• वाशिङ्टन । समयमै उपयुक्त सुरक्षात्मक उपायहरु लागु गरेको भए धेरै अमेरिकीको ज्यान जोगाउन सकिने अमेरिकाका उच्च स्वास्थ्य अधिकारीले बताएका छन् ।

    कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चाँडै सामाजिक दूरीसहितका उपाय अपनाएको भए कोभिड–१९ बाट हुने मृत्यु कम गर्न सकिने उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउकीले बताएका हुन् ।

    अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको कुराकानीमा डा. फाउकीले भनेका छन्, ‘यदी हामी सुरुदेखि नै सही भएको भए, सबै कुरा बन्द गरेको भए अवस्था भिन्न हुने थियो । तर त्यस्तो निर्णय गर्नु निकै कठिन कुरा पनि हो ।’

    अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म २२ हजार १०५ जनाको ज्यान गएको छ । त्यसमध्ये धेरै न्यूर्योकका छन् । न्यूयोर्कमा ९ हजार ३८५ जनाको ज्यान गएको छ ।

    यस्तै विश्वमै धेरै संक्रमित पनि अमेरिकामा छन् । अहिलेसम्म पाँच लाख ६० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

    डा. फाउकीले अमेरिकाका केही क्षेत्रहरु आउँदो मे देखि नै सामान्य अवस्थामा फर्किन थाल्ने बताएका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मार्च १६ मा सामाजिक दूरी सम्बन्धी निर्देशन जारी गरेको थियो । अप्रिलभरका लागि यो नियम लागु गरिएको छ ।

    डा. फाउकीसहितका उच्च स्वास्थ्य अधिकारीले राष्ट्रपति ट्रम्पलाई फेब्रुअरीको अन्त्यमै कोरोना भाइरसविरुद्ध आक्रामक रणनीति अपनाउन आग्रह गरेको खबर द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । त्यसबारे सोधिएको प्रश्नमा डा. फाउकीले स्वास्थ्य अधिकारीले मानवस्वास्थ्यको दृष्टिकोणलाई केन्द्रमा राखेर सुझाव मात्रै दिन सक्ने बताए ।

    डा. फाउकीको नेतृत्वमा कोरोना भाइरसविरुद्धको अभियानको अमेरिकामा जारी छ । सुरुमै सावधानी अपनाएको भए अवस्था यति खराब हुँदैनथ्यो भन्ने कुरा कसैले पनि अस्वीकार गर्न नसक्ने उनले बताएका छन् ।

    राष्ट्रपति ट्रम्पले केही समयअघिसम्म कोरोना भाइरसलाई सामान्य फ्लू भन्दै आएका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …