पत्रकारिता पेशा आफै चुनौतिपूर्ण पेशा । त्यसमा झन महिलाहरुलाई त यो पेशामा टिक्क कठिन छ भनिन्छ । यो पेशमा लागेर बिचैमा छोड्नेहरु थुप्रै छन् । जुन केहि क्षण आउछन र हराउछन् । यद्यपि, झापाकी पत्रकार अम्बिका भण्डारी भने यहि पेशामा अनेक आरोह अबरोहहरुलाई सामाना गर्दै स्थापित भएकी छिन् । मेचीनगर १० धुलाबारी निवासी भण्डारीले पूर्वाञ्चल दैनिकमा सुरुमा कम्प्युटर अफरेटर हुँदै पत्रकारिता क्षेत्रमा प्रवेश गरिन । अम्बिका झापाबाट प्रकाशितअ हुने लोकतन्त्र पोस्टको अनलाइन सम्पादन पनि हुन् । विगत ९ बर्षदेखि राष्ट्रिय समाचार समितिमा उनी झापा समाचारदाता भएर काम गरिरहेकी छिन् । महिला खबर अनलाइन, सञ्चारिका फिचर सेवा लगायतमा पनि फिचर र लेख लेख्ने भण्डारी बिभिन्न ठाउँबाट सम्मानित भईसकेकी छिन् । पत्रकारिताको यो यात्रामा उनले थुप्रै तितामिठा क्षण भोगेकी छिन् । उनका भोगाई अनि संघर्षका कथा रातोकलमकर्मी तेजन खड्काले जान्ने प्रयास गरेका छन् । जुन यहाँ प्रस्तुत गरिएको छ ।
तपाई कहाँ जन्मिनुुभयो ?
इलाम जिल्लाको तत्कालीन गजुरमुखी गाविस अर्थात हालको माङ्सेबुङ गाउँपालिका वडा नं. १ को तोभाङमा जन्मिएकी हुँ ।
कस्तो परिवारमा ?
खेती किसानी गर्ने सामान्य परिवारमा जन्मे हुर्केँ । जहाँ श्रम नगरी विहान बेलुकाको छाक टार्न पुग्दैनथ्यो ।
बाल्यकाल कसरी बित्यो ?
बाल्यकाल दुःखैमा बित्यो । कृषककी छोरी हुँ । ठूलो परिवार थियो । दुई आमाका सन्तान हामी १४ जना । पहाडको दुर्गम गाउँमा जन्मिए पनि बुबा आमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना थियो । मेरा दिदी दाजुहरुले स्कूल टाढा भएका कारण र खेतीपाती गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्थाले होला निमावि तहभन्दा माथि पढ्न सक्नु भएन । म सानैदेखि पढ्नमा बढी रुची राख्ने गर्थै । पढाइका कारण मैले खेतबारीमा काम गरिन, घाँस दाउरा र मेलापात धाउने काममा रुचि राखिन । इलाम जिल्ला नाम सुन्दा जति राम्रो छ त्यसमा रहेका विकट ठाउँहरु पनि उस्तै छन् । तिनै विकट गाउँ मध्येमा पथ्र्यो मेरो जन्मघर । प्राविसम्मको शिक्षा नजिकै लिन पाएँ भने निमाविदेखि माथि पढ्नका लागि २ घण्टाको बाटो हिँडेर जानुपथ्र्यो । त्यसमा पनि उकालो बाटो । घरधन्दामा म कहिल्यै अलमलिन चाहिन । पढ्दा मात्रै भविष्य राम्रो हुन्छ भन्ने मेरो बालमनले बुझिसकेको थियो । स्कूलकै छेउमा डेरा बसेर पढेँ मैले । मैले मेरा दिदीबहिनी तथा दाजुभाईले जस्तो दुःख गरिन ।
परिवारमा को को हुनुहुन्छ ?
दुई छोरा मौसम र मनसुन, जीवनसाथी मोहन काजी र सासुससुरा पदमकुमारी र झपटबहादुर न्यौपाने हुनुहुन्छ ।
पत्रकारलाई हेर्ने समाजको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
सुरु सुरुमा पत्रकारिता भनेको सबैभन्दा राम्रो पेशा हो जस्तो लाग्थ्यो समाजले पत्रकारहरुलाई दिएको मान सम्मान हेर्दा । पेशागत धर्म र मर्यादामा रहेका पत्रकारहरुलाई समाजले जहिल्यै सम्मान गरेको पाउँछु । तर पत्रकारिताको खोल ओढेर व्यक्तिगत स्वार्थ प्राप्ति गर्न खोज्ने र पीत पत्रकारिता गर्ने पत्रकारहरुको जत्थाप्रति हाम्रो मात्र होइन, दुनियाभरिकै समाजले नराम्रो धारणा राखिरहेको हुन्छ । पछिल्लो समयमा सञ्चार संस्था र पत्रकारले नै पेशाको गरिमा र मर्यादा भुल्न थालेका छन् । सत्य र तथ्यलाई तोडमोड गरी र आफूसँग असहमत विचार राख्ने व्यक्ति तथा सघसंस्थाको खेदो गर्ने नकारात्मक गतिविधिले हाम्रो पेशामाथि प्रश्न उठ्न थालेको छ । आम जनमानसमा पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक भन्दा नकारात्मक हुँदै गइरहेको अवस्था छ ।
पत्रकारितामा कसरी आउनुभयो ?
