धरान/ धरानको सडकमा जडान गरिएका सोलार बत्तीहरू बिग्रिन थालेका छन् । सौर्य बत्ती जडान गरिएको दुई वर्ष पनि नबित्दै बिग्रिन थालेको हो । झण्डै ५० लाखको लागतमा जडान गरिएका सौर्य बत्ती मिलिक्मिलिक् चम्किरहने कारणले साँझ र रातको समयमा नियमित आवात जावतमा समेत कठिनाइ भएको सडक उपभोक्ताको गुनासो छ ।
सडकमा हिंड्ने यात्रुहरूलाई अनियमित रूपमा बिजुली बत्ति चम्किँदा आँखा समस्या हुने र सवारी चालकलाई बत्ती चम्किएका कारण सवारी चलाउँदा असर पर्ने समस्या देखिएको उपभोक्ताको गुनासो छ ।
साँझको समयका लागि प्रयोगमा आउने बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
सम्बन्धित निकायले सौर्य बत्ती मर्मत संभारमा चासो नदेखाएको धरान उपमहानगरवासीको गुनासो बढ्न थालेको छ । समय समयमा सोलार बत्तिको मर्मत हुन नसक्दा कामै नदिने गरी बिग्रिएको धरान ८ निवासी सन्तोस पौडेल बताउँछन् ।
“साँझको समयमा सोलार बत्तीले उज्यालो दिनु पर्नेमा झिपिक्क बल्ने, झिपिक्क मर्ने.. हिँड्डुल गर्ने मानिस र सवारी चाललको ध्यान नै बत्तीतिर जान्छ । अनि सवारी दुर्घटना हुन सक्छ ।” स्थानीय कृष्ण बहादुर मगरले भने ।
सडकको बत्ती बिग्रिएको लामो समय भइसक्दा पनि स्थानीय निकायले ध्यान नदिएको धरान–चतरालाइन बस्दै आएका दीपेन्द्र शाक्य बताउँछन् । उनी भन्छन् , “सोलार बत्ती जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सोलार बत्तीको मर्मत कार्यमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।”
धरानका सड्कहरुमा सोलार बती जडान गरिएपनि सम्बन्धित निकायले बतीको मर्मत संभार एकपटक पनि नगरेको धरानका फिरोज कुमार श्रेष्ठले बताए ।
“घरी मर्ने र घरी बल्ने बत्तीले धरानको सुन्दरता नै कुरुप बनाएको छ ।” श्रेष्ठ भन्छन् ।
सोलर बतीको कारणले धरान उपमहानगरवासीको आँखामा समेत गंभीर असर पर्न थालेको धरान ९ आचार्य लाइनका नरहरी तिम्सिनाले बताए ।
धरान उपमहानगरले सौर्य बत्ती जडान नगर्दा कृष्ण ग्रील एण्ड इन्जिनियर वक्र्ससँग ५ वर्षे सम्झौतामा बत्ती जडान गरेको हो । बत्तीको मर्मत संभार गर्न उपमहानगरले चासो देखाएर सम्झौता गरिएको कम्पनीले मर्मत सम्भार गर्नु पर्ने हुन्छ । तर धरान उपमहानगरले पनि यो अवधिमा खासै चासो देखाएको छैन भने कम्पनीले एक पटक पनि मर्मत संभार गरेको पाइँदैन । जसका कारणले सडकमा जडान गरिएका ५० लाख बढी रुपैयाँका बत्तीहरू कवाडीमा जाने निश्चित जस्तै बनेको छ ।
२ वर्षअघि धरान वडा नम्बर १ स्थित तीनकुनेदेखि धरान १३ जिरोप्वाइन्टसम्म र धरानको आसपासमा सौर्य उर्जाको सोलार बत्ती जडान गरिएको थियो । धरान उपमहानगरपालिका र उपभोक्ता समितीको संयुक्त पहलमा सौर्य उर्जा बत्ती जडान गरिएको हो