• बिर्तामोड । मोरङ उर्लाबारी ९ घर भई हाल मकाउमा रहेकी गीता मगर शेर्पाको मन विवेचना डटकममा प्रकाशित एउटा समाचारले छोयो । गत माघ १२ गते प्रकाशित ‘घरमुली गोमा कोमामा, परिवारलाई छिमेकीको आश्रय’ शीर्षकको समाचार पढेपछि उनी भावुक मात्र बनिनन्, गोमाको जीवन रक्षार्थ मकाउका साथीभाइमाझ सहयोग संकलनमा जुटिन् ।

    उनले फेसबुकमा समाचारको लिड्ढ शेयर गर्दै साथीहरुलाई सहयोगको आह्वान गरिन् । सहयोगी मनहरुले गीतालाई सकेको रकम सहयोग गर्ने वचन दिए । उनको अभियानलाई झापा शिवसताक्षीका सुरेश योङ्हाङले पनि साथ दिए । दुवै मिलेर मकाउमा एक लाखभन्दा बढी रकम संकलन गरे । रकम प्रदान गर्ने सबै साथीको नाम, तस्वीर र रकम उनले आफो कमेन्ट बक्समा ह्यास ट्याग गर्दै लेखेकी छन् ।

    गत माघ ३ गते सडक दुर्घटनामा परी शिवसताक्षीकी ४४ वर्षीया गोमा गौतम गम्भीर घाइते भएकी थिइन् । विवेचना दैनिक र विवेचना डटकममा गोमाको अवस्थाबारे समाचार प्रकाशित भएपछि उनीहरुको पहलमा संकलित एक लाख पाँच हजार ५५५ रुपैयाँ शुक्रबार विवेचना दैनिकको कार्यालय बिर्तामोडमा एक कार्यक्रमका बीच पीडित परिवारका सदस्य र गोमा बचाऔँ समितिका पदाधिकारीलाई हस्तान्तरण गरियो ।

    सो रकम समितिका संयोजक नरेश योङ्हाङ र सचिव धनबहादुर ढकाललाई विवेचना प्रकाशन समूहका अध्यक्ष तेजमणि प्रसाईं, प्रबन्ध निर्देशक नवीन खरेल, गीताका भाइ विकास मगर, तेजन खड्कालगायतले हस्तान्तरण गरेका थिए । रकम संकलनका लागि विवेचनाका उर्लाबारी सम्वाददाता खड्काले समन्वय गरेका थिए । मकाउमा रहेका करिब ४० जना नेपालीबाट सो रकम संकलन गरिएको हो ।



    यसैबीच, सोही कार्यक्रममा उर्लाबारीका समाजसेवी सुन्दर श्रेष्ठले नगद १५ हजार रुपैयाँ गोमाको उपचारका लागि प्रदान गरेका थिए । उनलाई विवेचना टिमका तर्फबाट ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइने दैनिकका कार्यकारी सम्पादक विनोद सापकोटाले बताए ।

    सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी श्रेष्ठले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै विवेचनाले सेवा गर्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरे । विवेचना प्रकाशन समूहका अध्यक्ष प्रसाईंले पत्रिका र अनलाइनमार्फत् प्रकाशित समाचारबाट सहयोग जुटेकोमा खुसी प्रकट गर्दै सहयोग जुटाउनु हुने सबैलाई धन्यवाद ज्ञापन गरे । यो कार्यले अरु धेरै सहयोगी मनलाई जगाउने आशा गर्दै उनले उपचाररत् गोमाको ज्यान बचाउन सकिने विश्वास व्यक्त गरे ।

    सहयोग रकम हस्तान्तरणका लागि उर्लाबारीबाट पत्रकार हरि कोइराला, विवेक हिङमाङ, किशोर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । आर्थिक अवस्था एकदमै दयनीय रहेको गोमाको परिवारका लागि चामललगायत खाद्यान्न र अन्य जिन्सीसमेत संकलन भइरहेको छ ।
    गोमालाई माईधारस्थित भालुखोलामा आफ्नै घरछेउमा घाँसको भारी ल्याएर आउँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने चालकको उपचारका क्रममा मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अन्य दुईजना सामान्य घाइते भएका थिए । घटनामा गम्भीर घाइते भएकी गोमाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचारकक्षमा उपचार जारी छ । चिकित्सकका अनुसार उनलाई एक महिनासम्म सघन उपचारकक्षमै उपचार गराउनुपर्ने हुनसक्छ ।

    कनकाई माईको बगरमा गिटी चालेर घरका अरु थप ३ सदस्यको समेत पालनपोषण गर्दै आएकी गोमाको परिवारलाई उनी ढलेदेखि नै गाउँलेले आलोपालो गरेर खाना खुवाउँदै आएका छन् । गोमाकी २८ वर्षीय छोरी कल्पना दंगालसमेत ६ वर्षपहिले सडक दुर्घटनामा परेर घाइते बनेकी थिइन् । उनी चढेको बस इटहरीमा पल्टिएको थियो । उनकी छोरीको समेत शरीरको पूरै भाग चल्दैन । छोरीको यस्तो अवस्था आएपछि ज्वाइँले समेत पारपाचुके गरिदिएका छन् । छोरी र एक नातिनी पाल्नुपर्ने दायित्व समेत गोमाको काँधमा थियो । सानी नातिनी समेत अपाङ्ग रहेकी छन् । बगरमा दिनभर गिटी चाल्ने र त्यसबाट ल्याएको रकमले चामल, नुनतेल किनेर दु:खले चार जनाको परिवार गोमाले धान्दै आएकी थिइन् ।
    उपचाररत गोमाकी छोरी र नातिनीसँग रकम हस्तान्तरणपछि सामुहिक तस्वीर खिचाइँदै ।

    गोमाका श्रीमानको भने अत्तोपत्तो छैन । बाह्रैमास मदिरा खाएर हिँड्ने उनी घरमा कहिलेकाहीँ मात्रै आउने गरेको स्थानीयबासी धनकुमार ढकालले बताए । गोमालाई मजदुरी गरे पनि गाउँमा मेहनती तथा साहसी महिलाको रुपमा सबैले चिन्ने गरेका छन् ।

    डाक्टरको सल्लाहअनुसार गोमाको उपचार सम्भव छ तर उनलाई थप महिना दिन यसरी नै सघनकक्षमा उपचार गराउनुपर्छ । ढकालले भने, ‘उहाँलाई कोमाबाट झिक्नेबित्तिकै निधन हुन्छ, त्यसपछि बाँकी परिवारको हाल के होला ?’

    करिब १३ लाख रुपैयाँ भए गोमा बाँच्न सक्ने डाक्टरहरुको भनाइ आएपछि गाउँका अगुवा नरेश योङ्हाङको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले यसअघि विभिन्न दाताहरुबाट ५० हजार रुपैयाँ समेत संकलन गरेको थियो । उनको उपचारमा सहयोग गर्न चाहनेले संयोजक योङ्हाङको सम्पर्क नम्बर ९८०८२२६५५० तथा सचिव धनकुमार ढकालको ९८४४६४१४४४ मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…