भद्रपुर । बन्दाबन्दीले जीवन गुजारा गर्न धौधौ परेका अति विपन्न ४ सय परिवारलाई एक्सल डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारीले खाद्यन्न राहत स्वरूप वितरण गरेका छन् ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्मचारी युनियनले आफ्नो कार्य क्षेत्र भित्रका अति विपन्न परिवारलाई प्रतिपरिवार २० किलो चामल, ५ किलो आँटा, २ लिटर तेल, २ किलो नुन, एक किलो मुरही, २ प्याकेट मसला, २ प्याकेट बेसार र २ किलो चिउरा राहत स्वरूप वितरण गरेका हुन् ।
बन्दाबन्दीले रोजगारी गुमेका दैनिक ज्यालादारी गरेर जीविका चलाउने परिवार मध्ये अति विपन्नको सूचिमा रहेकाको पहिचान गरी स्थानीय सरकारसित समन्वय गरेर कर्मचारी युनियनले राहत बाँडेको हो ।
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको बैंकका झापा मोरङ, इलाम लगायत प्रदेश १ मा ३७ वटा शाखा मार्फत कर्मचारी युनियनले राहत बाँडेको भद्रपुर २ सोमवारे शाखाका प्रमुख राजशंकर झाले जानकारी दिए । शाखा प्रबन्धक झाका अनुसार भद्रपुर नगर क्षेत्रमा रहेका ३ वटा शाखाले अति विपन्न परिवारका ४० घर परिवारलाई एक महिना धान्ने गरी खाद्यान्न प्रदान गरिएको छ । भद्रपुर नगरमा रहेका १० वटा वडा भित्रका प्रत्येक वडाबाट ४ जनाका दरले ४० जनालाई खाद्य सहयोग गरिएको हो ।
बैंकमा कार्यरत कर्मचारीको २ दिनको तलव विपन्न परिवारका लागि गाँस जुटाउन सहयोग गरिएको युनियनले जनाएको छ । जसमा आइतवार मात्र विर्तामोड नगर क्षेत्रमा ४५ परिवार, कन्काईमा ४०, भद्रपुर ४०, महेन्द्रचौक विराट नगरबाट ११ परिवारलाई खाद्यानन सहयोग गरिएको जनाइएको छ ।