चैत्र १९, काठमाडौं। कोरानाको उपचार सामाग्री खरिदमा अनिमितता भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको छ। विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
बजार मूल्य भन्दा चार गुणासम्म बढी मूल्यमा कोरोना भाइरसको नियन्त्रण रोकथाम र उपचारका लागि चीनबाट स्वास्थ्य उपकरण खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन्।
'चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदा धेरै प्रश्न उठेको छ। पहिला आह्वान गरेको टेण्डर रद्ध गरिएको रहेछ। धेरै कुरा लुकाइएको छ। गल्ती थिएन भने किन लुकाइयो,' पौडेलले भने, 'बजार भाउभन्दा ४ गुणा महंगो लिने अनि खरिदको अनुभव नभएको र आफूनिकटको व्यापारीलाई समेत दिइएको भनेर आएको छ। र्यापिड टेस्टिङ किटसमेत गुणस्तरीय नभएकाले मैले छानबिनको माग गरेको हो।'
विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन्। सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्यापिड टेस्टिङ किट अहिले गोदाममा थन्किएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो।
यता मन्त्रालयले पनि र्यापिड किटको विषयमा बुधबार मात्र विज्ञप्ति सार्वजनिक गर्दै मिडियामा सार्वजनिक समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ। बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले र्यापिड टेष्ट किटको विषयमा ध्यानाकर्षण भएको बताएको हो।
‘मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रमममा र्यापिड टेष्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्ययममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रष्ट पार्नुपर्ने आवश्यकता देखि यो विज्ञप्ति जारी गरिएको हो’, मन्त्रालयले भनेको छ।