म विहे पछि मात्र पत्रकारितामा आएकी हुँ । म यो पेशामा आउँछु भनेर पूर्व तयारीका साथ आएकी होइन । पत्रकार भन्ने एउटा मान्छेलाई मैले इलाम क्याम्पस पढ्दा देखेकी थिएँ । तर पत्रकारिता पेशाका बारेमा केही थाहा थिएन । चासो पनि कहिल्यै राखिएन । दुर्गम गाउँमा पत्रपत्रिका पुग्दैन थियो, पढ्ने कुरै थिएन । रेडियो नेपालको गीत सुन्थ्यौँ । तर रोचक कुरा चाहिँ मेरो विहे २०५५ साल बैशाख १६ गते पत्रकारसँगै भयो । विहे भएपछि चाहिँ पत्रकार र पत्रकारिता बुझियो । २०५९ सालमा झापामा नेपाल पत्रकार महासंघले प्रोएक्टिभ पत्रकारिता तालिम गरेको थियो । मलाई पनि त्यो तालिम लिन पतिले जोडबल गर्नुभयो । त्यो तालिम ब्लाष्टका सम्पादक किशोर कार्की र अग्रज पत्रकार यज्ञ शर्माले दिनुभएको थियो । तालिम लिएपछि यो पेशाप्रति मेरो झुकाव बढ्दै जान थाल्यो । अनि अरुले लेखेका समाचार पढ्न र हेर्न थालेँ । सुरुमा मैले कम्प्यूटर अपरेटर भएर पूर्वाञ्चल दैनिकमा काम गरें । काम गर्दैै जाँदा समाचार लेख्न सिकेँ । मेरो पति मोहन काजीले नै ‘यो पेशामा महिला साह्रै कम छन्, यसमा पनि अरु पेशामा जस्तै भविष्य छ’ भन्दै ‘तिमीले पनि पत्रकारिता पेशा नै अंगाल्नुपर्छ’ भनेर उहाँले नै मलाई यो पेशामा ल्याउनु भयो ।
तपाईको पालामा मोफसलको पत्रकारिता कस्तो थियो ?
मैले पत्रकारिता सुरु गरेको अवस्थाको कुरा गर्ने हो भने यही पेशाले गुजारा चल्छ भन्ने थिएन । केवल सामाजिक सेवाकै लागि मात्र हो मोफलसलको पत्रकारिता भन्ने थियो । त्यसमा पनि महिलाहरु पत्रकारितामा शून्यकै अवस्थामा थिए । महिलाले पत्रकारितामा आउनु भनेको समस्या र चुनौतिको भुँवरीमा होमिनु जत्तिकै थियो ।
बिशेष गरेर समाचारको कुन बिधामा कलम चलाउनुहुन्छ ?
यही विधामा लेख्छु भन्ने सीमा हुँदैन । मैले स्थानीय दैनिक पत्रिकाहरु पूर्वाञ्चल, जनसंसद र लोकतन्त्र पोस्टमा काम गरेको छु । राससमा पनि काम गरिरहेको छु । कुनै एउटा विधामा मात्र लेखेर मोफसलको पत्रकारिता हुँदैन । भेटेर देखेजति सबै विधाका समाचार लेखिन्छ नै । तर पनि म महिलाका समस्या र उनीहरुको सफलताको कथा लेख्न बढी रुचि राख्छु ।
पत्रकार बाहेक अरु केही बन्ने सपना थियो कि ?
हामीले वाल्यकालमा गाउँमा देखेको सबैभन्दा ठूलो मान्छे भनेकै शिक्षक शिक्षिका थिए । मेरो परिवारको चाहना पनि त्यही थियो । पढेर राम्रो शिक्षक बन्नु भनेर मेरो ममीले बारम्बार भनिरहनु हुन्थ्यो । पत्रकार त संयोगले भइयो ।
पत्रकारिता क्षेत्रमा महिलाहरुको लागि कति चुनौति देख्नुहुन्छ ?
