• उर्लाबारी भदौं १५ गते ।
    स्थानीय प्रशासनले बर्षातको समयमा खोलानालाबाट ढुंगा,गिटी बालुवा उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएपनि मोरङको केराबारीस्थित खदम खोला, हचुवा खोला, मुगु खोलामा रातभर ढुंगा गिट्टी चोरी तथा निकासी भईरहेको छ । खोलामा ट्याक्टर टिपर प्रवेश गरे २५हजार सम्म जरिवाना लिई कार्वाही गर्न जिल्ला समन्वय समितिले मातहतका निकायलाई सर्कुलेसन गरेपनि त्यसको उल्लघन गर्दै प्रहरीसँग सेटिङमा व्यवसायीहरुले ढुंगा गिटी निकासी गर्ने गरेका हुन् ।
    खोलामा जथाभावि ढुंगा उत्खनन गरेकै कारण सयौं बिगाघा खेतियोग्य जमिन कटान गरी बगरमा परिणत भएको अवगत हुँदाहुँदै खोलाबाट प्राकृतिक सम्पदाको दोहन नरोकिएको हो । खोलाको सतह गहिरिएका कारण एक महिना यता केराबारी ४,५,६,७,९ नम्बर वडाको आवागमन बन्द झै भएको छ । पहिरोका कारण मोटरबाटो क्षत बिक्षत बनेपछि उत्तरी पहाडी क्षेत्रको वडाहरुमा आवागमन ठप्प प्राय छ ।

    बाढीका कारण केराबारी क्षेत्रका सिंचाई पैनीहरुमा नराम्ररी क्षति पुगेको छ । भुक्षय तथा बाढीका कारण कूलो पैनी क्षत बिक्षत बनेका हुन् । सार्वजनिक कुलो पैनी मर्मत गर्न चाहिने आवश्यक ढुंगा समेत उठाउन नदिएको भन्दै सिचाई पैनीका उपभोक्ताहरुले आपत्ति जनाएका छन् । कूलो पैनी र सार्वजनिक कामका लागि ढुंगा उठाउँदा गाँउपालिकाको सिफारीस लिएर आइज भन्ने तर रातभर ट्याक्टर व्यवसायीलाई ढुंगा चोराउन कुनै सिफारीस नै नचाहिने यो कस्तो नियम हो भन्दै स्थानीय जनसहयोग सिंचाई पैनीका पदाधिकारीहरुले असन्तुष्टी पोखेका छन् ।

    कानुनले तोकेको नीति नियम पालना गराउने निकायहरु इलाका बन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी र सम्बन्धित निकायले उचित पहल कदमी नलिँदा अवैध चोरी निकासी रोक्न नसकिएको हो । ढुंगा चोरीमा प्रहरीको संलग्नता भएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलेले अहिले आपतकालिन अवस्था र राहतका काममा बाहेक कही कतै खोलामा ट्याक्टर ट्रिपर पस्न नदिएको र त्यस्तो भेटिए कार्वाही गर्ने बताए । तर स्थानीय प्रशासनको रोहवरमा चोरी तस्करी भइरहेको भन्ने बारेमा अवगत गराउँदा यदि त्यस्तो प्रमाणित भए कार्वाही गर्ने बताएका छन् ।

    नदिजन्य पदार्थ उत्खनन र चोरी निकासी भईरहदा यसको दीर्घकालिन नीतिको असरको बारेमा अहिलेसम्म केराबारीमा कही कतैबाट छलफल र बहस भएको पाईदैन । स्थानीय श्रोत साधनको समुचित प्रयोगका लागि कस्तो दीर्घकालिन नीति बनाउदा हुन्छ ? यहाँको उर्वर भूमिको सुरक्षा कसरी गर्न सकिन्छ ? चुरे क्षेत्रको संरक्षण गर्न जनप्रतिनीधिले जनतासँग कस्तो भूमिका खेल्नुपर्छ भन्ने बिषयमा छलफल हुन त परै जाओस स्थानीय तहको जिम्बेबारी पाएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुको जवाफ त झन लाजमर्दाे पाईन्छ ।

    केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्की भन्छन्, म एक्लैले के गर्ने मैले मात्रै रोके सबै म माथि आइलाग्छन् । सवै वडाका निर्वाचित अध्यक्ष तथा प्रतिनीधिहरुले बोल्नु पर्यो नि । त्यसो त खोलामा अनाधिकृत रुपमा ढुगा चोरी तस्करी बढ्नुमा केही वडाका वडाध्यक्षहरु नै ट्रिपर र ट्याक्टर व्यवसायी हुनु र क्रसर उद्योगमा संलग्न रहनु प्रमुख कारण बनेको छ । खोलाक्षेत्रमा रहेका अधिकांस वार्डका निर्वाचित वडाध्यक्षहरु कुनै न कुनै रुपले क्रसर तथा टिपर व्यवसायमा आवद्ध छन्। खोला संरक्षणको कुरा गर्दा व्यवसायमा असर पर्ला, व्यवसायमा आवद्ध शुभचिन्तक तथा कार्यकर्ताहरु भड्किएलान भन्ने डरले पनि चुरे संरक्षणमा अभियानमा बाधा पुगेकोे स्थानीयबासीले बताएका छन् ।

    कसरी हुन्छ तस्करी ?
    रातको ८ बजेदेखि बिहान ५ बजेसम्म खोलामा पसेका ट्याक्टरहरुले चुरे संरक्षित क्षेत्रबाट ढुंगा उठाई आफ्नो अनुकुलतामा स्टक गर्ने गरेका छन् । खोलामा जुन ट्याक्टरले स्थानीय प्रहरीलाई नियमित पैसा बुझाउछन ति ट्याक्टरले मात्रै प्रवेश पाउने गरेका स्थानीयको दावी छ । पैसा नतिर्ने ट्याक्टर प्रवेश गरे ति ट्याक्टरलाई क्षणभरमै पक्राउ गराउने र पैसा तिर्न लगाउने गरेको स्थानीयको भनाई छ । पक्राउ परेका गाडीलाई साप्ताहिक रुपमा पैसा बुझाउने सर्त मान्न तयार भए प्रवेश पाउने नतिरे कार्वाही गर्न सम्बन्धित ठाउँमा पठाउने गरेको स्थानीयको आरोप छ ।

    साप्ताहिक रुपमा पैसा लिएका ट्याक्टरहरुको सुरक्षा प्रहरीले गर्ने गरेको र कतैबाट बन कर्मचारी, प्रहरी, जिविस जिल्ला बन कार्यालयबाट अनुगमनमा आए नआएको, हेरदेख गर्ने र आएको सूचना पाउन साथ व्यवसायीलाई सूचना चुहावट गरी खोलाबाट भगाउने गरेको स्थानीयको दावी छ ।

    यसबाहेक व्यवसायीहरुले नै केही युवाहरुलाई पैसा दिएर बजार चोक तथा गौडामा खटाउने गरेका स्थानीयको दावी छ। केराबारीमा एकसय बढी ट्याक्टरहरु सञ्चालनमा छन्। संगठित रुपमा पैसा बुझाउने ट्याक्टरको संख्या मात्रै ५० देखि ७० सम्म रहेको श्रोतले दावी गरेको छ । प्रहरीले एक ट्याक्टर बराबर साप्ताहिक पाक्षिक तथा मासिक रुपमा २ देखि १० हजार सम्म लिने गरेको श्रोतले दावी गरेको छ ।

    यस बिषयमा इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरिक्षक रामकाजी कटवालसँग बुझ्दा आँफुहरुले कसैसँग रकम असुली गरेर चोरीलाई प्रोत्साहन नगरेको भन्दै इप्रका केराबारीमा प्रहरीको संख्या कमी भएकोले आवश्यक जनशक्तिको अभावमा भनेजति काम गर्न नसकेको बताए ।

    कटवालले छिटपुट रुपमा चोरी भईरहेको स्विकार्दै दुईवटा भाईवा, एउटा स्काभेटर र तीनवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउन लागेको बताए ।

    यसैबीच मोरङ्गका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बिसीले तस्करीको बिषयमा प्रहरी संलग्नता भेटिए त्यस्ता प्रहरीलाई बिभागीय कार्बाही गर्ने बताएका छन् । उनले प्रहरी मात्रैले समाजमा ब्याप्त बेतिथीलाई रोक्न नसक्ने भन्दै त्यस्का लागि स्थानीयबासी,सञ्चारकर्मी सबैले साथ दिनुपर्ने उल्लेख गरे ।

    मापदण्ड बिपरीत नियम मिचेर सञ्चालनमा रहेको अवैध ढुंगा गिटी चोरी तस्करीलाई रोक्न पहल नगर्ने हो भने यस क्षेत्रमा रहेको हजारौं बिगाघा उर्वरभूमि जमिन मरुभुमिकरण हुनसक्ने निश्चित छ यसका लागि अधिकार प्राप्त निकायहरु सचेत बन्न जरुरी छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…