२०७६ चैत २२ शनिबार
काठमाडौं । सरकारले सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई क्वारेन्टाइनमा १४ दिन अनिवार्य बसेपछि मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेपछि भारतीय पक्षले राखेको क्वारेन्टाइनमा नेपालीहरू खाँदिएर बस्न बाध्य भएका छन् । यसरी बस्दा रोगको डरले झनै सताउने गरेको उनीहरू बताउँछन् । कोरोना संक्रमणको सन्त्रासपछि सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गरेपछि पनि स्वदेश फर्किंदै गरेका नेपाली अहिले सीमा नाकामा नै बस्दै आइरहेका छन् ।
केही दिनअघि नेपाली सरकारी अधिकारी र भारतीय पक्षबीच सीमामा आइपुगेका दुवै देशका नागरिकलाई सम्बन्धित देशको सरकारले व्यवस्थापनको काम गर्ने सहमति भएको थियो । सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले सीमामा आइपुगेकालाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । तर, सीमा क्षेत्रमा आइपुगेका नेपाली क्वारेन्टाइनको नाममा खाँदिएर बस्न बाध्य भएको र झनै रोगको डर भएको बताउँछन् ।
दार्चुला व्यास गाउँपालिका–३ का रमेश धामीले भारतीय भूमिबाट स्वदेश आउन हिँडेका हजारौं नेपाली भारतीय क्षेत्र धार्चुलामा क्वारेन्टाइनका नाममा खाँदाखाँद गरेर एकै स्थानमा राखिएको जानकारी दिए । उनका अनुसार भारतीय भूमि धार्चुलाको मिनी स्टेडियम हलमा नेपालीलाई खाँदाखाँद गरेर राखिएको छ ।
‘नेपालीहरूलाई धार्चुलामा एकै ठाउँमा खाँदाखाँद राखिएको छ, रातारात घर फर्केकाहरूलाई भीडमा राख्दा एक जनालाई संक्रमण रहेछ भने अन्यलाई पनि सर्ने हो कि भन्ने डरले धेरैलाई सताइरहेको छ,’ धामीले भने । महाकाली नदी तरेर नेपाल प्रवेश गरेका उनी भने शुक्रबारबाट आफ्नै गाउँको क्वारेन्टाइनमा बसेका छन् ।
उनीसँगै आएका अकबर कुँवरले सरकारले भारतीय क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुको साटो नेपाल ल्याएरै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्नेमा त्यसो नगरेको भन्दै दुखेसो पोखे ।
‘विदेशी नागरिक धमाधम प्लेन ल्याएर पठाइयो भन्ने सुनियो, हामीलाई आफ्नै देश आउन पनि चोर आए जसरी आउनुप¥यो,’ ट्युबको सहारामा महाकाली तरेर नेपाल आएका उनले गुनासो गर्दै भने ।
गत सोमबार मात्रै देशको पश्चिमी नाकाबाट महाकाली नदी तरेर नेपालतर्फ प्रवेश गर्न लाग्दा प्रहरीले एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो । यसैगरी, केही दिनअघि दार्चुलाका एक व्यक्तिसमेत ट्युबको सहारामा महाकाली नदी तरेर भारतबाट चोर बाटो हुँदै नेपाल छिरेका थिए । प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
(राजधानी दैनिकबाट)