झापा : नयाँ वर्षको प्रारम्भदेखि तीन दिनसम्म तराईका आदिवासी समुदायले मनाउने सिरुवा पर्व यस वर्ष सामूहिक रुपमा नमनाउन राजवंशी विकास प्रतिष्ठानले आफ्नो समुदायलाई आग्रह गरेको छ।
विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको र यसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यस वर्ष सिरुवा पर्व सामूहिक रुपमा नमनाउन आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीका बताए।
सिरुवा पर्व पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका समुदायले भेला भएर तीन दिनसम्म मनाउँछन्। पर्व सामूहिक रुपमा मनाउँदा भिडभाड हुने भएकाले सामूहिक रुपमा नमनाउन आग्रह गरिएको अध्यक्ष राजवंशीले बताए। ‘सिरुवा आदिवासी समुदायको महान् चाड भए पनि यस वर्ष हर्षोल्लासका साथ मनाउने अवस्था छैन,’ उनले भने, ‘सिरुवा मनाउँदा कोरोनाका कारण आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न त्यस्तो आग्रह गरेका हौं।’
कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरू यसबर्ष स्थगित गरिएको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताए। सिरुवा पर्व तीन दिनसम्म मनाउने प्रचलन छ। वैशाख १ मा पानी सिरुवा, २ मा काद सिरुवा र ३ मा रङ सिरुवा गरी सामूहिक रूपमा मनाइन्छ।