• भच्चेक (गोरखा) :  परदेशमा पसिना बगाएका पूर्वलाहुरे बुढेसकालमा आलिशान महलमा भेटिनुपर्ने हो । धेरैको अपेक्षाविपरीत अजिरकोट गाउँपालिका–२ खरिबोट सिस्नेका साबिर पाख्रिन(सम्धी) ओढारमा भेटिए । भारतीय सेनामा कार्यरत पाख्रिन ६० बर्ष अघि पहिलो छुट्टीमा घर फर्केपछि नोकरीका लागि फर्केनन् ।

    भच्चेक बजारनजिकै नेपाली सेनाको ब्यारेक छेउ भीरमा रहेको ओढारमा पाख्रिनको दैनिकी ४० बर्षदेखि चलिआएको छ । साँघुरो ओढारको बीचमा अगेना छ भने छेउमा ओछ्याइएको बोरामाथि उनी सुत्छन् । लाज ढाक्ने कपडाबाहेक पाख्रिनको आङमा अरू केही छैन । ओढ्न एउटा कम्मल छ । सम्पत्तिको नाउँमा थोत्रो ताप्के र पानी राख्ने जग मात्रै छ, उनीसँग ।

    भच्चेकका स्थानीय बासिन्दा प्रदीप शेर्पाका अनुसार पाख्रिन नागरिकता बनाउन मान्दैनन् । ‘नागरिकता बनाइदिन पाए वृद्धभत्ता पाउने थिए, गुजारा चल्थ्यो’, उनले भने, ‘पहिले सेनामा भर्ती हुन नागरिकता नचाँहिने, पेन्सन थाप्ने बेला बुझाउनुपथ्र्यो । छुट्टीमा घर फर्केका पाख्रिन नोकरीमा फर्किनुको सट्टा लेकमा गोठ बस्न गएछन् ।’

    लेकमा गोठ बस्दाबस्दै पाख्रिन मानसिक रोगी भएका थिए । ‘जग्गाजमिन प्रशस्त थियो । घर थियो, परिवार थियो तैपनि पाख्रिन घर बसेनन् । ओढारमै रमाए’, शेर्पाले भने, ‘ओढार चहार्दै हिँड्छन्, एकै ठाउँमा बस्दैनन् । धेरैजसो भच्चेककै ओढारमा देख्छु ।’ परिवारले वास्ता नगर्दा पाख्रिनको उपचार समयमै हुन सकेन ।  उनी भोकै बस्छन्, तर चोरी गरेर खाँदैनन् । भच्चेकका अर्का स्थानीय हरिनारायण श्रेष्ठ भन्छन्, ‘गाउँलेहरूले माया गरेर खानेकुरा दिएपछि सट्टामा पाख्रिनले छोराछोरीले घर भरिउन भन्ने आर्शीवाद दिन्छन् । नयाँ लुगा दियो भने फ्याँकिदिन्छन् । कसैलाई गाली गरेको सुनेको छैन ।’ निगालोको डोको, थुन्से, फड्के बुनेर कहिलेकाहीँ गाउँलेलाई उपहार दिन्छन् ।

    पाख्रिनले आफू ४० बर्षदेखि ओढारमा बसेको बताए । उनी प्रष्टसँग बोल्न सक्दैनन् । उनले भने, ‘मेरो घर नै ओढार हो, यहाँ बसेको ४० बर्ष भयो ।’ अजिरकोट गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष तयाराज गुरूङका अनुसार पाख्रिनले पैसा पाए भने आगोमा पोल्छन् । उनले नागरिकता लिएको वा नलिएकोबारे अजिरकोट गाउँपालिकाले खुलाउन सकेन ।

    वडाध्यक्ष गुरूङ भन्छन्, ‘सबैले बलेको आगो ताप्ने रहेछन्, वृद्ध भइसकेका पाख्रिनको हेरचाह परिवार र आफन्तबाट भएन । गाउँपालिका र वडा कार्यालयले पाख्रिनलाई ओढारबाट घरमा फर्काउन सकेको छैन । प्रयास गर्दैछौं ।’




    प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…