बैसाख ३०, दाङ / अन्याय जसै भो जगतमा आगो तिमी बन्दथेउ , बैरीले जब पिर्दछ जनता योद्धा तिमी भन्दथेउ ।
पाए दु:ख निकै दबाब जनले स्वतन्त्रता खोसियो , लम्केउ निकै कठोर पथमा नौलो बिहानी तब भो ।
स्मरणीय ज्ञात-अज्ञात शहिदहरू, रात र दिन नभनि सबैको भलोका लागी लड्ने वीर योद्धाको रगत र पसिनाको जीउदो उदाहरण हो लोकतन्त्र ।
करिब ७० वर्ष अघि, विद्यार्थीहरुका बर्गीय अधिकार संरक्षणका निमित्त अहोरात्र लड्दै जनताको स्वतन्त्रता ,सार्बभौमिकता रक्षा गर्दै रैतिबाट नागरिक बनाउने अभियानमा खटिएर नै जन्मिएको हो लोकतन्त्र । पन्चायती कालरात्री विरुद्ध अबिचलित रुपमा निरन्तर लडेर बिजय प्राप्त गर्ने अग्रज प्रति उच्च सम्मान ।
नेपालको इतिहास हेर्ने हो भने सेन काल ,मल्ल काल, लिच्छवि काल ,राणा काल ,पञ्चायत काल हुँदै गणतन्त्र आयो। पहिले लोकतन्त्र थिएन ,जनतालाई दबाबमा राखिएको थियो । सबै सामन्ती शासक लाई हटाइ लोकतन्त्र स्थापना भयो । एउटा राजा हटाएर के भयो अरु सबै आम जनता राजा हुन पुगे । जनताले आफुले रुचाउने नेतृत्वदायी कार्यकर्ता लाई देश को अभिभारा दिए । सर्बहारा प्रर्तीको नेतृत्व गर्ने सपथ लिएका अग्रजहरु सत्तामा पुगेपछी करोडौंको भ्रष्टाचार गर्न थाले , उनिहरु देसमा दण्डहीनता बढ्नुको कारक हुन पुगे । क्रुर शासन हुने देश कोरिया ,क्युबा र अन्य केही राष्ट्र, बाहेक अरु जताततै लोकतान्त्रिक सरकार भएकोे र बिकाश पथ उच्च भएकोले पनि सबैको चाहना स्वतन्त्रता बन्न पुग्यो तर दिन प्रतिदिन देखिने राजनैतीक अस्थिरताले जनतामा निराशा मात्रै छायो ।
संघीय गणतान्त्रिक सरकार वितेको सवा दुई बर्ष भैसकेको छ तर नेपालीको रगतमा गणतन्त्र र संघीयताको बिउ उब्जिएको छैन । जस्तो बिउ हुन्छ त्यस्तै बाली हुन्छ। जस्तो खेत हुन्छ त्यस्तै बिउ चाहिन्छ। खेत अनुसारको बिउ र बिउ अनुसारको बाली नै खेती पद्धति हो । मानिसले तराईमा जुम्लाको स्याउ फलाउछु भन्नु र हिमालमा धान फलाउछु भन्नू मुर्खता हो तसर्थ देश बिकाशलाई ध्यानमा राख्ने हो भने एउटा सहि नेतृत्व र सहि परिपार्टी मिलाउनु आवस्यक छ । नेपालको प्राकृतिक धार्मिक बिबिधता विश्वमाझ एक अनुपम उदाहरण छ । यशको सहि परिचालन नहुनु ,भुगोल अनुसारका अनुसन्धान र बिज्ञान नहुनु आफैमा दुःखद् कुरा हो ।
संघीय ब्यवस्थाले कर्मचारीतन्त्र ध्वस्त हुन पुग्यो, जनताले सेवाप्रवाहमा दु:ख खेप्दै गए। स्थानीय जनप्रतिनिधिहरू भ्रष्ट छाडा हुदै गए। शिर देखि पैतालासम्मका सबै सरकारहरू भ्रष्टाचारमा चुर्लुम्म लिप्त र थामिनसक्नु दुर्गन्धित हुदै जनतामाथि पिडा थपिदै गयो। कोही संरक्षक-नेता जनताले महसूस गर्न सकेनन्। असल नेतृत्व गर्न चुनिएका प्रतिनिधि करोडौंको भ्रष्टाचार गर्न थाले। सुन तस्करी देखि गाजा तस्करी , १ करोड देखि ७०करोड , शिक्षा देखि अस्पताल, विद्युत देखि जल ,विमान देखि चार पाङ्ग्रे जताततै भ्रष्टमा देशका नेतृत्वकर्ता कै नाम आउन थाल्यो । अरुको त के कुरा गर्नु एस्तो बिस्वब्यापी रूपमा फैलिएको कोरोना को रोकथाम गर्ने बेलामा पनि अनेकौं कालाबजारी , औसधि किन बेचमा भ्रष्टाचार देख्न पाउनु देशको निकै दुर्बल पाटो हो ।
