लिलाराज खतिवडा
आज विश्वभर कोरोना भाइरसले आतंक मच्चाएको छ । कोविड १९ महामारीले आज सारा विश्व आक्रान्त छ । इतिहासमा कैयन पटक अनेक महामारीहरु दोहोरिएका रहेछन् र लाखौं मानिसहरु मारिएका रहेछन् ।
आज मेडिकल साइन्सलाई कोरोना भाइरसले ठूलो चुनौति दिइसकेको छ । कैयन पटक अनेक महामारी दोहोरिँदा पनि मेडिकल साइन्स आफ्ना अनेक तामझामहरुका बावजूद पटकपटक नराम्रोसँग हार खान बाध्य भएको छ । मान्छेलाई कमन्ली हुने इन्फ्ल्युएन्जालाई प्रतिरोध गर्ने सामान्य सुरक्षा संयन्त्र पनि सर्वसुलभ नहुनुले मेडिकल साइन्सका अनेक फैन्सी रिसर्चहरु आज बेकार सावित भएका छन् । ‘हिप्पोक्र्याटिक ओथ’को परिभाषा परिवर्तन गर्नुपर्ने देखिएको छ । के पश्चिमाहरुले दुनियाँलाई कैयन तरहले मूर्ख बनाएर मार्नै खोजेका हुन् त ? के ‘मास किलिंग’का लागि विज्ञानलाई दुरुपयोग गरिएकै हो त ?
‘हिप्पोक्र्याटिक ओथ’ ४६० बिसीदेखि अहिलेसम्म जारी छ । महामारीको ईतिहास पनि लामो । पटक पटक जनधनको भयंकर क्षति ।
जटिल प्रश्न के हो भने मेडिकल साइन्सले अहिलेसम्म के गर्यो ? कति पैसा सक्यो ? कति धेरै रिसर्चहरु गरिए? कति धेरै मेडिकल कलेज र अस्पतालहरु खुले ? कति धेरै विध्यार्थीहरु काँधमा स्टेथेस्कोप भिरेर सेता अप्रोनभित्र सजिए ?
ठूलाठूला अत्याधुनिक मेडिकल उपकरणहरु बने पनि उनीहरुले अहिलेसम्म किन कडा भाइरस रोक्ने एउटा सामान्य सुरक्षा कीट पनि सर्वसुलभ गर्न सकेनन् ? महामारी बारबार दोहोरिएको ईतिहास छ । दोहोरिन सक्छ भनेर उनीहरुले किन आफूलाई तदनुरुप तयार राखेनन? उनीहरु अरु केमा अल्झिए ? उनीहरुले कहाँ बाटो बिराए ? दोष ‘मेडिकल डाइमेन्सन’लाई मात्रै होइन । विज्ञानलाई दुरुपयोग गर्ने पूँजीपति र शक्तिशाली मुलुकका शाषकहरुमाथि पनि थोपरिन्छ ।
के यो सब ‘मास किलिंग’को षडयन्त्र नै हो त ?
विज्ञानलाई दुरुपयोग गरेर दुनियाँलाई मूर्ख बनाइएका अरु पनि कैयन उदाहरणहरु छन् । जस्तो,
एक वर्षमा विश्वभर तेह्र लाख मानिसहरु सडक दुर्घटनामा मर्ने गर्दछन् । यस हिशाबले दैनिक ३ हजार २ सय ८७ मानिसहरुले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।लगभग प्रत्येक २५ सेकेण्डमा एक जना मानिस सडक दुर्घटनामा मर्ने गर्दछ ।
आज म सकुशल यो लेख लेखिरहेको छु । यस कुराले उदेक पनि लागिरहेको छ । अनि परमात्माप्रति म कृतज्ञ भइदिन्छु । मेरो जिन्दगीमा एउटा अर्को दिन थपिदिएकोमा । उसले मलाई हिजो यतिका धेरै मान्छेहरु मध्येमा पारेन जो सडक दुर्घटनामा मरे वा मारिए । अहिले मैले यति शब्दहरु लेखिसक्दा नै तथ्यांक अनुसार, केही मान्छे मरिसकेका छन् । याद राख्नुहोस्, प्रत्येक २५ सेकेण्डमा एक जना । र, यो संख्या हरपल बढ्दो छ । कुनै पनि महामारी वा प्राकृतिक प्रकोपमा त लाखौँ करोडौँ जिन्दगीहरु हताहत हुनु सामान्य हुन पुग्छ ।
अनि यहाँ बाँचेको छु वा ज्यूँदो छु भन्न पाउनु मात्रै पनि आज आश्चर्य र भाग्यको कुरा भै दिन्छ ।
उता विश्वभरमा सडक दुर्घटनामा मर्नेहरुमध्ये आधाको कारण मोटरसाइकल दुर्घटना हो । मोटरसाइकलहरु जति नै महंगा भए पनि सुरक्षित मानिदैँनन् ।
