• काठमाडौं, १९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले रोजगारी गुमाएका युवाका लागि सरकारले आपतकालीन प्याकेज तत्काल नल्याए स्थिति भयावह बन्ने बताएका छन् ।

    बन्दाबन्दीपछि १० लाख नेपाली युवा स्वदेश फर्किने र यस अवस्थामा सरकार सत्ता र लुटको भूलभूलैयामा लागीरहे भयावह स्थिति सिर्जना हुने उनले बताए ।

    ‘बन्दाबन्दी खुलेलगत्तै रोजगारी गुमाएर १० लाख युवा नेपाल फर्किने प्रक्षेपण छ । यसर्थ कृषिमा जोड दिँदै आपतकालीन प्याकेज सरकारले तत्काल लागू गर्नु पर्दछ,’ उनले शुक्रबार भने ।

    ‘महामारी नभनी सत्ता र लुटको फोहरी खेलमा रमाइरहे स्थिति भयावह बन्नेछ । किनकी युवाहरूले मेरो सरकार कहाँ छ भनेर सोधीखोजी गर्नेछन् ।’

    १३१ औं अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना दिने क्रममा राप्रपा अध्यक्ष राणाले यस्तो धारणा सार्वजनिक गर्दै सरकारलाई सजग गराएका हुन् ।

    शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकहरूमा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको हकहित, सुरक्षा र सफलताका लागि उनले ऐक्यवद्धता जाहेर गरेका छन् ।

    ‘महामारीको कठिन घडीमा मानव समाजमाथि चुनौती ठूलो छ । समय कठिन छ, श्रमिकहरूको विशिष्ट समस्या एकजुट भएर निदान गर्नु परेको छ,’ शुभकामना सन्देश जारी गर्दै उनले भने ।

    बन्दाबन्दीको समयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको भन्दै शिक्षादिक्षाको क्रम सुचारू गर्न सरकारले तदरूकताका साथ सहयोग गर्नु पर्नेमा उनले जोड दिए । विद्यार्थीका लागि अनलाइन सेवा निशुल्क गर्नु पर्ने उनको सुझाव छ ।

    ‘बन्दाबन्दीका कारण अनलाइन कक्षा संचालन गर्नु परेको छ । विपद्को समयमा शिक्षालाई सुचारू राख्ने नवीनतम प्रयासमा सरकारको जोडबल आवश्यक छ,’ उनले भने ।

    ‘पढ्ने पढाउने प्रयासमा सघाउ गर्दै विद्यालय र विद्यार्थीबीच इन्टरनेटको सुविधा सुढृद र निशूल्क बनाउन आवश्यक छ । सरकारको इच्छाशक्तिकै सवाल छ,’ उनले भने ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …