पूर्वी सीमानामा पनि नेपाली भूमि कब्जा,
गोठ र होटल एसएसबीकै नियन्त्रणमा
पाँचथर । पश्चिम नेपालमा नेपाली क्षेत्रमानै भारतले अधिपत्य जमाईरहेको समयमा पूर्वी सीमाना पनि कब्जा गरेको खुलेको छ ।
पूर्वी सीमा अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमी भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) ले कब्जा गरेको हो ।
उक्त स्थान पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको वेष्ट बंगालसँग सिमाना जोडिएको क्षेत्रमा पर्छ । पछिल्लो समयमा सार्वजनिक भएको नक्सा बमोजिम सीमाक्षेत्रको नेपाली भूमी भारतमा परेको भन्दै एसएसपीले कब्जा जमाएको छ ।
फालेलुङ गाउँपालिकाका प्रवक्ता जीबन राईका अनुसार एसएसबीले सो क्षेत्र कब्जा गरेको जानकारी पाउन साथ उनिहरु सँग गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वको टोलिले वार्ता गरे पनि उनिहरुले सो क्षेत्र छाड्न मानेका छैनन् । सीमा स्तम्भ भन्दा करिब चार सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको राईले जानकारी दिए ।
एसएसबीले कब्जा गरेको जमिनमा एउटा जंगे पिल्लर र तीन ओटा सिमास्तम्भ छन् । एसएसपीले नियन्त्रणमा लिएको जमिनमा नेपाली नागरिकले एउटा होटल र एउटा गोठ सञ्चालन गरेका छन् । गोठ र होटल पनि एसएसपीकै नियन्त्रणमा रहेको बताइएको छ ।