सडक दुर्घटनामा ज्यान गुमाउनेहरुमा एक तिहाइ पैदल यात्रु र साइकलयात्रु रहने गरेका छन् । अरु बाँकिचाहिँ लापर्वाह वा गंभिर पाराले सवारी चलाउने ड्राइभर र तिनीहरुका सवारीमा सवार यात्रुहरु नै हुन् ।
अर्को विकराल तथ्य, दुइ करोडदेखि पाँच करोड मानिसहरु वर्षेनी सडक दुर्घटनामा घाइते वा अंगभंग हुने गर्दछन् ।
सबै खाले सडक दुर्घटनामा मर्नेहरु मध्ये आधाको औषत उमेर १५ देखि ४४ वर्षको रहेको हुन्छ । यी लगभग तीस वर्षमान्छेको जीवनका सबै भन्दा उर्जामय, उत्सवमय र उन्नत वर्षहरुहुन् ।
अन्य किशिमका मृत्युहरु मध्ये सडक दुर्घटनामानव–मृत्युको नवौं प्रमुख कारण हो ।
प्रत्येक वर्ष २५ वर्षमुनिका चार लाख युवाहरु सडक दुर्घटनामा मारिन्छन् । यस हिशाबले प्रति दिन औषत एक हजारको त्यसरी मृत्यु हुने गर्दछ । यसमा अधिकांश विद्यार्थी हुने गर्दछन् ।
विश्वका सारा सडक दुर्घटनाहरुमध्ये नब्बे प्रतिशत कम र मध्य आय भएका मुलुकहरुमा हुने गर्दछन् । विश्वका सारा सवारी साधनहरु मध्ये आधा त त्यस्ता मुलुकहरुमा मात्रै छन् ।
विश्वभरका सडक दुर्घटनाहरुले वर्षेनी ५ सय १८ बिलियन डलर खर्च गराउँछन् । यस हिशाबले प्रत्येक मुलुकमा त्यहाँको प्रति ब्यक्ति आयको औषत एकदेखि दुई प्रतिशत खर्च सडक दुर्घटनाहरुले लगिरहेका हुन्छन् ।
यस्तै ताल हो भने, सन् २०३० सम्ममा सडक दुर्घटनामानव–मृत्युको पाँचौ प्रमुख कारण हुनेछ ।
‘एसोसिएसन फर सेफ इन्टरनेशनल रोड ट्राभल’ र विश्व स्वास्थ्य संगठनका वेबसाइटहरुबाटउपरोक्त तथ्यांकहरु निकाल्दै गर्दा आफ्नो आङ् सिरिंग हुन पुग्यो । हुन त म एक ड्राइभर हुइँन । तर म एउटा प्यासेन्जर जरुर हुँ । त्यहीँमाथि म फकिर झैँ आफ्नै वरिपरी फन्का लगाइरहने मान्छे । सडक दुर्घटनाको भयानक तथ्य स्क्यान गर्दैगर्दा भावना नउम्लिने कुरै भएन । जहाँ ‘एक मिस्टेकमा गेम फिनिस्’ हुनसक्छ त्यहाँ नाभी चिसो हुनु सामान्य !
कैयन यात्राहरुमा जिन्दगी बालबाल बचेको हुन्थ्यो वा छ ।
सवारी दुर्घटनाका पाँच प्रमुख जोखिमहरु : तिब्र गति, मापसे, बिना हेल्मेट सवारी चलाउनु, सिट बेल्ट नबाँध्नु र बच्चाहरुको लापर्वाही प्रमुख मानिएका छन् । यहाँ सवारी चलाउँदा लगाउने सुरक्षासम्यन्त्रको नाउँमा हेल्मेट र सिटबेल्ट मात्रै देखिन्छ । कुनै पनि बिकसित वा कम बिकसित मुलुकले सवारी चलाउँदा वा सवारीमा यात्रा गर्दा पुरै शरिर ढाक्ने चुस्तस्फूर्त सुरक्षाकवचको जरुरत औंल्याएको कतै पाइएन। न त सवारी खरिद गर्नेहरु स्वयम्ले आफ्नो या अरुका लागि दुर्घटना क्षति न्यूनिकरण गर्ने कुनै पनि किसिमको सुरक्षाकवचको व्यवस्था गरेको पाइयो ।
आपसमा टकराउँदा आगो निस्किने फलाम वा सो सरहका धातुबाट निर्मित महंगा, चित्ताकर्षक र गह्रौं सवारी साधनहरुको दुनियाँभरमा भइरहेको अचाक्लि बृद्धि भयानक छ । यो पूँजीपतिहरुको आम मान्छेरुहलाई मृत्युको कारखानामा फटाफट मारेर छिटोछिटो रंगमञ्च खालि गर्ने खतरनाक षडयन्त्र हो ।
उनीहरु विज्ञानको चरम दुरुपयोग गरेर दुनियाँका अधिसंख्यक मान्छेहरुलाई यसरी नै एक आपसमा टकराएर फटाफट मर्न बाध्य तुल्याउँछन् । फलस्वरुप, उनीहरुलाई शासन चलाउन सहज होस् । अर्थात, ठाडै भन्नु पर्दा मान्छेहरुलाई अनेक तरहले नियन्त्रण गरेर दुनियाँ कब्जा गरी एकमना सरकार बनाउने उनीहरुको लक्ष्य हो । जो बारबार असफल भइसकेको छ ।
तथ्यांकले बताउँछ कि मेशिनहरुको आविष्कार र त्यसको प्रविधिमा भएको अचाक्ली विकासको दुरुपयोगले आज सडक दुर्घटना भन्दा बढी अन्यआठ तरिकाले मान्छेहरुको मृत्यु भइरहेको छ। रोग प्रकृतिमा होइन, मान्छेको रुग्ण टाउकोमा छ । दुनियाँका सारा रोगहरु मान्छेको लापर्वाही र उसले गरेको फोहोरका कारण नै उब्जिएका हुन् ।
यहाँ आम मान्छेहरुलाई मार्न एन्टिबायोटिकहरु बनेका हुन् । युरिया र अन्य रासायनिक मल, पेस्टिसाइड, टेक्स्टाइल आदि इत्यादि सबै विषादी नै हुन् ।पुँजीपतिहरु अनेक ट्याक्टिस लगाएर सर्वसाधारणहरुलाई मृत्युको बृत्ताकार कारखानामा जोतिरहेकाछन् । फलस्वरुप,हूलका हूल मानिसहरु तत्काल वा घिसारिएको मृत्यु भोग्न बाध्य छन् ।
यो लेख कटन वा अन्य कुनै पनि लुगा लगाएर पैदल यात्रुलाई सडकमा तर्साउँदै र लघार्दै सवारी हुइँक्याउने विश्वभरका तमाम ड्राइभरहरुको हितमा पनि लेखिएको हो । जो हरेक दिन राजमार्गहरुमा मृत्युसँग पौँठेजोरी खेलिरहेका हुन्छन् ।त्यस्ता मृत्युखेलमा ती ड्राइभरहरु जो सुकै भए पनि र उनीहरुले चढ्ने सवारी साधन जति नै महंगो भए पनि उनीहरु कुनै न कुनै तरिकाले माथि उल्लेख गरिएका तथ्यांकहरुको धेरै नजिक लाग्छन् । त्यस्ता भयानक रफ्तारहरुमा उनीहरु बालबाल बचेर बेलुका घर पुगिरहेका हुन्छन् । टुक्राटुक्रा भएर सकिएका पनि हुन सक्छन् । अंगभंग भएका पनि हुन सक्छन् ।
मान्छेका बानीब्यहोराहरुको अनुसन्धान गर्ने विशेषज्ञहरु भन्ने गर्छन्,लोभ, अहंकार, क्रोध र वासनाले मान्छेलाई आँखामा पट्टा बाँधिएको घोडा बनाइदिएको छ ।र ऊ अनेक प्रतिस्पर्धाहरुमा लगातार जोतिएको छ । अनि मान्छे अनेक मेशिनहरु जोतेर पृथ्वीमा फटाफट समय काटिरहेको छ ।
एउटा स्यानो उदाहरणले विषय वस्तुको केन्द्रमा झाँक्ने कोशिस गरौं :
रेउते एउटा काल्पनिक नाम हो । उसले केही दिनअघि फेसबुकमा पाँच हजार डलरको सुट लगाएको फोटो हाल्यो ।फोटोको ब्याकग्राउण्डमा उसको नयाँ कार पनि टिलिक्क टल्किएर पोज दिइरहेको थियो ।
रेउते यस्तै गर्छ । आफूले किनेका महंगा सामानहरुको फोटो, दाम र किनेको पसलको नाम समेत ऊ फेसबुक र इन्स्टाग्राममा बडा मजाले अप्लोड गर्ने गर्छ । उसका पोस्टहरुमा कमेन्ट, उपकमेन्टका खातहरु लाग्छन् ।जाडोमा सर्वसाधारणहरु दन्केको आगो जोताप्न रुचाउँछन् ।
रेउते बिगत दश वर्षदेखि लगातार अमेरिकामा छ । कथा अनुसार, ऊ डिभी परेर अमेरिका गएको हो । अमेरिका जानुअघि ऊ रक्सिले ध्वस्त थियो । बिहानैदेखि घुट्क्याएर ऊ मान्छेहरुका अगाडि ठूलाठूला डिङ् हाँक्न सिपालू ।
केही दिनअघि रेउतेले काठमाण्डौ आएका बेला मलाई फोन गरेर भेट्ने इच्छा जतायो । नभन्दै चक्रपथमा रेउतेसँग भेट पनि हुन पुग्यो ।
शुरुमै रेउतेले आफ्नो पुरानै आदतमा धमास पोख्यो, यो मेरो सुट हेर्दै हुनुहुन्छ नि, दाजु ?यो पाँच हजार डलरको हो । पाँच हजार अमेरिकी डलर तपाईंको देशको कति भयो ?
तपाईंको देश ? मैले मनमनै उसको भनाइ दोहोर्याएँ । के यो उसको पनि देश होइन र ?आफ्नो नागरिकता त्यागेर विदेशी नागरिकता लिँदैमा यो उसको देश रहेन त ? उसले बोल्ने भाषा, अपनाउने संस्कार आदिको त कुरै भिन्नै ।
म मनमनै तिलमिलाएँ । तर मैले आफ्नो अनुहारको भाव सकेसम्म स्थिर राख्ने प्रयास गरें ।आज रेउतेलाई एउटा स्यानो स्वाद चखाउने विचार आयो । आँणाटेढा भेजाहरु भुट्न यदाकदा मलाई मजा पनि आउने गर्छ । तर यो मेरो आदत भने बिल्कूलै होइन ।
सिगरेट किन्ने निहँुले मैले पसलमा रेउतेले सुइँको नपाउने गरी एउटा सियो पनि किनिहालेँ । अनि रेउतेछेउमा आएर ढिलो नगरी उसको काँधमा त्यो सियोे ल्वाम्मै रोपें ।
ऐया नि, भनेर रेउते बुरुक्कै उफ्रियो । सियो अझै उसको काँधमा लगभग आधा रोपिएको अवस्थामा थियो । ऊ भर्याकभर्याक गर्न थाल्यो ।
मैले एकै झट्कामा सियो वापस झिकें । रेउतेले एउटाचिसो सित्कार छाड्यो ।
दर्दलाई दबाउन खोज्दै रेउतेले मलाई रातो अनुहार गरेर सोध्यो, किन घोप्नुभो मेरो काँधमा सियो, दाजु?
ऊ अलिक क्रोधित पनि नजर आइरहेको थियो ।
मैले फटाफट भने, तिम्रो काँधमा होइन । सियो त मैंले तिम्रो सुटमा घोपेको थिएँ ।
सुटमा ? किन नि ?उसले सोध्यो ।
पाँच लाख प्लस नेपाली रुपियाँको सुटको ताकत जाँचेको । एउटा सियो त रोक्न सकेन, बुलेट हान्यो भने त झन् के होला ?केका लागि तिरेको यतिका पैसा, भाइ?देखाउनका लागि ?रवाफका लागि ?सेल्फी खिचेर फेसबुकमा हाल्न ?
रेउते त एउटा उदाहरण मात्रै हो । कुराको चूरो, लुगा प्रथमतः शरिरको सुरक्षाका लागि हुनु पर्ने हो । दश करोडकै सुट लगाए पनि के गर्ने, यदि ऊ एउटा दश रुपिँयाको मामूली छूरीले छेडिन्छ भने ?
अलिकति गहिरिएर हेर्ने हो भने, यस्तो लाग्छ यो दुनियाँमा मान्छेहरु एकले अर्कालाई मूर्ख बनाएर सदियौंदेखि मजा लिइरहेका छन् । पढेकाले नपढेकालाई मूर्ख बनाइरहेको छ ।पैसा हुनेले कम पैसा हुनेलाई वा पैसा नहुनेलाई मूर्ख बनाइरहेको छ ।मोटोले दूब्लोलाई, अग्लोले होचोलाई, सग्लोले नीरिहलाई : यहाँ सक्नेले नसक्नेलाई हरतरफ लुटेको छ । बेवकूफ बनाएको छ । कजाएको छ । जोतेको छ । डसेको छ ।
विश्वका सबैभन्दा धनी मान्छेहरुले दुनियाँलाई कसरी बेवकूफ बनाएका छन्,एकपटक त्यता बाजदृष्टि ओह्रालौं ।सुट वा अन्य अचाक्ली महंगा वश्त्रपछिसवारी साधनको कुरा गरौं । ठूलाठूला मोटर कम्पनीहरु वषौंदेखि सवारी साधन उत्पादन गरेर बेचिरहेका छन् । दुनियाँभरमा उनीहरुका शाखा, उपशाखाहरुपनि छन् ।दुनियाँका चप्पाचप्पामा छ्याप्छ्याप्ती सवारी साधनहरु गुडिरहेका छन् । सवाल : तर के उनीहरु सुरक्षित छन् ?उनीहरुको छेउछाउकाहरु समेत कति सुरक्षित छन् ?
सवारी साधनका कैयन अत्याधुनिक महंगा ब्राण्डहरुसँगै अहिलेसम्म उनीहरुले सवारी चलाउँदा लगाउने कुनै सुरक्षाकवच सर्वसुलभ गरेका छन् ?सिट बेल्ट बाँधेर मात्रै त केही पनि भएन । भयो त ?
मानौं,तपाईंसँग एउटा कार छ । दश लाखको होस् वा दश करोडको । के त्यो कार सयको स्पिडमा बिपरित दिशाबाट आइरहेको एउटा दमकलसँग ठोक्कियो भने तपाईंको बाँच्ने मौका कति प्रतिशत छ ? अंगभंग नहुने मौका कति प्रतिशत छ ?केको लागि महंगो पैसा तिर्नुभयो,महाशय? कारको ब्राण्डको लागि तिर्नु भयो ? कि उसको रङ्गरोगनको लागि तिर्नु भयो ? कि कार कम्पनीको मालिकलाई उसले संचार माध्यममा गर्ने बिज्ञापनको ठूलो धनराशीमा सघाइरहनु भएको छ, तपाईं?
