• तेजन खड्का

    उर्लाबारी  । एकजना होईन, दुई जना होईन एउटै परिवारका पाँच जना जवान छोराछोरी सुस्त मनस्थितिका हुँदा कस्तो पीडा हुँदो हो ? मोरङ इटहरा–७ सिक्किमे टोलका तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरी छन् । तपाई एकचोटी त्यहाँ पुग्नुभयो अवश्य रुनुहुन्छ । उनीहरुको स्याहार सुसारमा दिनरात खट्नु पर्दा कम्ता दुःख भोग्नु परेको छैन् ढुङ्गाना दम्पतीले ।

    यी दम्पतीका छोरीछोरी ३८ वर्षीय निर्मला, ३६ वर्षीय निर्मल, ३२ वर्षीय उमेश, २३ वर्षीय पार्वता र २१ वर्षीय गोमा जन्मजात सुस्तमनस्थितिका जन्मिए । त्यसैले यस्तो कष्टपूर्ण जीवन जिउनु परेको हो । सुस्तमनस्थिति जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामान्य नहुने बुझिसकेका थिए । भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन् तर यी ढुङ्गाना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्ति ५ जना छोराछोरीका गोठालोसरह भएका छन् ।

    भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन, उनले भने, आफ्नै घाउ कोट्याएर खान्छन् । फोहोरमै खेल्छन् । बढो पीर छ । सन्तान सुस्तमनस्थितिका जन्मँदै जाँदा ढुङ्गाना दम्पतीले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन् हेक्का पनि थिएन । यसको परिणाम अहिलेको जीवन कष्टकर छ । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई गाह्रो पर्छ ।

    सानो छँदा हेरविचारमा सहजै थियो, सृजनाले भनिन, ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो छ । सिर्जनाले सन्तान रिसाएको र खुसी भएको मात्र थाहा पाउन सक्छिन् । उनीहरुको अन्य इसारा बुझ्न सक्दिनन् । बिरामी भए भनेपनि भन्न नसक्ने छोराछोरी अनुमानको भरमा उपचार गर्न सकिनसकी लैजान्छन् ।

    कहिले काहिँ त के भन्न खोजेको हो बुझ्दैनौं, लडीबढी गर्छन् खान दिएको कुरा पनि पोखिदिन्छन्, ढुङ्गाना दम्पतीले एकै स्वरमा भने ।
    सुस्तमनस्थिती भएका छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर नहेरेकोमा उनीहरुको गुनासो छ । ढुङ्गाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनुपरेको छैन ।

    शारीरिक तथा मानसिक रुपमा समेत अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावरले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्याही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने गरेको आमा सृजना ढुङगानाले बताईन् ।

    ५ जना अपाङग छोरा छोरी स्याहार्दै आफ्नो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैनु, आमा सृजनाले गहँभरि आँशु पार्दै भनिन,– यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । छोराछोरी स्याहार्दै दिन बित्ने भएकाले खेत अधिया दिएका छौं । छोराछोरीलाई मिठो मसिनो लत्ता कपडा पुर्याउन गाह्रो भएको उनीहरुको भनाई छ ।

    अपाङ्ग छोराछोरी स्याहार्ने दुवैजना पनि आफैंमा स्वस्थ छैनन् । तुलसीरामको शरीरमा बल हराइसकेको छ । उनी पनि चिनी र क्षयरोगबाट पीडित छन् । तुलसीरामले भने, मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो । यस्तो पीडा त कसैलाई नहोस् दैव ।

    पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् । खाना खुवाएदेखि दिसा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् ।

    कहिले काहि त खाना छरेर हैरान पार्छन् । एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छु, तुलसीरामले भने, पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यिनलाई कसले स्याहारिदेला दैव ।

    राति एकजना उठ्यो भने हल्ला गरेर अरुलाई सुत्न दिदैैन । एक जना बोल्यो कि सबै उठ्छन् । उनीहरु निदाएपछि मात्र सुत्नु पर्ने भएकोले सुविस्ताले सुत्न पाईदैन् ।

    पाँच सन्तानले सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत प्रदत्त मासिक एक हजार अपाङ्ग भत्ता पाउँछन । सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गाना दम्पत्तिले आशा पालेका छन् । हाम्रा छोराछोरीको विजोग देखेर कठैबरी भन्ने मात्र छन्, सृजनाले भनिन्, संघ संस्थाका व्यक्तिहरु चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन् तर आजसम्म कसैले एक पैसो सहयोग गरेका छैनन् । तर मनकारीहरुले भने चामल,खानेकुरा तथा केही नगद बेला बेला सहयोग गर्दै आएको उनीहरुले बताएका छन् । तुलसीरामका अनुसार ढुङ्गाना दाजुभाइमा कहिँ कतै कसैलाई नदेखिएको समस्या उनलाई परेको हो । तुलसीराम गहभरी आँशु पार्दै भन्छन्, कुन जन्मको सजाय दियौं दैव । अब छोराछोरी कसरी स्याहार्ने होला ।

     

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…