झापा - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रास नेपालमा बढ्दो छ । अहिलेसम्म कुनै पनि कोरोना संक्रमित नेपालमा भेटिएका छैंनन् । तर यस महामारीबाट बच्न यथेष्ट सावधानी भने अपनाउनु पर्ने हुन्छ ।
सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन सांस्कृतिक केन्द्र, सिनेमा हल, डान्स क्लब , रङ्गशाला बन्द गर्ने निर्णय गरेको छ । र उक्त निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने जनाएको छ ।
त्यस्तै, बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि निर्णय गरेको अवस्था छ ।
यतिबेला गौरादह नगरपालिकाले धेरै भिड हुने सबै स्थानहरुलाई केहि समयका लागी 'लक् डाउन' गर्नुपर्ने माग उठेको छ । स्कुल, कलेजहरु सबै बन्द गरिसक्नु पर्ने , पुराण विवाह ब्रतबन्ध परिवार भित्र मात्रै सिमित गर्नुपर्ने, होटल पसल बन्द गर्नु पर्ने जस्ता माग उठ्न थालेका छन् ।
२५ जना भन्दा बढी भेला हुने हाट बजार, सार्वजनिक यातायात र अन्य सार्वजनिक कार्यक्रमको हकमा यो निर्णय के होला ? के गौरादह नगरपालिका र अन्य निकाय यसप्रति सचेत छन् ? अहिले यो बिषय 'टक अफ दि टाउन' बन्न पुगेको छ ।
हिजो मंगलबारदेखि गौरादह नगरपालिकाले सचेतना सहायता कक्ष ( हेल्थ डेक्स ) स्थापना त गरेको छ तर नियमित लाग्ने बजारका बिषयमा कुनै पनि निर्णय गरेको छैन । यस बिषयमा गौरादह उद्योग वाणिज्य संघले पनि हालसम्म कुनै निर्णय गरेको पाईएको छैन ।
कोरोनाको संक्रमणबाट गौरादहका नागरिकलाई जोगाउन स्थानीय सरकारले के कस्ता निर्णय गर्ला, त्यो पर्ख र हेरकै स्थितिमा छ । जनचेतनामुलक कार्यक्रमलाई हरेक वडा र टोलटोलमा पुर्याउने काम नगरपालिकाले गरोस । खडेरीमा लागेको आगो जस्तो फैलिदै गएको कोरोना महामारीबाट जोगाउन गौरादह नगरपालिकाले आवस्यक स्वास्थ्य सामाग्रीहरु आफ्ना नगरवासीलाई उपलब्ध गराउनुपर्छ । भनिन्छ नि रोग लाग्नु भन्दा लाग्नै नदिनु उत्तम ।