हेर्दा सामान्य लाग्ने यो दृष्टान्त कति खतरनाक छ : पौने दुई सय किलोको मोटरबाइक सत्तरी किलोको मान्छेले नब्बेको स्पिडमा राजमार्गमा हुत्याउँछ त्यो पनि कटनको लुगा लगाएर । मेरो सवाल : ऊ कति सुरक्षित छ ?के उसले एउटा फ्याङ्लो हेल्मेटबाहेक तदनुरुप कुनै सुरक्षाकवच पहिरिएको छ?अनि ‘एक मिस्टेकमा गेम फिनिस्’ भएका कैयन सवारी दुर्घटनाहरु हामीले स्वयं देखेका छौं वा तिनका बारे अखवारमा मनग्य पढेकापनि छौं ।अनि हरेक दिन पढिरहेकैपनि छौं ।
एउटा भनाइ छ : हिँड्नेहरुमा गन्तब्यमा पुग्ने संभावना तेज हुन्छ । दगुर्नेहरुचाहिँ प्रायः लड्ने गर्छन् । हुन त हिँड्नेहरु भन्दा दगुर्नेहरुमा नै लक्ष्यमा चाँडो पुग्न सक्ने सम्भावना हुन्छ । तर दगुर्नेहरुमा लड्न सक्ने जोखिम पनि अत्याधिक हुने गर्दछ ।आज दुनियाँमा हुने सबै किशिमका मृत्युहरुमध्ये सडक दुर्घटना नवौं हो । हतारले निम्त्याएको मृत्यु हो, यो । अरु भन्दा छिटो बित्थाको लक्ष्यमा पुग्ने होडले निम्त्याएको मृत्यु हो, यो । अनावश्यक प्रतिस्पर्दाका कारण उब्जिएको मृत्यु हो, यो । याद रहोस्, गन्तब्यमा पुग्ने हतारोसँगै ड्राइभरहरुले तदनुरुप दुर्घटनामा न्यून भन्दा न्यून क्षति हुने सुरक्षाकवच पनि पहिरिएको भए, कुरा बुद्धिमानी ठहथ्र्यो ।
यो मान्छेहरुले आफ्नै नाजूक शरिरमाथि गरेको घनघोर अन्याय हो । स्यानो काँढाले कोतरेर घाउ हुन सक्ने ज्यानको सुरक्षाका लागि कपासको कपडा?कि धातुका रेसाहरुले बुन्ने आफूले लगाउने कपडा ?मान्छेले बिलासिताका साधनहरुमा मात्रै त्यति बिघ्न खर्च गरेको छ । के ऊ ब्राण्डका पछि कुद्ने अरबौं भेडाहरुकै बथानको केवल एक सदस्य हो ? कि ऊ शरीरको सुरक्षा र सरसफाईको पनि उत्तिकै खयाल राख्न सक्षम छ ?
यो एउटा गह्रौं मोटरसाइकल नाजुक शरीरले बिना कुनै सुरक्षाकवच दौडाएको प्रसंग थियो । यहाँ अन्य गह्रौं सवारी साधन,मोटर, टिप्पर, हेलिकोप्टर र हवाइजहाज आदिको त कुरै छुट्टै ।
अब अर्को एंगलबाट हेरौं । मान्छेहरुले पाँच लाख रुपैयाँको मोटरबाइक वा पाँच करोड रुपैयाँ वा त्यो भन्दा महंगो दाममा गाडि त किने । तर उनीहरुलेमानिलिउँ पचास हजार रुपैयाँको कुनै सुरक्षाकवचबारे सोधखोज गरेनन् । गुड्ने कुनै यन्त्र दुर्घटना भएर मान्छेहरु सडकमा पछारिँदा अहिले जसरी च्यातिन्छन् वा कोतरिन्छन् वा टुक्राटुक्रा हुन्छन् त्यसलाई प्रतिरोध गर्नेकुनै सुरक्षाकवच पहिरिएर सवारी हाँक्ने हो भने धेरै मान्छेहरु अकालमा मर्नबाट वा अंगभंग हुनबाटजोगिन्छन् । दुर्घटना भइहाले पनि न्यून भन्दा न्यून क्षति हुने वा क्षति नै नहुने सुरक्षाकवच बनाउनु आजको युगमा कुनै गाह्रो विषय पनि होइन । प्रविधिले पराकाष्ठा चुमिरहेको युग जो हो, यो । तर मान्छेहरु महंगा वा सस्ता सुती वा अन्य लुगा लगाएर वा अर्धनग्न नै अनेकानेक ब्राण्डका महंगावा सस्तासवारी साधनहरुमा शान दिएर रफ्तार चुम्छन् ।मृत्युको पर्वाहै नगरी सडकमा उनीहरु अन्धाधुन्ध बत्तिन्छन् । मान्छेले गुड्न वा उड्न पायो भने किन संभावित मृत्युलाई पनि बिर्सिदिन्छ वा अवहेलना गर्छ ? यो भने खोजकैविषय हो ।
यस्तो पनि लाग्छ कि मान्छेहरुधातुका आफूभन्दा गह्रौं गुडने वा उड्ने इन्जिनहरुमा सवार भएर मृत्युको पछिपछि दगुरिरहेका छन् ।लाग्छ, उनीहरु मृत्युलाई भेट्नअति आतूर छन् । हुन त हाम्रा ग्रन्थमा भनिएकै पनि छ ः
असतोमा सद्गमयः
तमसोमा ज्योतिर्गमयः
मृत्योर्मा अमृतंगमयः
आखिर मृत्युमा अमृत हुने भएपछि मान्छेहरु कुनै न कुनै तरहले त्यो अज्ञात आयामले तानिने नै भए । वा भनौं, अमृतले नै कुनै न कुनै बहाना दिएर मान्छेलाई आफूतिर तान्ने नै भयो । अकाट्य सत्य पनि त्यही मृत्यु वा अमृृत नैहो ।सबै मान्छेहरुलाई यहाँ अवचैतनिकरुपमा चाहिएको पनि त्यही अज्ञात अमृत हो भने को प्यूँन चाहन्छ यहाँजहर?
