काठमाडौं । कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गर्नुभएको छ । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन ।
बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ । बिहीबार पूर्ण रूपमै लाइन हट्ने निगमको दाबी छ । गएको आइतबारदेखि पम्पहरूमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ । सरकारले पम्पहरूलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राति मैतीदेवी पेट्रोल पम्म र सत्याल एन्ड किराना पसल टीकाभैरवलाई दुई लाख रुपियाँका दरले जरिवाना गरेपछि बुधबार पेट्रोलियम पदार्थको वितरण सहज देखिएको छ । भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरकाले उनीलाई कारबाही गरिएको थियो ।
बुधबार विभागले दुईवटा पम्प र छवटा ग्यास पसलमा अनुगमन गरेको छ । अनुगमनमा सामान्य अवस्था देखिएको विभागले जनाएको छ । विभागले कुनै पनि वस्तु भण्डारण गरी कृत्रिम अभाव सिर्जना गरेमा वा तोकिएको मूल्यभन्दा बढी लिएमा ११३६ नम्बरमा फोन गरेर जानकारी दिन उपभोक्तालाई अनुरोध गरेको छ ।
पम्पसँगै मन्त्री भट्टले ग्यास पसल तथा तरकारी बजारको अनुगमन गर्नुभएको थियो । सुरक्षाकर्मीबिना उपभोक्ताको शैलीमा बजार अनुगमन गर्नुभएका मन्त्रीले बजारमा ग्यास तथा पेट्रोल वितरणको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो । कालीमाटीको तरकारी बजारमा पनि उहाँले अनुगमन गर्नुभएको थियो ।
कडा कारबाहीको चेतावनी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । निगमले बुधबार सूचना जारी गरी बजारमा पेट्रोलियम पदार्थ सहज भएकाले हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ ।
पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता भयभित बनाएर फाइदा उठाउने कार्यमा निगमका बिक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास बिक्रेताको संलग्नता पाइएमा निगमले कडा कारबाही गर्ने जनाएको छ ।
बजारमा अभाव हुन्छ कि भनेर अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको भण्डारण नगर्न र आवश्यक भन्दा बढी ग्यासका सिलिन्डर घरमा भण्डारण गर्दा सुरक्षा एवं आगजनीका दृष्टिकोणले असुरक्षित हुने भएकाले सञ्चय नगर्न अनुरोध गरेको छ । ग्यास तथा पेट्रोलियम पदार्थ मागभन्दा बढी आयात भएकाले बजारमा अभाव हुन नदिने निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भन्नुभयो, “मागभन्दा बढी आयात भएको छ, बजारमा पेट्रोलियम पदार्थ पु¥याएका छौँ तर केही पम्पले मूल्य घट्छ भनेर सप्लाई नगरेकाले र केहीले भएर पनि छैन भनेकाले समस्या भएको हो, पेट्रोलियम पदार्थ पर्याप्त छ हल्लाको पछि नलागौँ । ”
भाँडोमा बिक्री नगर्न निर्देशन
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन राष्ट्रिय महासङ्घले सवारी साधनमा मात्र पेट्रोलियम पदार्थ बिक्री गर्न निर्देशन गरेको छ । आपूर्ति मन्त्रालयले डिलर्सलाई निर्देशन दिएपछि महासङ्घले आफू मातहतका डिलर्सलाई निर्देशन गरेको हो ।
सवारी साधनमा भन्दा पनि जर्किन तथा ड्रमहरूमा भर्नेको लाइन बढेपछि सवारी साधनबाहेक कुनैै पनि भाँडामा बिक्री नगर्न कडा निर्देशन गरिएको छ ।
लाइन घट्यो
बुधबार लाइन घटेको छ । आपूर्ति निरन्तर भए पनि उपत्यकाका अधिकांश पम्पले बिक्री वितरण नगरेकाले पम्पमा लाइन बढेको थियो । बुधबार भने सहज रूपमा उपभोक्ताले पेट्रोल डिजेल पाएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय रूपमा कच्चा पदार्थको मूल्य निरन्तर घटेपछि नेपालमा पनि घट्ने अनुमानले डिलर्सहरूले डिपोबाट तेल भरेका थिएनन् ।
कोरोना भाइरसको त्रासमा कालोबजारी गर्ने दाउले केही पम्पले तेल भण्डारण गरेर वितरण नगरी बसेकाले उपभोक्ता लाइन बस्नुपरेको थियो । बुधबार सबै पम्पले पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको महासङ्घका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिनुभयो । नेपाल आयल निगमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा ११ सय किलोलिटर पेट्रोल र १३ सय किलोलिटर डिजेल बिक्री गरेको छ । मङ्गलबार एक हजार किलोलिटर पेट्रोल बिक्री गरिएको थियो । गोरखापत्रबाट ।