गौरादह नगरपालिकामा दोस्रो चरणको राहत वितरणका लागि संकलन गरिएको विपन्न परिवारको नामावलीलाई लिएर असन्तुष्टि पैदा भएको छ । विपन्न परिवारलाई दिईने भनिएको राहत हुनेखानेले समेत पाउने अवस्था आएपछी असन्तुष्टि छाएको हो ।
टोल विकास समितिको सिफारिसका आधारमा विपन्न परिवारको लागत संकलन गरिएको भनिएपनि जनप्रतिनिधिको दबाबमा हुनेखाने परिवारको नाम समेत समावेश भएको स्थानीयले आरोप लगाएका छन ।
निजि विद्यालयमा छोराछोरी पढाउन सक्ने, चाडबाडका बेला २-४ लाख रुपैयाँको खेलो फड्को गर्न सक्नेलाई समेत विपन्न परिवार बनाईएको सृजनशील टोल समितिका सचिव राजकुमार दाहाल बताउछन ।
'भोट बैक सुरक्षित गर्ने हिसावले नामावली आएको छ' उनले भने, 'सरकारले दिएको मापदण्डको गलत व्याख्या गरेर जनप्रतिनिधिहरु आफु निकटस्थलाई राहत दिन तयारी गर्दैछन् ।'
विपन्न परिवार भनेको बिहान खाएर बेलुका के खाने भनेर चिन्ता गर्ने परिवार हुन् । तर यहाँ स्वलागानीमा व्यापार गरिरहेका, छोराछोरी पढाउन बजार बसेका तर श्रीमान बैदेशिक रोजगारीमा हुनेलाई समेत विपन्न परिवारको सुचीमा राखिएको उनको भनाई छ ।
गौरादह नगरपालिकामा यो समस्या अहिले मात्र आएको होईन । पहिलो चरणको राहत वितरणमा पनि जनगुनासो आएको थियो । भकारी भरी धान हुनेलाई समेत राहत दिनुपर्दा कतिपय टोलसमितिका सदस्यले आक्रोश पोखेका थिए ।
पहिलो चरणको राहत वितरणमा हतारिएको नगरपालिकाले मापदण्ड नै तयार नगरी वितरण गरेको थियो ।
त्यस्तै जनप्रतिनिधिहरु नितिगत भ्रष्टाचारमा लागेको आदर्श टोल बिकास समितिका अध्यक्ष राजन खनाल बताउछन । पहिलो चरणको राहत वितरण गर्दा ४७ परिवारलाई दिईएको थियो, उनले भने - अहिले खाद्यान्न धेरे आउने भएपछी जनप्रतिनिधिको दबाबमा परिवार संख्या ९३ पुगेको छ । '
'निष्पक्ष भएर वितरण गर्न जनप्रतिनिधिलाई किन डर लागेको हो ' उनले प्रश्न गरे 'यस्तो विषम परिस्थितिमा समेत राजनीति गर्ने ? '
यी दुई टोलमा उब्जेका समस्या प्रतिनिधिमुलक घटना मात्र हुन । यहाका हरेक वडा र टोलमा यस्ता समस्या रहेको स्थानीयको भनाई छ ।
लक्षित वर्ग भन्दा बाहिरका परिवारलाई राहत दिनु भनेको दातामाथिको घात हो । यो संकटको बेला विपन्न परिवारको दैनिकी सहज बनाउन सहयोग गर्ने दाताहरु अहिले बेकार दिईएछ भन्न थालेका छन् ।
जनप्रतिनिधिको रबैयाका कारण उनीहरुको भोट बैक त सुरक्षित होला तर मुठी खोलेर सहयोग गर्नेहरुले अब उप्रान्त सहयोग गर्दा सोच्नेछन - 'लक्षित वर्गलाई भनेर दिएको सहयोग अरुलाई दिदा मलाई पुण्य मिल्ला र ?'