धरान/ धरान उपमहानगरका जनप्रतिनिधिले गरेको कामप्रति नेपाली कांग्रेस धरान उपमहानगर समितिले असन्तुष्टि जनाएको छ ।
मेयर तारा सुब्बाले आफूखुसी र मनोमानी ढंगले काम गरेको भन्दै मेयरलाई सच्चिएर अघि बढ्न धरान कांग्रेसले आग्रहसमेत गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मेयर सुब्बाले ७० लाखको गाडी किन्न लागेको र लोक सेवा तयारी कक्षा संचालनको विषयमा उप–महानगरपालिकाबाट मनोमानी भएको भन्दै मेयरलाई सचेत गराएको हो ।
धरानको समृद्धि, धराने जनताको हित र विकासका लागि कांग्रेस प्रतिपक्षमा बसेर धरान उपमहानगरलाई खबरदारीसमेत गर्ने कांग्रेस सभापति तिलक राईले बताए । उनले भने, “त्यसरी मनोमानी ढंगले काम भएकोप्रति हाम्रो आपत्ती छ, मनपरी गर्न दिँदैनौँ ।” राईले नेतृत्व सही नभए, सही रूपमा अघि बढ्न कांग्रेसले खबरदारी गर्दै निर्णायक ढंगबाट अघि बढ्ने समेत बताए ।
कांग्रेसले निर्णय गर्दा, वोर्डको समिति, उप–समिती गठन गर्दा आफूहरूसँग कुनै छलफल र समन्वयसमेत नगरेको जनाएको छ । सभापति राईले भने, “कम्तीमा धरानका तीन राष्ट्रिय पार्टीसँग पनि निरन्तर छलफल र समन्वय गरेर अघि बढ्नु पर्ने हाम्रो भनाइ हो ।”
कांग्रेसले भनेको छ– “उपमहानगरले गाडी खरिद गर्न हुन्न भन्ने होइन तर खरिद प्रक्रिया र निर्णय संगत भएन, त्यसैले नेतृत्व वर्गले प्रक्रिया संगत रूपले अघि बढ्नु पर्छ ।”
खानेपानी मुहानको समस्या, विभिन्न समिति गठन गर्ने विषयहरू, जलाधार क्षेत्र सिमांकन, कर्मचारी भर्ना, गाडी खरिद, बाईपास सडक निर्माण, धरान बसपार्क निर्माण, एयरपोर्ट निर्माण, सुकुम्बासी समस्या समाधान, आर्थिक सहयोग र ठेक्का पट्टाको विषयमा उपमहानगर नेतृत्वले व्यक्तिगत मनोमानी गरेको आम जनमानसमा अनुभुति भएको कांग्रेसले जनाएको छ ।
यस्तो परिस्थितीमा नेपाली कांग्रेस पार्टी एउटा जिम्मेवार प्रतिपक्ष र नगरवासीको प्रतिनिधित्व गर्दै यस्ता विषयवस्तुमा उपमहानगरपालिकासँग एक पटक औपचारिक रूपमा छलफल गर्ने यदि आफूहरूको छलफलमा यी समस्याको हल नभए कडा रूपमा प्रस्तुत हुने कांग्रेस सभापति राईले चेतावनी दिए ।
कागं्रेस निकट वडाध्यक्षलाई समेत पाखा लगाउने काम भएको कांग्रेसको आरोप छ । धरान नगर भित्र गरिने जुनसुकै विकासका काममा उप–महानगरपालिकाले वडा अध्यक्ष, वडा सदस्य लगायतसँग सहकार्य, सल्लाह नलिई नै काम गरिरहेको आरोप छ । पत्रकार सम्मेलनमा धरान १८ का वडाध्यक्ष प्रविन राईले अब त्यसरी आफूखुसी गर्न नदिने भन्दै बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर विरोध गर्नेसमेत बताए । नेपाली कांग्रेसका वडा अध्यक्षहरूले नगरपालिकाले गर्ने हरेक निर्णय, बैठक, विभिन्न विकासका काममा आफूहरूलाई खासै अग्रसर नबनाएको राईले बताए ।
सो पत्रकार सम्मेलनमा वडा न.१ का वडा अध्यक्ष रोशन अधिकारी, वडा न.२ का वडाअध्यक्ष माधव गोविन्द श्रेष्ठ, १४ का वडा अध्यक्ष कृष्ण भट्टराई, १८ का वडा अध्यक्ष प्रवीण राई लगायतका वडा अध्यक्षले सिटी एजुकेशन र लोकसेवा आयोगको कक्षा सञ्चालनका लागि नगरपालिकाले पत्र काटेर प्रत्येक वडामा २०–२० हजारका दरले रकम वडाबाटै नगरपालिकालाई उपलब्ध गराउन भनिएको बताए । आफूहरूले आफ्नै वडामा यदि कक्षा सञ्चालन गर्ने हो भने रकम उपलब्ध गराउने नभए नगराउने भनेर आफूहरूले भनेको वडा अध्यक्षहरुले बताए ।
उप–महानगरपालिकावासीले अपेक्षाकृत विकास निर्माण र आइपरेका समस्यामा पन्छिने, गैरजिम्मेवारी देखिने गरेको गुनासो र मनोमानी निर्णय गर्ने दृष्टान्तहरू प्रसस्त सुचना सञ्चार माध्यममा आइरहेको कांग्रेस धरानले जनाएको छ ।
यता धरान उमहानगरका मेयर तारा सुब्बाले कुराकानीमा स्थानीय सरकारले दिएको अधिकार र आफूले पाएको अधिकारअनुसार धरानमा सम्मृद्धि र विकासको काम गरेको बताउँदै भने, “आरोपमा कुनै सत्यता र तुक छैन ।”