• दोहा (कतार), १९ माघ ।  महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो ।

    घाइते नेम्वाङ त्यसै बेलादेखि कोमामा गएका हुन् । उनको थप उपचार नभए पनि हेरचाह भने अस्पतालले नै गरिरहेको छ । उनलाई नेपाल पठाउन अस्पतालले लामो प्रयास गरे पनि परिवारका तर्फबाट कोही पनि बुझ्न आएका छैनन् ।नेपाली दूतावासका अनुसार नेम्वाङका परिवार दूतावासको सम्पर्कमा छैनन् ।

    हमाद अस्पतालमा नेम्वाङसहित ११ नेपाली कोमामा छन् । यीमध्ये सबैभन्दा बढी समयदेखि कोमामा रहेका उनै हुन् । दूतावासका अनुसार हमाद अस्पतालमा कोमामा रहेका नेपालीमा नउलाखोर परासही–२ धनुषाका विन्दे मुखिया विन, शान्तिनगर–५ दाङका भक्तबहादुर रासकोटी मगर, अनिश गोसल जोगी, जर्मन मुखिया, देवीमान्डु–५ बैतडीका भरतराम यादव लावड, गोविन्दपुर–६ धनुषाका सन्तोषकुमार यादव छन् । त्यस्तै चौखवाङ–९ रुकुमका ललित बुढा, जंगवीर गुरुङ, सुकराज फहिम र चन्द्र गुरुङ कोमामा छन् ।

    नेपाल सरकारले जिम्मा नलिएपछि यी बिरामी स्वदेश पठाउन नसकिएको नेपाली दूतावासको भनाइ छ । हमाद अस्पतालले पटक–पटक दूतावासलाई बिरामीको जिम्मा लिन दबाब दिँदै आएको थियो । ‘हामीले सम्भव भएसम्म उपचार गरिदियौं, उनीहरूको डिस्चार्ज भइसक्यो,’ हमाद अस्पतालका एक अधिकारीले कान्तिपुरलाई भने, ‘नेपालबाट कुनै अस्पतालले उपचार गर्ने जिम्मासहितको पत्र पठाइदिए हामी पठाइदिन्छौं । खासमा यो नेपाल सरकारको दायित्व हो ।’ यसअघि परिवार आफैंले बुझ्न तयार भएपछि हमादले कोमामा रहेका ७ बिरामीलाई पठाइदिएको थियो । केही एजेन्टले भने वयोधालगायतका निजी अस्पतालसँग मिलेमतो गरी दूतावासलाई जानकारी नै नदिई बिरामी नेपाल ल्याएका छन् । यसरी ल्याउँदा सम्पूर्ण उपचारको आर्थिक भार बिरामीका परिवारलाई पर्ने गरेको छ । २ डिसेम्बर ०११ देखि कोमामा रहेका हरिचौर १, बाग्लुङका गिरीप्रसाद विककी श्रीमती कृष्णकुमारी भन्छिन्, ‘सरकारले जिम्मेवारी नलिएपछि आफैंले बिरामी ल्याएँ । हामीले पाएको क्षतिपूर्ति उहाँको थप उपचारमा सकियो ।’

    कोमामा रहेकालाई नेपाल ल्याउँदा सबैलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति छ । अस्पतालले बिरामी लैजान दबाब बढाएपछि दूतावासले पनि परिवारसँग सम्पर्क गर्दै आएको छ । परिवारका सदस्यहरू भने नेपालमा ल्याएर उपचार गर्न आफूहरू सक्षम नभएको बताउँछन् । आर्थिक अभावका कारण कोमामा रहेका बिरामी कतारकै अस्पतालमा रहन बाध्य भएको दूतावासका एक अधिकारले बताए । हमादले कोमामा रहेका बिरामी घर पठाउन नेपाल सरकारले जिम्मेवारी लिनुपर्ने बताएको छ । ‘बिरामीको क्षतिपूर्तिका लागि नेपाली दूतावासले मुद्दा लडिदिनुपर्छ । यो दूतावासको दायित्व हो,’ हमादमा कोमाका बिरामी हेर्ने एक केस म्यानेजरले भने, ‘हाम्रो जिम्मेवारी उपचार गरिदिने हो । उनीहरूलाई बाँचुञ्जेल उपचार चाहिन्छ ।’

    बिरामी नेपाल पठाउन अस्पतालले ‘मेडिकल स्कर्टिङ’ उपलब्ध गराउँछ । यसका लागि दुुई जना डाक्टर चाहिन्छन् । ‘विमान खर्च र नेपालको अस्पतालमा लाग्ने दुई महिनासम्मको शुल्क पनि हमादले नै दिन्छ,’ ती म्यानेजरले भने, ‘त्यसपछिको उपचारको जिम्मा भने नेपाल सरकारले लिनुपर्छ ।’ कोमाको बिरामीलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको एउटा समिति पनि क्रियाशील थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले त्यस्ता बिरामीको जिम्मेवारी लिन गृहकार्य भइरहेको जनाएको छ । ‘खाडी तथा मलेसियाबाट कोमामा ल्याइएका बिरामीको जिम्मेवारी तथा थप उपचार गर्न बजेट छुट्याइसकेका छौं,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गर्न पहल भइरहेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सुविधासहितको बेड उपलब्ध गराए त्यस्ता बिरामी ल्याउन सकिन्छ ।’ होम कार्कीले आजको कान्तिपुर दैनिकमा खबर लेखेका छन्  ।

    मलेसियामा कफी पिउँदा अचेत

    मलेसिया — कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन् । डुरियन फ्लेवरको दुई सानो प्याकेटको कफी मिसाई बाँडेर पिएका उनीहरू बिरामी परेका हुन् ।

    कफी पिएको करिब १० मिनेटमै उनीहरूलाई रिंगटा लागेको र कमजोर भई अचेतसमेत भएको मलेसियाली भाषाको अनलाइन पोर्टल कोस्मोले उल्लेख गरेको छ । ३१ र ४५ वर्षीय ती दुवैजना त्यहाँको पुलाउ तिकुसस्थित एउटा व्यापारिक भवनमा सुरक्षा गार्डको काम गर्छन् । ती दुईमध्ये एकजना अचेत भएका थिए ।

    बुधबार बिहान ९.३० बजेको उक्त घटनापछि उनीहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो । हाल उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनीहरूको परिचय खुलाइएको छैन । झट्ट हेर्दा नेपाली रुख कटहरजस्तो देखिने डुरियन उष्ण तापीय भूक्षेत्रमा फल्ने फल हो । रक्तचाप, मुटुसम्बन्धी रोगका बिरामीका लागि फलदायी मानिने यो फल कतिपय अन्य पदार्थसँग खाएमा ज्यानैसमेत जान सक्छ । चिकित्सकका अनुसार यो फल दूध, कफी, मटन, बिफ, जाँडरक्सीलगायत खाद्यपदार्थ एवं पेयपदार्थसँग खानु हुँदैन । कान्तिपुर दैनिकबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…