नांगो भ्रष्टाचारका अनेक अटूट श्रृंखलाहरु बढिरहे काम अनियन्त्रित हुदै जॉदा सरकार अलोकप्रिय मात्र बनेन, जनताको निरन्तर घृणाले देशमा संकटमाथि संकट थपियो। संघीय संविधान बनेपछिको पहिलो संघीय सरकारको प्रधान नेतृत्वले परम्परा स्थापित गर्ने, सुसंस्कार बसाल्ने, ब्यवस्थालाई उन्नत र आफूलाई समन्वयकारी बनाउन हरतरहको प्रयत्न गर्नुपर्नेमा भ्रष्टाचार, गुटबन्दी, विकृति र अस्तब्यस्थतालाई मलजल गर्दै जादा संघीय गणतान्त्रिक ब्यवस्था नै ध्वस्त हुने सँघारमा पुगेको छ। जनताले नरूचाए वा घृणा गर्न थालेपछि सर्लक्क मार्ग प्रसस्त गर्नुपर्नेमा अथवा परिबर्तित देश बनाउनु पर्नेमा बूढो गोरूले कोरली गाई ओगट्ने चरित्र मात्र प्रदर्शन गर्नाले मुलुकलाई ठूलो दुर्घटनामा हुईँकाईरहेको प्रष्ट देखिदैछ।
नेपालको राजनीति, सरकार र कानुन विश्वमै सबैभन्दा कमजोर छ।नेतृत्वदायी कर्याकर्ता हरुको मनस्थिति नै कुहेपछि जस्तो सुकै राम्रो संविधान, असल कानुन र योजना ल्याए पनि कर्यकर्ताको लापरबाही,भ्रष्टाचारका गतिविधि हुने हुँदा यहॉ स्थिरता, बिकास र समृद्धि संभव हुने कुरै हुदैन।
सुदूर र मध्य पश्चिम लगायत विभिन्न जिल्लाका मजदूरहरूले नै काठमाण्डौमा आवश्यक पर्ने अधिकाँश श्रम धान्दै आएका रहेछन्। लकडाउनका बेला तिनले नपाउने दु:ख बेहोर्दै रूदै बालबच्चा बोक्दै घिस्रदै आ-आफ्ना जिल्ला घर गएका छन् । लकडाउनबाट तीनका मनमा परेको गहिको चोट र कष्ट सायद जिवनमा तिनले कहिल्यै बिर्सने छैनन्। नेपालको शासकहरु भने देशलाई ती दुखी पीडितहरु लाई राहत कसरी दिने भन्ने बारे चिन्तित हुनुपर्नेमा कसरी देशलाई आफ्नो अनुकुल चलाउन सकिन्छ । कसरी भ्रष्टाचार गरेर अरबौ अरब कमाउन सकिन्छ त्यसप्रति रातदिन चिन्ता गर्छ्न ।
देशमा अहिले कुनै उत्सव चलिरहेको छ? यस्तो विषम परिस्थितिमा सबै दल सबै नेपाली लाई एक बनाउनु पर्ने ठाउँमा हेर्नुस् त हाम्रो देश ।आज बिश्वको राजा मन्त्री प्रधानमन्त्री आफ्नो देशलाई कसरी संकटबाट मुक्त गराउ भनी सोच्दै छ्न तर हाम्रो देशका शाशक भने कसरी लुटौ भन्ने तिर लागिरहेका छन।
भारतले सिमा मिच्दै गर्दा सासक हरु मौन छन ।आफ्नो देशलाई बचाउनको निम्ति आवाज उठाउने देश प्रेमीहरुलाइ सजाय दिइन्छ ,कठै मेरो देश ।
हाम्रा पुर्बज हरुले हाम्रो लागि सुन्दर नेपालको सपनाहरू दिएर गएका छ्न ,दिनरात खटेर एउटा एस्तो बैभबसाली देशको जग खनेर गए अब हामीले त्यसमा भ्रष्टाचारको पिलर स्थापित गर्ने कि सुसज्जित देशको निर्माण गर्ने ! प्रकृतीले आफ्नो काखमा राखेको मेरो देश किन बत्ती मुनिको अध्यारो बन्न पुग्यो होला ? मनन गरौ !
(स्तम्भकार बन्दना भट्टराई गौरादह कृषि क्याम्पस बि. एस. सि. ए. जि. अध्ययनरत बिध्यार्थी हुन )
(यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक)