• काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न भुटान र सिक्किममा विदेशी पर्यटकलाई रोक लगाइए पनि छिमेकी दार्जिलिङले रोक नलगाउँदा स्थानीय चिन्तित भएका छन् ।

    डुवर्सस्थित भुटान सीमामा भुटान सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न निःशुल्क ह्यान्ड स्यानिटाइजर वितरण गर्न कन्टेनर राखेको छ। स्वास्थ्यकर्मीका अनुसार भुटानभरि नै यसप्रकारको पहल सुरु गरिएको छ। भुटान प्रवेश गरिरहेका सबैको स्क्रिनिङ जारी छ। सिक्किममा पनि हरेक नागरिकको स्क्रिनिङ चलिरहेको छ।

    सिक्किम प्रहरीले भारतीय पर्यटकसम्मको जाँचलाई चुस्त गरिएको बताए पनि दार्जिलिङमा भने विदेशी पर्यटकको घुमफिरमा रोक लगाइएको छैन। दार्जिलिङमा दैनिक सयौं पर्यटकको आवातजावत हुने गरेको छ। कोरोना भाइरसलाई लिएर सबैतिर सतर्कता अपनाइँदा दार्जिलिङमा विदेशी पर्यटकलाई भ्रमण खुला गरिएको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्। पश्चिम बंगाल सरकारले विदेशीलाई रोक्न कुनै पहल नगरे पनि केन्द्रीय गृहसचिव अजय भल्लाले हरेक सीमा नाकामा सुरक्षा जाँच र निगरानी चुस्त गर्न निर्देशन दिएका छन्।

    संक्रमण नफैलियोस् भनेर दार्जिलिङका स्थानीय मास्क लगाएर हिँड्न थालेका छन्। हरेक विद्यालयले विद्याथीलाई ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न र मास्क लगाउन निर्देशन दिएसँगै यसको प्रयोगमा वृद्धि भएको छ, जसले गर्दा स्यानिटाइजरको स्टक सकिएको छ। यद्यपि मास्क भने पर्याप्त मात्रामा रहेको दार्जिलिङका अधिकारीहरूले बताएका छन्।

    दार्जिलिङका सांसद राजु विष्टले कोरोना भाइरसको प्रकोपबाट दार्जिलिङ पहाडी क्षेत्रलगायत तराई–डुवर्स क्षेत्रलाई सुरक्षित राख्न तत्काल प्रभावकारी कदम चाल्न र विशेषज्ञ टोली खटाउन राज्य तथा केन्द्र सरकारसँग माग गरेका छन्। उनले दार्जिलिङ र कालेबुङ जिल्लाका सीमामा तत्काल कोरोना भाइरस स्क्रिनिङको सुरुवात गर्न पनि आग्रह गरेका छन्।

    ‘डुवर्स, नेपाल, भुटान, बंगलादेश र चीनको अन्तर्राष्ट्रिय सीमालगायत असम र सिक्किम राज्यको सीमासँग जोडिएका कारण पनि दार्जिलिङमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना छ,’ विष्टले भनेका छन्, ‘यसैले पनि यी संवेदनशील क्षेत्रमा तत्काल आवश्यक पहल अनिवार्य छ।’ सांसद विष्टले दार्जिलिङवासीलाई आतंकित नबन्नका लागि पनि आह्वान गरेका छन्। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …