हसन्दह। कांग्रेस नेता डा.मीनेन्द्रप्रसाद रिजालले शैक्षिक बिकासका साना तिना काम लिएर अब सिंहदरबार पुग्नु नपर्ने बताउनु भएको छ । शनिवार मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै नेता रिजालले यस्तो बताउनु भएको हो ।
प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित नेता रिजालले नीजि विद्यालय फस्टाउँदै जाँदा सरकारी विद्यालयको स्तर खस्कदै जानु राज्यको चिन्ताको विषय भएको बताउनु भयो । सरकारी निकायको प्रत्यक्ष अनुगमनको अभावले सरकारी विद्यालय संकटमा परेको उल्लेख गर्दै अब स्थानीय निकायबाटै अनुगमन तथा नियमन हुने भएकोले सुधारको अपेक्षा गर्न सकिने बताउनु भयो ।
सरकारी संरचनाको बिकासका लागि हरेकले राजनीति भन्दा माथि उठ्न आवश्यक रहेको औंल्याउँदै डा. रिजालले भन्नुभयो –‘सरकारी विद्यालयलाई शिक्षकले जागीर खाने र राजनीति गर्ने ठाउँका रुपमा र विद्यार्थीले अल्मलिने ठाउँका रुपमा मात्र लिनु हुँदैन ।
कार्यक्रममा प्रदेश सभाका सभासद लीलाबल्भव अधिकारी,शेखरचन्द्र थापा लगायतका वक्ताले शुभकामना ब्यक्त गर्नु भएको थियो । स्वर्ण महोत्सव समारोहका अवसरमा विद्यालयलाई जग्गादिने जग्गादाता,विद्यालयका पूर्व प्रधानाध्यापक, सञ्चालक समितिका पूर्व अध्यक्ष र स्थानीय वृद्ध–वृद्धा र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर अधिकारीके सभापतित्वमा भएको थियो ।
२०२४ साल माघ २० गते स्थापना भएको अमरसिंह माविमा हाल कक्षा १ देखि १२ सम्ममा ८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।