• काठमाडौं । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो ।

    स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।

    शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् ।

    ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्‍याइदिएका थिए । ‘मलाई केटाहरुले ५ सय रुपैयाँ थमाई ठेगाना दिएर पुऱ्याइदिनू भने ।

    ट्याक्सीमा बसेपछि ती युवती रुन–कराउन थालिन्,’ टेलिफोन सम्पर्कमा आएका ती चालकले भने, ‘उनले नजिकैको प्रहरी कार्यालयमा पुर्‍याइदिन अनुरोध गरिन् । उनी आत्तिएकी थिइन् । भक्कानिँदै रोएपछि मैले प्रहरी चौकीमा छाडिदिएँ । त्यसपछि के भयो, मलाई थाहा भएन ।’

    स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याए । स्रोतका अनुसार दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहान होटलसम्म पुगेर घटनास्थलको अवलोकन गरेका थिए । युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए ।

    युवतीले आफू पुराना कुरा सम्झिन नचाहने र ठूलो मानसिक तनाबमा रहेको बताइन् । उनले यति मात्रै भनिन्, ‘मैले दिएको लिखित निवेदन दर्ता भएन ।’

    कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार प्रहरी टोली होटल पुग्दा चारै जना केटा त्यहाँ थिएनन् । प्रहरीले ४ मध्ये चक्रपथ क्षेत्रमा बस्ने २ जनाको नाम पहिचान गरेको थियो भने १ जना मंगोलियन अनुहार र झट्ट हेर्दा प्रहरीजस्तै हुलियाको रहेको भन्ने सूचना मात्रै पाएको थियो ।

    घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे जानकारी पाएको थियो ।

    मिलेमतोको यो घटना थामथुम पारिएको र पैसाको चलखेल भएको भन्ने सूचनाका आधारमा प्रहरी परिसर, काठमाडौंले अनुसन्धान समिति गठन गरेको हो ।

    घटनामा दरबारमार्ग वृत्तको शंकास्पद भूमिका देखिएको भन्दै एसपी जोशीको नेतृत्वमा गठित समितिमा डिएसपीत्रय बेलबहादुर पाण्डे, शिखर खनाल र बसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् । (कान्तिपुर दैनिक)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…