• फाल्गुन २४, २०७६

    अहिले विश्वका विभिन्न देशले कोरोना भाइरस रोक्न ‘युद्धस्तरमा काम’ थालेका छन् । कोरोना भाइरसले विश्व अर्थव्यवस्था हल्लाएको छ । यस्तो लागिरहेछ, मानौं तेस्रो महायुद्ध भइरहेको छ र कोरोना भाइरस सबैको शत्रु हो । हामीले यही शत्रुलाई पराजित गर्नुपरेको छ । कोरोना भाइरस यति सूक्ष्म छ कि, एक मिलिमिटरको दस हजार भाग लगाउँदा एक भाग जति पनि यो छैन ।



    कोरोना संक्रमणको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यात्रु आगमन कक्षमा स्यानिटाइजर छर्किइँदै । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

    तर यो जीवाणुले आकाश, धर्ती, समुद्रका अनेक रहस्य पत्ता लगाएको मानव मस्तिष्कलाई आच्छु–आच्छु पारिरहेको छ । यस्तो ‘खराब’ अवस्थामा कतिपय विज्ञ भन्छन्,‘यदि हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति छ भने यो जीवाणुसँग हाम्रो शरीर लड्न सक्छ ।’

    हातमार्फत भाइरस सर्न सक्ने भएकाले पूर्वीय संस्कृति अनुसार हात मिलाउनुको सट्टा नमस्ते गर्ने चलन फेरि सुरु भएको छ । विभिन्न देशका नेताले एकअर्कोलाई भेट्दा हात नमिलाउनु, चुम्बन नगर्नु भनेका छन् । यसको विकल्पमा खुट्टा–खुट्टा वा कुइना–कुइना जोडेको दृश्य देखिन्छ । हेर्दा रमाइलो लाग्ने यी दृश्यले हाम्रो ‘नमस्ते’ संस्कृति विभिन्न रोगबाट बच्न बनाएको रहेछ भन्ने तथ्य उजागर गरेको छ । त्यसैगरी रोगसँग लड्नका लागि हाम्रा केही परम्परागत खानाले मद्दत गर्छ । तथ्यांकले कोरोना भाइरसको संक्रमितबाट पहिले नै विभिन्न किसिमका रोग लागिसकेका वृद्धहरू धेरै छन् भन्ने देखाउँछ । तथ्यांकमा संक्रमितमध्ये थोरै प्रतिशतको मात्र मृत्यु हुने देखिएको छ । केही वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरसको कारणले असाध्यै आत्तिनुपर्ने स्थिति छैन ।’ रोगसँग लड्ने आन्तरिक शक्ति बलियो छ भने रुघाखोकी कम लाग्छ भन्ने सबैलाई थाहा छ । यही कुरा कोरोना भाइरसको सन्दर्भमा पनि लागू हुन्छ । रुघाखोकी लाग्ने बित्तिकै मृत्यु हुँदैन । तर रुघाखोकी जटिल भयो भनेमात्र मृत्यु हुने सम्भावना बढ्छ । पर्याप्त निद्रा, पौष्टिक भोजन, शारीरिक सक्रियताले रोगसँग लड्ने शक्ति बढाउँछ । त्यसैले यिनै कुरामा बढी ध्यान दिनुपर्छ । मैले बिहान कागतीको चियामा मरिच र अदुवाको धुलो मिसाएर बेसार पनि थप्न थालेको छु । चिया र चिनीको मात्रा दुवै मैले कम गरेको छु ।

    खानपिनमा ख्याल नगर्दा रोगसँग लड्ने शक्ति कम हुन्छ । कोरोना भाइरसको संक्रमणको जोखिम रोगसँग लड्ने शक्ति कम हुनेलाई बेसी हुन्छ । रोगसँग लड्नका लागि भिटामिन ‘सी’ले मद्दत गर्छ । हरेक घरमा कागती, आलस, गोलभेँडा आदिको प्रयोग गर्दा पर्याप्त मात्रामा भिटामिन ‘सी’ प्राप्त हुन्छ । त्यसैगरी बजारमा सहजै पाइने अम्बा, अमला लगायतका फलफूलले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । फलफूलका महँंगा बट्टाको रसले फाइदा गर्दैन । तराईतिर पाइने वनस्पतिले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । चाकु, तिल, दही, खिचडी आदिले शरीरमा कम हेमोग्लोबिन (रगतको कमी) हुन दिँदैन । शरीरमा रगतको कमी हुँदा रोगसँग लड्ने शक्ति घट्छ । रोगसँग लड्न ‘प्रोटिन’ आवश्यक पर्छ । यसका लागि गेडागुडी, क्वाँटी, गहत, मास उपयुक्त हुन्छ । कालो मरिच, खुर्सानी, अदुवा, लसुन र प्याजले स्वाद र स्वास्थ्य दुवै दिन्छन् ।

    गेलभेँडा र टिमुरको अचारसँगको भात, रोटी र ढिँंडोले खाना पचाउन र पेट सफा राख्न मद्दत गर्छ । पाचनतन्त्र स्वस्थ्य भए शरीरका अन्य अंग पनि स्वस्थ हुन्छ र रोगसँग लड्ने शक्ति बढ्छ । पुदिना, बाबरी, तुलसी, हरियो धनियाँ पनि स्वाद र स्वास्थ्य दिने साधन हुन् । बालबालिकालाई गुलियो र ‘चिसो’ पेय पदार्थ दिएर खुसी पार्ने बुबाआमाले यस्तो ‘मायालु तरिका’ नअपनाएकै वेश ।

    घरमै बनाएको दही, मोही, कागती पानी र अदुवा हालेर बनाइएका शर्वत उत्तम पेय पदार्थ हुन् । यसले पैसा बचाउँछ । गर्मीका दिनमा चाहिने पानी पनि शरीरमा पुग्छ । खासै ध्यान नदिएका हाम्रा भान्छाका वस्तुको उचित उपयोग गरेर रोगसँग लड्ने शक्ति बढाउन सकिन्छ । सामान्य संक्रमण र विभिन्न किसिमका रुघाखोकीसँग लड्ने शक्ति पनि बढ्छ । यी तथ्य हाम्रा लागि नयाँ होइनन्, खाली बेवास्ता मात्र गरिएका हुन् । कोरोना भाइरससँग डराउने होइन, रोगसँग बच्ने उपाय खोज्नुपर्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…