उर्लाबारी । मोरङको उर्लाबारीमा म्याद गुज्रिएका खाद्य वस्तु छ्याप्छ्याप्ती भेटिने गरेका छन् । खाद्य वस्तुमा दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुसी वृद्धि गरेकाले उपभोक्ता मर्कामा परेका हुन् ।
आज उर्लाबारीमा बजार अनुगमन क्रममा उपभोक्तालाई अखाद्य बस्तु बेच्ने गरेको पाइएको हो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बराल, जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि, नाप तौल तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, इलाका प्रहरी कार्यालय प्रतिनिधि र सञ्चारकर्मीहरु समेतको टोलीले पसलहरुको अनुगमन गरेको थियो ।
उर्लाबारी–७ को दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा अनुगमनको क्रममा मिति सकिएका पर्यपदार्थ, तेल तथा लेवल नहालिएका विष्कुट भेटिएको थियो । उक्त पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, उर्लाबारी–६ को अजय किराना पसलमा २० रुपैयाँ पर्ने नुनलाई २२ रुपैयाँमा बेचेको पाइएको छ । सो पसलमा डावर च्यावनप्रसलगायत थोरै परिणाममा मिति सकिएका खाद्य पदार्थ भेटिएको थियो । उक्त पसललाई कडा निर्देशन दिएको प्रमुख बरालले जानकारी दिनुभयो ।