• काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ ।

    त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ ।

    उपकुलपति प्राडा तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए । प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ । कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ ।

    अहिलेसम्म त्रिविमा केन्द्रीय विभाग र उपत्यकाका क्याम्पसहरूमा सबै विषयमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको छ । त्रिविमा सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको काम डिन कार्यालयहरूबाट हुँदै आएको छ ।

    तर, पर्याप्त पूर्वाधार विकास नहुँदा समयमै परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको छैन । देशभरमा सेमेस्टर प्रणाली लागू भएपछि कसरी समयमै सेमेस्टरको चक्र पूरा गर्ने भन्नेमा प्राध्यापकहरू चिन्तित छन् ।

    त्रिवि उपकुलपति खनियाँले डिन कार्यालय व्यवस्थित बनाउँदै लैजाने बताए । डिन कार्यालयमा आवश्यक हुने जनशक्ति तथा अन्य पूर्वाधार थपिँदै लगेको खनियाँले बताए ।

    सिस्टम परिवर्तन हुँदा व्यवस्थित हुन समय लाग्ने र त्यसका लागि ओरियन्टेसनलगायतका काम गर्दै आएको उनले बताए । उपत्यकाबाहिरका क्याम्पसमा समेत विभागको अभाव हुन नदिने बताए ।

    थोरै विद्यार्थी हुँदा पनि समस्या
    त्रिवि शिक्षाध्यक्षको कार्यालयले दिएको शैक्षिक क्यालेन्डर भत्काएर डिन कार्यालयपिच्छे फरक–फरक सेमेस्टर प्रणाली सञ्चालन भएको छ । कतिपय डिन कार्यालयले सेमेस्टरको परीक्षा सम्पन्न गर्न १० महिना लगाएका छन् । उनीहरूले समयमै परीक्षा सम्पन्न नहुनुमा निर्वाचनलगायत कारण देखाउने गरेका छन् ।

    व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको छ । त्रिविले स्नातकोत्तर तहमा केन्द्रीय विभागले सुरु गरेको सेमेस्टर प्रणाली उपत्यकाका आंगिक क्याम्पसमा कार्यान्वयन गरेको छ ।

    कसैले पहिलो सेमेस्टरको पढाइ गत वैशाखदेखि र कुनै क्याम्पसले असारबाट सुरु गरेको डिनहरूले जनाएका छन् । यसपटक सबै डिन कार्यालयले एकैपटक भर्ना प्रक्रिया सुरु गरेका छन् ।

    अहिले प्रथम सेमेस्टरको नयाँ भर्ना प्रक्रिया सबैले एकैपटक सुरु गरेका छन् । समयमै परीक्षासमेत लिन नसकेको त्रिविले नतिजा सार्वजनिकसमेत एकैपटक गर्ने जनाएको छ । (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…