भनिन्छ मान्छेले चिताएको पुग्ने गर्छ, तसर्थ ज्ञानी पुरुषहरु भन्छन्, खराब कुरा सोच्ने नगर । त्यो भइदिन सक्छ ! केवल राम्रो सोच, जो भएर पनि अझै राम्रो हुँदै जानेछ ।
तर यस्तो लाग्छ वर्तमान दुनियाँ अमृतको नाउँमा जहर नै पिइरहेको छ ।मामूली जस्तो लाग्ने एउटा कुरा ः प्रविधिर विकासको यत्रो पराकाष्ठा चुमिसक्दा पनि मान्छेले आफ्नै शरिरको सुरक्षा समेत ठीकसँग गर्न सकिरहेको छैन ।त्यो पनि आजको चरम भौतिक युगमा । गास, बास र कपासको ब्यवस्था सही तरिकाले हुन नसके मानवको जीवन फल्नफुल्न सक्दैन । वा अकाल मृत्यु हुन सक्छ । बचाए यो ज्यान बच्छ । लापर्वाहीले त जहाँ पनि हार नै खाने गर्छ । अझै पनि त्यही सुतीको लुगामा तँछाड् मछाड्?लुगा चाहे महंगो होस् या सस्तो, शर्त के भने त्यसले शरिरलाई पूर्ण सुरक्षित राख्न सक्नु पर्छ । लड्दा, कसैले मुक्का वा छूरी वा गोली नै हान्दा पनि शरिरलाई बचाइराख्ने लुगा पो बास्तविक लुगा हो ।
पुरानो जमानामा मेशिनहरुको बिगबिगी थिएन । सब शान्त थियो । सुतिको लुगा सहज थियो । आज मेशिनहरुको बिगबिगी, मान्छेहरुको लुछाचुँडी, विभिन्न महामारीको प्रकोप भएका बेला मान्छेहरुले त्यही पुराना फ्याङ्ला लुगाहरुमा नउल्झेर धातुजन्य लुगाहरु बुन्न थालिसक्नु पर्ने हो । आफ्ना महंगा सुटहरुमा कागजको बक्रम होइन बुलेट प्रुफ धातुको पातलो, हल्का र लचिलो बक्रम हालिसकेको हुनु पर्ने हो । अहिलेसम्म यो प्रविधि सर्वसुलभ भएर बजारमा छ्यापछयाप्ती भइसकेको हुनु पर्ने हो ।न्यूयर्क या काठमाण्डौका भब्य टेलरहरुमा गएर साहुजी बुलेटप्रूफ सुट निकाल्नुहोस् त भन्दा साहूजी हललल्ल हाँस्नु भएन । साहूजीले तपाईंलाई बिहानबिहान कस्तो पागल ग्राहक आइलाग्यो भनेर अवहेलना गर्नु भएन ।
कटनको लुगा लगाएर मौतका कुवाँ जस्तो हाइवेमा सयको स्पिड चुम्नेहरुलाई मेरो रामराम भन्दा बढी केही भन्नु छैन। यो लेख त्यही राम राम मात्रै हो ।चाहे उनीहरुले चढ्ने सवारीको मोल पाँच लाख होस् वा पाँच करोड अनि उनीहरुका नम्बर प्लेटका रङ्हरु जुनसुकै हुन्– यसले कुनै फरक पार्नेवाला छैन । दुर्घटना हुनुपूर्व उसले मैले माथि भने जस्तो सुरक्षाकवच पहिरिएको भए, उसको शरिर च्यातिने वा टुक्राटुक्रा हुने थिएन । कम भन्दा कम क्षति हुने थियो । फाइदा उसैलाई थियो ।
यहाँ एक करोड रुपैयाँको गाडि चढ्ने उपभलाद्मीलाई एक लाख रुपैयाँको सुरक्षाकवच अनुसन्धान गरेर दुनियाँमा सर्वसुलभ गर्ने फुर्सद छ ?
