• “खान नपाएर काठमाडौँको भृकुटीमण्डपमा डुल्ने पाँच कुकुर मरे, विभिन्न ठाउँमा कुकुर मर्न लागेका छन् भनेर खबर आइरहेको छ, हामी पुग्न सकिरहेका छैनौँ, पहिले उपचार गरिन्थ्यो, अहिले कुकुर, बाँदरको अवस्था नाजुक देखेर खाना खुवाउन दिनभर डुलिरहेका छौँ”, आज काठमाडौँमा कुकुरलाई खाना खुवाउँदै गर्दा भेटिएकी स्नेहा श्रेष्ठले दुखेसो पोख्नुभयो ।

    भृकुटीमण्डपभित्र पनि कुकुर बसेका छन् भन्ने थाहा नहुँदा उहाँले बाहिरबाहिर मात्रै खाना खुवाएर हिँड्ने गर्नुभएको थियो । सुरक्षा गार्डले खबर गरेपछि मात्रै भित्र पनि कुकुर छन् भन्ने ज्ञान भयो र खाना खुवाउन जानुभयो । भित्र हेर्दा खान नपाएर मरेका पाँच कुकुर फेला परेका उहाँले बताउनुभयो ।

    मानिसका नजिकका मित्र मानिन्छन् घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया । वर्तमान परिस्थितिमा मानिसको आवतजावत बन्द भएको र खाना पाक्ने तथा दिने अवस्था नभएपछि पशु भोकभोकै परेका छन् । अहिले पेट भर्न पशु सङ्घर्ष गर्दै छन् । पशु भोको हुँदा झन आक्रामक हुने र नजिकका घर तथा बस्तीमा समेत प्रवेश गर्ने सम्भावना बढ्ने पशु अधिकारकर्मी बताउँछन् । “चौपायाको यस्तो विजोक छ, कि राज्यले कुनै दायित्व निर्वाह गर्न सकिरहेको छैन”, स्नेहाज केयरका अध्यक्ष श्रेष्ठले थपनुभयो ।

    यो अवस्था उपत्यकामा मात्रै होइन मुलुकभरि देखिएको छ । पशुको अवस्था दयनीय देखेपछि मानिस स्वतःफूर्तरुपमा जनावर तथा चराचुरुङ्गीलाई खाना खुवाउन निस्किएका छन् । पशु अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले अभियान नै चलाउन थालेका छन् । स्नेहाज केयरले पनि दैनिकरुपमा यस्ता पशुलाई खाना खुवाउन थालेको छ । उक्त समूहले दैनिक एक हजार कुकुर र एक हजार बाँदरलाई काठमाडौँ र ललितपुरमा खाना खुवाउँदै आएको छ । खाना खुवाउनका लागि दैनिक रु ५० हजार खर्च हुने गरेको उहाँले बताउनुभयो । यो खर्च स्वदेश र विदेशमा रहेका नेपालीले दिएको सहयोगबाट सम्भव भइरहेको छ ।

    बाँदरलाई उसिनेको आलु, चना केराउ दिने गरिएको छ, काग परेवालाई चामल गेँडागुडी दिइन्छ । गाईलाई बन्दा र कुकुरलाई उसले मन पराउने खाना दिने गरिएको छ । यसरी सधैँ गर्न नसक्ने भएकाले राज्यले नै दायित्व लिनुपर्ने उहाँको भनाइ छ ।

    पशुको क्षेत्रमा काम गर्ने १० स्वयंसेवी समूहलाई उक्त संस्थाबाट खाना लिएर कुकुर, बाच्छाबाच्छी तथा बाँदरका लागि खाना दिने गरेको छ । त्यो खाना उनीहरुले ठाउँठाउँमा पुगेर खुवाउने गरेका छन् । सडकका बेवारिसे मानवको उद्धार गर्ने मानवसेवा आश्रमले भोकाएका मानिसलाई भक्तपुरमा नियमित खाना खुवाउँदै आएको छ । खाना खुवाउने क्रममा भेटिएका सडकका कुकुर तथा बाच्छालाई समेत खानेकुरा दिने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

    कतिपय स्थानीय तहले बेलाबेलामा खाना खुवाएको देखिए पनि नियमित हुन सकेको छैनन् । मुलुकका अन्य विभिन्न स्थानमा पनि छाडा चौपायाको अवस्था दयनीय बन्दै गएको छ । सडकमा मान्छे देख्ने बित्तिकै कुकुर खानेकुराको आसमा पछि लाग्ने गरेका छन् ।

    सडक बजारमा पशु चोपाया (बाँदर, कुकुर, गाईबाच्छा) यत्रतत्र छ । कतिपय संस्थाले गाई बाच्छाबाच्छीको उद्धार अभियान थालेको छ भने कतिपयले खाना खुवाउन थालेका छन् । काठमाडौँका उत्तम पुडासैनीले सडकबाट गाईबाच्छा उठाएर संरक्षण दिन लाग्नुभएको छ । यस्तै अन्य संस्था एसपिसिए नेपाल, क्याट सेन्टर, एनिमल नेपाल, न्वार्क नेपाल, पशु कल्याण सङ्घले समेत अभियान चलाइरहेका छन् ।

    नेपाल भेटेरीनरी एशोसिएशन नेपालका अध्यक्ष पशुचिकित्सक डा शीतककाजी श्रेष्ठ जनावरबाट मान्छेमा कोभिड–१९ सरेको प्रमाणित नभएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । यो अवस्थामा भोकाएका जनावरको सहयोग गर्नु सबैको कर्तव्य हो भन्दै उहाँले अहिले पशुको सेवामा टेली मेडिसिन सेवा दिन थालेकोसमेत बताउनुभयो ।

    पशु चौपाया बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । सरकारी तवरबाट यस्ता पशु चौपायाको विषयमा कुनै पहल हुन सकेको छैन तर निजी क्षेत्र र पशुको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाबाट भने सडकमा रहेका पशुको भोक मेटाउने प्रयास जारी राखेका छन् ।

    कोरोनाको त्रासका कारण सङ्क्रमण फैलिन नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउनको आदेश जारी गरेको छ । अत्यावश्यक कामका लागि भने सरकारले खुला गरेको छ । खान नपाउँदा कुकुर आक्रमक हुन थालेका र कोही देख्ने बित्तिकै झम्टन थालेका पशु खाना दिन थालेपछि आफ्नै साथी जसरी नजिकिने गरेको अनुभव अधिकारकर्मीको छ ।

    मानवमित्रका रुपमा रहेको पशुचौपायालाई खाना खुवाउन पहल भएको पशुपक्षीप्रति निर्दयता रोकावट समाज नेपालका महासचिव वीना पन्तले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकालगायत विशेष गरी शहरी क्षेत्रका मासु पसल नजिक कुकुर रहन्थे भने तरकारी तथा फलफूल पसल अघिल्तिर गाईवस्तु तथा चौपाया बस्थे तर अहिले लकडाउन पछि ती सबै पसल बन्द भएकाले ती जहाँजहाँ मानिसको भीडभाड देखिन्छ उतै जम्मा हुन थालेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…