• इटहरी,२१ माघ ।

    वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन समिति, एक आरोपी पक्राउ
    बलात्कार घटनामा मिलापत्र गराएर आरोपी भगाइएको आरोप लगाउँदै महिला अधिकारवादीहरू सडकमा उत्रिएका छन् । महिला सञ्जाल सुनसरीको अगुवाइमा शनिबार इटहरीमा प्रहरीको शंकास्पद व्यवहारप्रति खबरदारी गर्दै र्‍याली निकालिएको हो ।

     

    उनीहरूले उपमहानगपालिकाको गेटबाट इलाका प्रहरी कार्यालयसम्म ब्यानरसहित र्‍याली निकालेका थिए।

    र्‍याली अघिको कोणसभालाई सम्बोधन गर्दै सञ्जालकी अध्यक्ष विमला ढकालले जघन्य अपराधमा समेत दर्ता नगरी मिलाउने पक्षमा जानु महिला हिंसालाई बढावा दिनु भएकाले तत्कालै घटनाका आरोपी र सामसुम बनाउनेलाई कारबाही गर्नुपर्ने माग गरिन्।

    इटहरी उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक लक्ष्मी गौतमले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दोषीको तत्काल खोजी गरी कानुनी कारबाही हुनुपर्ने र घटनालाई सामान्यीकरण गर्दै महिला अस्मितालाई रकमको लेनदेनमा खरिदबिक्री गर्नेलाई समेत कडा कारबाही गरिनुपर्ने बताइन्। उनले आफूले समेत तत्काल अपराधी पक्राउ गर्न प्रहरीलाई दबाब दिने बताइन्।

    महिला पुन:स्थापना केन्द्र (ओरेक) की परियोजना संयोजक मौसम राईले सरकारवादी मुद्दामा उजुरी नपरेको भन्दै प्रहरी पन्सिएर घटनाका आरोपीलाई नै छाड्नु पीडितलाई झन् पीडा थोपर्नु भएकाले तत्कालै न्यायिक उपचार जरुरी रहेको बताइन्। प्रहरीले घटना भएको झन्डै एक महिनापछि उजुरी दर्ता गरेर केस अघि बढाउनु पनि शंकास्पद रहेको उनले बताइन्। राईले घटनाको तत्काल छानबिन गरी अपराधीलाई कानुनअनुरूप कडा सजाय हुनुपर्ने माग गरिन्।

    माया घर नेपाल, क्लिन इटहरी, प्रोत्साहन नेपाललगायतका संघसंस्थाले घटनाका आरोपीलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, इटहरी नगरपालिका न्यायिक समितिलाई समेत बोधार्थ दिएका छन्।

    इटहरी २० की कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन अर्थात् पुस १६ गते राति इटहरी २ हलगढामा रहेको रोयल रिसोर्ट होटलमा ब्वाइफ्रेन्ड धरान निवासी जोकम लिम्बू र उनका साथी विराटनगर निवासी मनीष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेका थिए। उक्त घटनामा प्रहरीले तत्काल उजुरी लिएर मुद्दा अघि बढाउनुपर्नेमा त्यसो नगरी इलाका प्रहरी कार्यालयमा मिलापत्र गरी सामसुम पारिएको थियो। तर अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरिबहादुर पालले घटनाबारे थाहा पाएपछि तत्कालै अञ्चल प्रहरी कार्यालयको टिम सक्रिय बनाए र प्रहरीले माघ १२ गते जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गर्‍यो। घटना हुँदा अञ्चल प्रहरी प्रमुख पाल र इप्रकाका प्रहरी नायब उपरीक्षक सञ्जय राउत बिदामा थिए। उनीहरू सातापछि बिदा सकेर फर्किएपछि घटनाबारे जानकारी पाएका थिए।

    एसएसपी पालले निमित्तको जिम्मेवारी एसपी विद्यानन्द माझीलाई दिएका थिए भने डीएसपी राउतले प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निमित्त प्रमुख बनाएर बिदामा बसेका थिए। उक्त समयमा भएको घटनामा प्रहरीले मुद्दाको साटो मिलापत्र गराएको थियो। पीडितका अभिभावकले मिलापत्र गर्नुपर्छ भनेर दबाब दिइएपछि आफूहरूले मिलापत्र गरेको बताएका छन्। पछि धरानबाट अञ्चल प्रहरी कार्यालयले ‘यो मुद्दा मिल्ने खालको होइन’ भनेर छोरीबाट उजुरी लिई मुद्दा अघि बढाएको अभिभावकहरूको भनाइ छ। मुद्दा मिलाउन सबै पक्षलाई करिब ३० लाखको भागबन्डा गरिएको स्रोतले बताए पनि पीडितका बाबुआमाले कुनै रकम नलिएको बताएका छन्।

    एक आरोपी पक्राउ
    घटना सार्वजनिक भएलगत्तै प्रहरीले इटहरी १ तरहराबाट बालिकाका प्रेमी जोकम लिम्बूलाई पक्राउ गरेको छ। पक्राउ गरिएका जोकमको बयानका आधारमा घटनाको थप विवरण संकलन गरिने प्रहरीले जनाएको छ। बालिकालाई जबर्जस्ती करणी गर्ने जोकमका साथी मनीष श्रेष्ठ भने फरार छन्। विराटनगर निवासी उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। केही दिनपछि उनी पनि पक्राउ पर्ने प्रहरीले जनाएको छ। घटनामा प्रेमी जोकमले प्रेमिकालाई सुरक्षा प्रदान नगरेर योजनाबद्ध ढंगले साथीका लागि प्रशस्त ‘मौका’ सिर्जना गरिदिएकाले उनी पनि उत्तिकै दोषी रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।

    छानबिन समिति गठन
    घटनाको छानबिन गर्न प्रहरीले कोसी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ। समितिका अन्य सदस्यमा प्रहरी गणका एसपी भीम ढकाल, अञ्चल प्रहरी कार्यालयका डीएसपी भीम दाहाल, प्रहरी नायब निरीक्षक लेखनाथ दाहाल, प्रहरी सहायक निरीक्षक सरस्वती राई छन्। छानबिन समितिले काम सुरु गरिसकेको एसएसपी पालले बताए।

    जघन्य अपराधको घटनामा प्रहरीले ‘जाहेरी परेन र मुद्दा अघि बढाइएन’ भन्ने जवाफ दिन नपाउने भएकाले घटनाका आरोपी र मिलापत्र गराउन भूमिका खेल्ने सबैलाई कानुनको दायरामा ल्याउने एसएसपी पालले बताए। जघन्य अपराध अनुसन्धानमा प्रहरी आफैं सक्रिय हुनुपर्नेमा एकाएक निष्क्रिय देखिनुको कारण खोजी गरिने र दोषीमाथि कारबाही हुने उनले बताए। उनले भने, ‘प्रहरी अथवा अन्य जो भए पनि दोषीमाथि कारबाही हुन्छ।’ सूक्ष्म रूपमा अध्ययन गरी प्रहरी र बाहिरका बिचौलिया दुवैमाथि कारबाही हुने उनले बताए।

    बलात्कार प्रकरण : शैलेशसहित ४ विरुद्ध किटानी जाहेरी
    युवतीको खातामा ‘अस्वाभाविक’ रकम


    काठमाडौँ — दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।

     

    युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । यससँगै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ ।

    सुरु बयानमा घटना इन्कार गरेकी युवतीले दोस्रो बयानमा भनिन्, ‘दुई युवाले पालैपालो बलात्कार गरे, त्यसपछि मैले होस गुमाएँ’
    काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेपछि सुरुवाती बयानमा युवतीले इन्कारी बयान दिएकी थिइन् । जब कि घटनालगत्तै महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेर उनैले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । बिहीबारयता प्रहरीले युवती र उनकी आमालाई काउन्सिलिङ गर्दै पुन: बयान सुरु गरेको थियो । दोस्रो पटकको बयानमा भने युवतीले आफूलाई राति दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् ।

    युवतीको खातामा ‘अस्वाभाविक’ रकम
    विश्वस्त स्रोतका अनुसार बलात्कार घटनालगत्तै युवतीको खातामा अस्वाभाविक रकम जम्मा भएको प्रहरी अनुसन्धानमा देखिएको छ । घटनापछि दरबारमार्ग वृत्तका इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले उक्त घटनालाई पैसा दिएर गुपचुप रूपमा मिलाएका थिए । स्रोतका अनुसार युवतीलाई ३० लाख नगदै दिने र २० लाख रुपैयाँ बराबरको बुटिक खोलिदिने समझदारी भएको थियो । स्रोत भन्छ, ‘उक्त रकमको केही हिस्सा भने घटना मिलाइदिएबापत प्रहरीलाई दिने सहमति भएको थियो ।’

    उच्च स्रोतका अनुसार घटनापछि एकै मितिमा युवतीको एउटा बैंक खातामा २३ लाख र अर्कोमा ४ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । त्यतिका धेरै रकम उनको खातामा कसले डिपोजिट गरिदियो भन्नेबारे प्रहरीले गोप्य राखेको छ । तर स्रोत भन्छ, ‘घटनालगत्तै रकम दिएर केस मिलाउने सर्तअनुसार उक्त रकम जम्मा गरिएको हो ।’ युवतीको बैंक स्टेटमेन्ट हेर्दा अघिपछि उनको खातामा थोरै रकम जम्मा हुने र निकाल्ने गरिएको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘पैसाको स्रोत युवतीले बताउन सकेकी छैनन् । त्यसैबाट रकमको स्रोत के थियो भनेर अनुमान गर्न सकिन्छ ।’कान्तिपुरबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…