काठमाडौँ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ ।
प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो ।
महाराजगन्ज वृत्तमा राखिएका ती युवकलाई दरबारमार्ग वृत्तबाट खटिएको सई नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो ।
सोही रात उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । एक रात दरबारमार्ग वृत्तमै राखिएका ती युवकलाई आइतबार बिहानै सुटुक्क छाडिएको थियो ।
प्रहरीले यस घटनालाई गुपचुपराखेको थियो । दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीले सोमबार उक्त घटनाबारे आफूकहाँ कुनै केस नआएको दाबी गरे पनि पछि उक्त घटनामा दुवै पक्ष आफैं मिलेको भन्ने सुनेको बताएका थिए ।
गत बिहीबार राति काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा चार जनाको समूहले एक युवतीलाई ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको रहस्य सोमबार मात्रै खुलेको हो ।
त्यसलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
स्रोतका अनुसार राति आफ्नो प्रेमीसहित होटलमा बस्न गएकी ती युवतीलाई अबेर राति उनीहरू बसेको होटलको कोठामा आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।
शुक्रबार बिहान करिब ८ बजे ती युवाले युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले ट्याक्सी चालकलाई आफू बलात्कृत भएको बताउँदै प्रहरीकहाँ लगिदिन आग्रह गरेकी थिइन् । चालकले ती युवतीलाई कमलपोखरी वृत्त पुर्याइदिएका थिए ।
उच्च स्रोतका अनुसार युवतीले नै केटालाई छुटाएर लगेको कागज गरेर घटना थामथुम पार्ने प्रयास गरिएको छ । स्रोतका अनुसार दरबारमार्ग वृत्तका मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसहित अर्का एक सईले आर्थिक लेनदेन गरी मिलाउन भूमिका खेलेका थिए ।
ठकुरी तिनै इन्स्पेक्टर हुन् जो एक वर्षअघि मात्रै दरबारमार्ग वृत्तबाट सरुवा भएर कालिमाटी वृत्त पुगेका थिए । कालिमाटीबाट सरुवा भएर बालाजु वृत्त पुगेका उनी पहुँच प्रयोग गर्दै करिब ३ महिनाअघि काजमा दरबारमार्ग वृत्त फर्केका थिए ।
घटना सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले ठकुरीलाई छानबिनका लागि भन्दै महाराजगन्जस्थित २ नम्बर गणमा तानेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार सामूहिक बलात्कार घटनाबारे प्रहरी प्रधान कार्यालयले गम्भीर चासो राखेर अनुसन्धान थालिसकेको छ ।
बलात्कारमा परेकी २२ वर्षकी युवती करिब ७ महिनाअघि एक युवकसँग फेसबुकमार्फत सम्पर्कमा पुगेकी थिइन् । त्यही चिनजानी भेटघाट हुँदै प्रेममा परिणत भएको थियो । प्रेमीको भर परेर उनी गत शुक्रबार होटलमा बस्न पुगेकी थिइन् ।
उच्च स्रोतका अनुसार घटनामा मुछिएका चारै जना युवा फरार छन् । प्रहरीले तीमध्ये दुईको पहिचान गरे पनि त्यो खुलाएको छैन । प्रहरी परिसर, काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको छानबिन समीतिले घटनाबारे छानबिन थाले पनि कसैसँग बयान सुरु गरिसकेको छैन ।
बलात्कारपछिका घटनाबारे जानकार एक प्रहरी भन्छन्–
कमलपोखरी वृत्तमा आउँदा युवती रोइरहेकी थिइन् । उनी विक्षिप्त अवस्थामा थिइन् । उनको पीडा वनावटी थिएन । उनले आफू सामूहिक बलात्कारमा परेको र केटाहरू होटलमै रहेको भन्दै तुरुन्तै पक्राउ गर्न अनुरोध गरेकी थिइन् ।
लगत्तै वृत्तबाट ती युवतीलाई लिएर दुईवटा गाडीसहित प्रहरी टोली होटलमा पुग्दा केटाहरू भागिसकेका थिए । सीसीटीभी फुटेज हेर्दा केहीबेरअघिसम्म केटाहरू होटलमै रहेको देखियो । टोलीले होटलको कोठा पनि निरीक्षण गरेको थियो ।
त्यसको केहीबेरमै दरबारमार्ग वृत्तको टोली पनि आइपुग्यो । दरबारमार्ग वृत्तको टोलीले पनि सीसीटीभी फुटेज हेरेको थियो । कमलपोखरी वृत्तको टोली दरबारमार्ग वृत्तका प्रहरीलाई सबै कुरा बताएर फर्कियो । त्यसपछि के के भयो थाहा भएन । (कान्तिपुर दैनिक)