’ उपन्यासहरुमा रोग, महामारी तथा विभिन्न प्राकृतिक प्रकोपको भविष्यवाणी गरिएको छ। जुन कुराहरु आंशिक रुपमा समयसँगै मेल खाएका छन्।

    –एजेन्सीहरुको सहयोगमा

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …