विराटनगर/ संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले धार्मिक र ऐतिहासिक क्षेत्रलाई असर परेको भन्दै भौतिक संरचना निर्माण रोक्न र सेनालाई विस्थापित गर्न माग गरेकी छन ।
यस अघि प्रदेश १ लाई लिम्बुवान–खम्बुवान प्रान्त घोषणा गर्न माग गरेकी उनले सोमबार विराटनगरमा प्रदेश १ को पहिलो प्रदेशसभा बैठकमा बोल्दै धरानको विजयपुर लिम्बुवानको राजधानी भन्दै त्यहाँ खानेपानी ट्याङ्कीको निर्माण बन्द गर्न माग गरिन् ।
उनले विजयपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने तर्क राखेकी छन् ।
यसैगरी उनले इलामको सिलौटीमा किरातहरूको धार्मिक स्थल नजिकै नेपाली सेनाको ब्यारेक रहेको भन्दै त्यसलाई हटाउनसमेत माग गरिन् ।
तुम्बाहाम्फेले मुलुकमा १० प्रदेश निर्माण गर्नुपर्ने, मधेसी, मुस्लिम, आदिवासी र दलित समुदायको समानुपातिक सहभागीता ग्यारेन्टी गरिनुपर्ने माग गरिन् ।