विराटनगर / बालिकालाई बलात्कार गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तुमकुमार लिम्बू पक्राउ परेका छन् । परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै लिम्बूले १५ वर्षीया बालिकालाई आफ्नै घरमा बोलाएर बुधबार बिहान बलात्कार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए । बालिकालाई लिम्बूले घरको कोठा भित्र लग्दै ढोका थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईको भनाइ छ ।
बलात्कारपछि फरार बनेका उनलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रनि राईले बताए । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ ।