तेजन खड्का
उर्लाबारी । निक्कै दुःखकष्टका साथ अथक मेहेनत र परिश्रम गरेर हाल स्वाभलम्बी बनेका युवाको नाम हो, सुन्दर श्रेष्ठ । साबिक मोरङ राजघाट—७ खोपिँडाडा हाल उर्लाबारी—९ जहाँ उनी हुर्किए । बाल्यकालमा छरछिमेकका छोराछोरी नयाँ कपडा अनि सजिसजाउका साथ विद्यालय जाँदा उनी भने घरको दयनीय अवस्थाका कारण खाली खुट्टा विद्यालय जान्थे । प्रभात निमावि खोपिँडाडा जहाँ उनले प्रावि तहसम्मको शिक्षा हासिल गरे । विद्यालय भौतिक संरचनाको स्थिति खासै राम्रो थिएन रे त्यति बेला । जुनबेला उनी त्यहाँ पराल ओच्छ्याएर अध्ययन गरेको अतित स्मरण गर्छन् । विद्यालयमा पढेर आउँदा पनि घरमा सोचे जस्तो सहज थिएन, गृहकार्य गर्ने समय खेताला, गोठाला गर्नु पथ्र्यो । धनिमानि टुकी बालेर पढ्थे, सुन्दरको घर अध्यारो नै थियो । विद्यालयबाट घर फर्किएपछि खेल्ने रमाउने समय नै पाउन मुस्किल थियो । अहिलेको बालबालिकाको जस्तो समय थिएन रे ! त्यतिबेला । एक भारी घास काटेर घरमा ल्याउनु पथ्र्यो । गाईबस्तु चराउनु पथ्र्यो । अनिमात्र खान पाइन्थ्यो । सुन्दरको उमेर बढ्दै गयो, जिम्मेवारी पनि थपिदैं ।
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोर अवस्थामै काठमाडौँ हानिए सुन्दर । काठमाडौं उनका लागि सहज थिएन्, आमाले खोजखाज गरेर दिएको ९ सय रुपैंयाँ लिएर काठमाडौं आएका सुन्दरले कम्ता दुःख भोग्नुपरेन ।
उनी कामको खोजीमा भौतारिए, अँह काम भने पाउन सकेनन् । एक ठेकेदारकोमा काम माग्न गए, उनले काम पाउन त पाए । तर अनविज्ञ नै थिए । काम आउँछ भनेर सोध्दा आउँछ भनेका थिए कतै रोजगार गुम्छ कि भनेर उनले । उनलाई काम गर्न भनियो । काम थियो गिटी चाल्ने । उनले मालिकलाई खुशी पार्न त्यस दिन यति काम गरेछन् कि मालिक नै दंग परे । 'दिनभर काम गर्दा झण्डैं एक गाडी नै गिटी चालेछु' सुन्दरले भने । उनको काम देखेर उनका मालिकले काम पक्का गरिदिए, स्याबासी पनि दिए । 'केटो मेहेनती रैछ, लु भोलिदेखि तेरो काम पक्का भयो', त्यतिबेला साहुले भनेको क्षणस्मरण गर्छन् सुन्दर । लेबर हुँदै कमाउदैं बचत गर्दै उनी ठेकेदारसम्म भए । तर पनि उनी आफूलाई अझैं एउटा लेबरको उपमा दिन्छन् । भन्छन्, 'काम यो ठुलो यो सानो भन्ने हुँदैन, मेहेनत परिश्रम र लगनशीलता आवश्यक छ ।'
सुरुमा काठमाडौँ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिक लिएर ज्याला मजदुरी सुरु गरेका थिए । निर्माण क्षेत्रमा ज्याला मजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति आयो । परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जन्मे हुर्केका श्रेष्ठको बाल्यावस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाइमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाडौँ हानिएका थिए ।
उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन् । आफू स्थापित भएपछि उनले थुप्रैलाई रोजगार पनि दिएका छन् ।
काठमाडौँमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठको मेहनत सफल हुँदै गयो । अलिअलि कमाउन पनि थाले । र उनी आफूले साँचेका सपनाहरुलाई पुरा गर्न हाल क्रियाशील छन् । उनको सपना थियो, समाजसेवा जुन देखावटी होइन्, सच्चा मन र भावनाले गर्नुपर्छ । उनले आफ्नो जन्मे, हुर्केको गाउँबाट आफ्नो समाज सेवाको यात्रा थालनी गरे । गाउँ आउन साथ गाउँका साथीभाइलाई सोधे के आवश्यक छ गाउँमा । कमल फ्याक, कैलाश थापा मगर लगायतका स्थानीय युवाहरुले खेलकुदमा सहयोग गर्न आग्रह गरे । उनले ५० हजार भन्दा बढि रकम खर्च गरेर खेलाडीलाई फुटबल लगायत खेल अभ्यासमा चाहिने सबै सामग्री सहयोग गरे । जसबाट नवप्रतिभाशाली खेलाडीलाई थप हौसलाका साथ सहजता भयो ।
उनी आफू जन्मे, हुर्केको गाउँ आए, तर गाउँ उस्तै देखे । जतिबेला उनी लाउँ–लाउँ र खाउँ–खाउँको उमेरमा बाध्यतावश काठमाडौँ हान्निएका थिए । बाटो उस्तै छ, गाउँ उस्तै छ फरक यति देखे पहिलेको तुलनामा अलि हरियाली छ । शहरको झलमल्लमा बढो दुःखका साथ स्थापित भएका सुन्दरले गाउँ भने अन्धकार देखे । चाडवाडको समयमा नि गाउँ अन्धकार छ, शान्ति सुरक्षा, दुर्घटना र चोरीको जोखिम देखे उनले । र उनले युवाहरुसँग सल्लाह गरेर गाउँमा पोल पोलमा सडक बत्ति जडान गरिदिए झण्डै ३ लाख लागतमा । बत्ति जोडिएपछि गाउँ झलमल्ल भयो । बाटो हिन्ने यात्रुहरुलाई निक्कै सहजता भयो । बिहान झिसमिसेमा क्याम्पस जाने विद्यार्थीलाई निक्कै काइदा भयो, भइरहेको छ । उनले आफ्नो गाउँमा मात्र नभएर वरपरका गाउँमा पनि सहयोग गरे । छिन्ताङे टोल, सेम्बुटोलमा पनि उनले सडक बत्ति सहयोग गरे । जुन बत्तिले अन्धकार रातलाई उज्यालो पारेको छ । गाउँमा भजन किर्तन, मरिमराउ साह्रो, ग्राहो पर्दा निस्किनेलाई निक्कै रातह मिलेको छ ।
उनी त्यसपछि पुगे आफू अध्ययन गरेको विद्यालय प्रभात निमाविमा । पहिलेको तुलनामा उनले केही परिवर्तन देखे । होलीको समस्या भने यथावत नै थियो । त्यतिबेला उनी पढ्दा कक्षाको मुनिबाट होलीको पानी कुद्थ्यो । होलीको कारण विद्यार्थीमा दुर्घटनाको उच्च जोखिम देखे । विद्यालयको मैदानमा नै खोलो कुद्थ्यो । बर्खाको समयका विद्यार्थी डुब्ने अत्यन्तै जोखिम थियो । गाविस र अन्य ब्यक्तिको सहयोग आउने कुरा भएपनि निर्माणको काम थालनी भने भएको थिएन, उनले त्यहाँ ५० हजार सहयोग गरे । त्यसपछि गाविस र केबीआई ग्रुपको सहयोगमा पर्खाल निर्माण भयो । जसको कारण दुर्घटनाको जोखिम टर्यो ।
त्यसपछि उनले झण्डैं ३ लाख लगानीमा बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सोही विद्यालयमा मञ्च बनाएर हस्तान्तरण गरे । जहाँ स—सना भाइबहिनीहरुले आफ्नो प्रतिभा देखाउन पाउन भनेर, अन्य कार्यक्रमको लागि पनि सहज होस् भनेर । त्यतिमात्र होइन, विद्यालयको आम्दानीको लागि उनले रुद्राक्ष लगायत विभिन्न प्रजातिका विरुवा रोपिदिए । त्यतिमात्र होइन, उनले उर्लाबारी—९ को राजघाट निमाविमा पनि गेट बनाइदिए । जहाँ घेराबारा भएपनि आर्थिक समस्याले गेट भने बनेको थिएन । विद्यालयले उनको सहयोगवापत उनलाई सम्मान पनि गरेको छ ।
सुन्दर आफ्नो गाउँको समस्यालाई आफ्नै समस्या सम्झिन्छन् । भन्छन्, 'आफ्नो खुट्टामा उभिन सक्ने भएपछि गाउँको समस्यामा सहयोग गरेको हुँ ।' उनले पुनः थपे, 'धन भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ । मानिसलाई जति धन भएपनि पुग्दैन तर आत्मसन्तुष्टि चाहिन्छ, मरिलानु केही छैन ।' 'सकुन्जेल सहयोग गर्नेछु, अझै सेवा गर्न आफ्नो पेशामा निरन्तर परिश्रम गर्नेछु । जसको कारण आफुलाई समाजसेवा निरन्तर लागिरहन सजिलो होस्' उनले भने ।
उनले आफ्नो निजी लगानीमा गाउँमा झण्डै एक किलोमिटर बाटो निर्माण पनि गरिदिएका छन् । जसको कारण हिडडुलमा सहजता मात्र भएको छैन्, बिरामी हुँदा छरछिमेकको आगनमै एम्बुलेन्स आइपुग्छ । आफ्नो गाउँमा मात्र नभएर उनले अन्य ठाउँको मठमन्दिर, सांस्कृतिक कार्यक्रममा पनि सहयोग गर्ने गरेका छन् । सकारात्मक सोच र गाउँ–ठाउँको विकासका लागि केही गरौँ भनेर सहयोगको याचना गरेर आउने जो कोहीलाई अहिलेसम्म खालीहात फर्काएका छैनन् सुन्दरले । भर्खरै मात्र उनले आफ्नो वडा खेलाडीको लागि टिम सेटलाई पुग्ने ट्रयाक सुट पनि सहयोग गरेका छन् ।
हाल उनले नयाँ योजना पनि बनाएका छन् । जो आर्थिक अभावकै कारण विद्यालय जान बन्चित नहोउन् भनेर । जसका लागि उनले विपन्न परिवारका छोराछोरीलाई पठन पाठनका लागि छात्रवृत्ति दिने सोच व्यवस्था गर्दैछन् । जुन योजना उनी विद्यालयसँग सरसल्लाह गरेर सम्पन्न गर्ने तयारीमा छन् । उक्त सहयोगले विद्यार्थीलाई लत्ता कपडा, स्टेशनरी र परीक्षा शुल्क समेत तिर्न पुगोस् । पढ्न मन हुनेले शिक्षाको ज्योतीबाट बञ्चित बन्नु नपरोस् ।
बिहानै उठ्नु, भगवानको पूजाआजा गर्नु उनको दैनिकी हो । त्यसपछि उनी काममा खट्ने गर्छन् । दिनभरी काममा खटेपछि उनी चाँडै घर फर्किन्छन्, साँझ केही समय समाचारको लागि सामाजिक सन्जाल हेर्छन् । र परिवारलाई समय दिन्छन् । छुट्टी मिलाएर केही समयको लागि गाउँ जान्छन् अनि केही सामाजिक काम गरेर फर्किन्छन्, उनको आजभोलिको दैनिकी यस्तै छ ।
श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोगप्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गरेका छन् । आमा भद्रकुमारी भन्छिन्, 'मेरो कान्छाले आफ्नो नाम राख्यो, समाजमा मान्य–गुन्य भयो भने मलाई खुशी लाग्छ ।' हिजोका दुःख र भोग्नु परेका पीडा सम्झिदैं आमा भद्रकुमारी पुनः भन्छिन्, 'कान्छाले निक्कै दुःख गरेर केही स्थापित भएको छ, त्यसको मन ठुलो छ । त्यसलाई सधैँ खान पुगोस् दिन पुगोस् मेरो शुभकामना छ ।'