हेनरी फोर्डअघि र पछि कैयन पूँजिपति र विद्वान मान्छेहरु आजपर्यन्त महंगा से महंगा कारमा चढे होलान् । तर किन उनीहरुले दुनियाँलाई कम से कम एउटा मोटरबाइक वा कार वा अन्य सवारी साधन खरिद गर्दा हेल्मेटका वा सिटबेल्टकासाथमा एउटा सुरक्षाकवच पनि दिन सकेनन् त ? म चुनौति दिन्छु दुनियाँभरका तमाम सवारी साधन कम्पनिका मालिकहरुलाई । उनीहरु जानाजान वा अन्जानमा दुनियाँलाई मूर्ख बनाईरहेका छन् । अरबौं मान्छेहरुका स्वप्निल र सुकोमल जिन्दगीहरुसँग पुँजीपतिहरु मृत्युको भद्दा मजाक गरिरहेका छन् । त्यो पनि यथेष्ट पैसा तिराएर ।
तसर्थ एउटामहंगो कार तपाईंले घरमा भित्रयाउनु भनेको मृत्युको कहलीलाग्दो बाकस भित्रयाए जस्तो पनि हो । त्यसको सुरक्षित अवतरणमा जति अतिरेक छ दुर्घटना भएको खण्डमा त्यो उति नै पीडादायी र कहालीलाग्दो पनि छ ।
आफ्नो बच्चा वा प्रियजनलाई महंगो कारमा सयर गराउँदै हुनुहुन्छ ? त्यो पनि महंगो सुट वा कपडामा जो कि एउटा सानो छेड पनि रोक्न सक्दैन?सवारीसाधनको गति बढाइरहेका बेला याद राख्नुहोस् : खोई सुरक्षाकवच ?
आजकै दिनमा विश्वको कुनै पनि सडकमा जति नै महंगो कारमा जति नै महंगो सुट लगाएर जति नै महंगो मान्छे गुडिरहेको होस् ः उसले एक पटक गहिरिएर सोचोस् कि ऊ मृत्युसँग घिनलाग्दो मजाक त गरिरहेको छैन? केऊ आफ्नो वरिपरिका अन्य मान्छेहरुसँग पनि मृत्युको थपकहालीलाग्दो मजाक त गरिरहेको छैन ?
तर एउटा वा अनेक तिब्र गति चुम्ने उसको लालसाले उसलाई घना खतराहरुमा ज्यूँने अभ्यास गराइसकेको छ । कुनै गलत काम संसारका प्रायः धेरै मान्छेहरुले गर्छन् भने त्यो गलत लाग्दैन । त्यो सही लाग्न सक्छ । तर त्यो सही कदापी हुँदैन । गलत नै रहन्छ ।
करुणाजाग्छ यहाँ, त्यो जुनसुकै रङ्को नम्बरप्लेटमा जति नै चिल्लो गाडिमा हुँइकिरहेको ड्राइभरलाई देखेर जो टिंटिंट्याँट्याँ पारेर पैदल यात्रुलाई अत्याउँदै र हिलो छ्याप्दै सडकाँ हुत्तिरहेको हुन्छ । उसको त्यो इस्पातको मृत्युबाकसले छसक्कै छोयो भने पनि यता पैदल यात्रु ठहरै ! नियालेर हेर्नुहोस्, ऊ कसरी कटनको लुगामा शान दिएर स्टेरिंग घुमाइरहेको हुन्छ । मृत्यु उसको एकदमै छेउमा देखेरराम राम भनिहाल्न मन लाग्छ । अनि उताउसैको चालढाल हेर्दा जरुरत भन्दा पनि शानका लागि उसले सवारी चलाइरहेको प्रतित हुन्छ ।
मैले यहाँ मान्छेहरुले धर्तीमा खनेका सडकहरुमा मान्छेहरुले नै सवारी नगुडाउने भन्न खोजेको होइन । आफ्नो र अरुको ज्यानको खयाल राख्दै सुरक्षाकवच पहिरिएर टिंटिंट्याँट्याँ पारेर पैदल यात्रुलाई नतर्साइ सभ्य पारामा पोसवारी गुडाउने होकि भन्न खोजेकोहुँ । अरुलाई हिलो छ्याप्दै वा पैदल यात्रुलाई तर्साउँदै, भगाउँदै वा लतार्दै सवारी गुडाउनेहरु असभ्य मात्रै होइनन् अपराधि नै हुन् । यिनको सवारीसाधन र लाइसेन्स दुवै सिज गर्दा हुन्छ । चाहे उनीहरु जो सुकै हुन् ।
माथि पनि चर्चा गरियो, मान्छेको शरिर एकदमै नाजूक छ । उस्तै परे एक मुक्कामा चेट हुन सक्छ । एउटा स्यानो काँढा बिझेर संक्रमण भइ मान्छेको निधन हुन सक्छ । यसलाई जोगाएर राखे मान्छे आरामको लामो आयु ज्यूँन सक्छ । अझै एक पटक जोड दिएर सोध्छु : अनेक ब्राण्डका कटन वा अन्य महंगा वा सस्ता लुगाको के काम जबकि त्यसले एउटा सियोको चुभन पनि रोक्न सक्दैन ?
अहिलेको जमानाका मान्छेहरुलाई कुनै नयाँ कुरा एकपटक मात्रै भन्दा उनीहरुले तुरुन्तै बिर्सिहाल्छन् । तसर्थ कतिपय कुरा उनीहरुलाई बारबार भनिरहनुपर्ने हुन्छ । ताकि त्यो कुरा उनीहरुको चेतनाको रसातलमा छापियोस् र त्यसको कमाण्डले उनीहरुले आफ्ना स्वाभावजन्य मानसिक अवरोधहरुलाई जित्न सकून ।जगतका प्रायः मान्छेहरु स्मृतिको सतहमा नै जीवन सकिरहेका हुन्छन् ।साथै उनीहरु एक वा अनेक दिग्भ्रमित मस्तिको कोहराममा जकडिएका पनि हुन्छन् । कुनै न कुनै खेलौनामा भुलिएका हुन्छन् । खेलौनाले भुलिएका हुन्छन् । उमेरसँगै खेलौना भने रिप्लेस भइरहेको हुन्छ । बाकिँ सबै रस एक समान ।
यहाँअन्त्यमाफेरि सोध्छुः
अहिले तपाईंले लगाइरहेको लुगामा सियो गाडियो भने तपाईंको छाला छेड्छ कि छेड्दैन ? के तपाईंले लगाइरहेको लुगा कम से कम एउटा सियो प्रुफ त छ ?कति हाल्नु भयो महाशय, आफ्नो सुटलाई ?पचास लाख ?दश करोड ?तपाईको सुट फायर प्रुफ छ ?तरवारले प्रहार गर्दा तपाईं काटिनु हुन्न ? बुलेट प्रुफ हो ?
केका लागि महंगो सुट ? रवाफका लागि ?कि आफूभन्दा हुनेखानेको सिको गरिरहनुभएको छ ?
पाँच लाख रुपैयाँको सुट किन्नुअघि एक पटकत्योउत्पादन गर्ने कम्पनीलाई दोहोर्याएर सोध्नुहोस् :
यो महंगो सुटमा सुरक्षासम्यन्त्र के के छन्, हजुर ?सियोप्रुफ ?तरवारप्रुफ ?बुलेटप्रुफ ?फायरप्रुफ ?
अनि नियालेरउसको अनुहार पढ्ने कोशिस पनि गर्नुहोस् । तपाईंलाई उसले एउटा पागल वा अर्धपागल ठानिसकेको हुन्छ ।
तर यहाँ मान्छेहरु अहिलेसम्म महंगा वा सस्ता सुट वा कपडाभित्र घुसेरै महंगो वा सस्तो कारमा हुइँकिन्छन् र सडक दुर्घटनामा मारिएको केवल एउटा स्यानो समाचार बनेर बिर्सिइन्छन् । राम राम !
बर्तमानमा सडक दुर्घटना मानव मृत्युको नवौं कारण भए पनि जिन्दगी सबैभन्दा बढी असुरक्षित सडकमा नै छ । हेभी ट्राफिक भएको सडकमा नियालेर हेर्नुहोस् : मृत्युसँग मान्छेहरुको पौंठेजोरी अनि घम्साघम्सी । गह्रौं मेशिनमा चढेर एक्सिलरेटरले भ्याएसम्म बत्तिरहेका नाजूक शरिरहरु कसरी मृत्युबाट बालबाल बचेर वा सडकमा उत्तानोचित खाएर हर रोज आफ्नो जिन्दगी खेप्छन् वा सक्छन् । अनि उता ती स्पिड मेशिनहरुबाट छलिएर हिँड्ने वा बाटो काट्ने पैदल यात्रुहरुको कथा भने नितान्त बेग्लै ।
अरुले जे गरे त्यही वा त्यो भन्दा कमबेसी गर्नै पर्ने लतले मान्छेलाई एउटा काल्पनिक अग्लो टावरमा चढाउँछ । टुप्पामा पुर्याउँछ । अनि एक दिन भ्याट्ट झारिदिन्छ । स्वाहा ।
रवाफका लागि धन खर्च गर्नेहरुको बुद्धिमा बिर्को लागेको हुन्छ । र त्यो बिर्को कसै गरी खोल्न सकिँदैन । जरुरतले धन खर्च गर्नेहरुको बुद्धिको बिर्को आफ से आफ खुल्दै जान्छ ।
विश्वभरका वश्त्र उत्पादक र सवारी साधन कम्पनीहरुलाई मेरो चुनौति छ : समयसापेक्ष हुन नसकेका वा अपूरा वा गलतउनीहरुकाप्रविधिका कारण दुर्घटना अथवा भवितब्य पर्दा ज्यान गएका वा अंगभंग भएकाहरुलाई के उनीहरु यथेष्ट क्षतिपूर्ति तिर्न सक्छन् ?
तर आज एक सय दुई वर्षपछि गत डिसेम्बरमा चीनको बुहान राज्यमा सर्वप्रथम देखापरेको कोरोना भाइरसले यो लेख सम्पादन गर्दासम्म विश्वभरमा सोह्र हजार मानिसहरुको ज्यान लिइसकेको छ । लाखौँलाई यसले आक्रान्त तुल्याएको छ । विश्व नै आज ठप्प छ ।
अब प्राकृतिक जीवन ज्यूँनुको कुनै बिकल्प छैन । जोगिएछ भने सभ्यता, यस महामारीबाट, यसले सम्पूर्ण प्रकृति विरुद्धका कार्यहरु सदाका लागि रोक्नु जरुरी छ । प्रकृति र जिन्दगीहरुको सम्पूर्ण दोहन तत्काल रोक्नु पर्छ । प्रकृति मैत्री जीवनको अनुसरण अपरिहार्य भएको छ ।
त्यसैले अब स्लोगन बदलौं :
अरुलाई बाँच्न दिउँ । आफू पनि बाचौँ ।