महिलालाई चुनौती नहुने त कुनै पेशा छ जस्तो मलाई लाग्दैन । तर पत्रकारिता पेशा अन्य पेशा भन्दा बढी नै चुनौतिपूर्ण हुने पेशा हो । पुरुषजस्तो स्वतन्त्र रुपले महिलाहरुले अहिले पनि काम गर्न सक्ने सुरक्षित वातावरण छैन । किनभने महिलाको दोहोरो तेहेरो जिम्मेवारी हुन्छ । अहिले पनि घर व्यवहार जति महिलाले ठेक्का नै लिए जस्तो छ हाम्रो समाजमा । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिक रुपमा पुरुषसरह फिल्डमा निस्कनुपर्दा समस्या हुन्छ । अर्कोतिर सञ्चार संस्थाको संख्या मात्र बढेको छ । ती संस्थाको जिम्मेवार ठाउँमा महिलाहरु पुग्न सकेका छैनन् । त्यसैले पनि सञ्चारसंस्था महिलामैत्री बन्न नसक्दा झन काम गर्न चुनौती पूर्ण छ । महिलाहरुलाई कार्य दक्षतामा प्रश्न उठाएर पुरुष सहकर्मीसरह तलब नदिने, साधन स्रोतको अभावमा महिलाले भन्ने वित्तिकै फिल्डमा जान नसक्ने अनेकौ समस्या छन् ।
अनि सम्भावना नि ?
पत्रकारितालाई पेशा बनाएर अगाडि बढ्ने महिलाहरुको भविष्य सुनौलो छ । महिला पत्रकारले आफूलाई अझ निखार्न आवश्यक छ । आफ्नो क्षमतालाई अब्बल बनाउन सक्यो भने पाखा लगाउने भन्दा अवसरहरुले आफैं खोज्दै आउन सक्छन् । आफूमाथि आइपर्ने चुनौतिहरुको सामना गर्न तयार हुनुपर्छ, एकदिन सफल बन्न सकिन्छ ।
यो क्षेत्रमा कसैले ल्याएको हो या आफै आउनुुभयो ?
आफूले इच्छाशक्ति देखाएको थिएन भने अरुले ल्याएर मात्र काम गर्न सकिदैन । म पत्रकारितामा आउनुमा जीवन साथी मोहन काजीको विशेष प्रोत्साहन छ ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
पत्रकारिता पेशामा म एउटी विद्यार्थी मात्र हुँ । अहिल्यै स्थापित भएको ठान्नु अहंकार मात्र हुने छ । तर यहाँसम्म आइपुग्न मैले ठूलो संघर्ष गरेकी छु । एकातिर बुहारी मान्छे अर्कोतिर साना छोराहरु हुर्काउनु पर्ने जिम्मेवारी । धेरै पटक पत्रिकाको काम गर्दागर्दै रात वितेको पत्तो पाइएको छैन । पत्रिकाको अफिसमै कोक्रो राखेर नानीहरु सुताउँदै पत्रिकाको काम पनि गरियो । कयौं दिन भोकै पनि काम गरिएको छ । अभावका साहै्र कस्टकर दिनहरु गुजारिएको छ । तथापि मलाई अभाव र समस्याको पहाडले किच्दा पनि पत्रकारिता पेशा सुन्दर र प्रिय नै लागिरह्यो ।
झापामा दैनिक पत्रिकाको अबस्था कस्तो छ ?
अहिलेसम्म त्यति राम्रो नदेखिए पनि सम्भावनायुक्त जिल्ला हो झापा । हाल यस जिल्लामा ७ वटा दैनिक पत्रिका छन् । बजार विस्तार हुँदैछ । उद्योग धन्दा भर्खर फस्टाउँदै छन् । अहिलेका पत्रिकाहरु चलेको भन्दा पनि घस्रिएको अवस्था छ । तर भविष्य चाहिँ उज्ज्वल नै देखिन्छ ।
आफ्नै नजरमा अम्बिका भण्डारी के हो र को हो ?
एउटा स्वाभिमानी व्यक्ति हो । महिलामाथि मात्र होइन, कसैमाथि पनि अन्याय अत्याचार भएको अम्बिकालाई पटक्कै सहन मन लाग्दैन ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
अन्याय र अत्याचारको विरुद्ध खुलेर लेख्ने र बोल्ने एउटा जुझारु र निष्ठावान पत्रकारको रुपमा चिनिदिए पुग्छ ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
म आफ्नो स्वाभिमानमा बाँचेकी मान्छे हुँ । सकेसम्म म गल्ती गर्दिन । गल्ती भइहालेमा रियलाइज गर्छु । अरुलाई सकेसम्म सम्मान गर्ने मेरो बानी छ । पत्रकारिताको कुरा गर्ने हो भने समाचार संकलन, सम्पादन, लेआउट डिजाइन र प्रकाशनका सबै पक्षमा मैले अरु कसैको भर पर्नु पर्दैन ।
अनि कमजोर पक्ष चहि नि ?
छिटो अरुलाई विश्वास गर्छु । अनि छिटै रिसाइहल्छु रे ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
मानिस सामाजिक प्राणी हो । आफ्ना लागि र आफ्नो परिवारका लागि राम्रो गरेर मात्र पुग्दैन । समाजका लागि कति र कस्तो काम र व्यवहार गरेको छ, म अरुलाई मूल्यांकनको कसी बनाउँछु ।
तपाईलाई कति खेर रिस उठ्छ ?
जब मेरो आत्मसम्मानमा चोट पुर्याउने काम हुन्छ ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
जब अरुको दुःख देख्छु ।
तपाईलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
अन्याय र अत्याचार सहेको दृश्यले ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
एउटा सीमासम्म ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
आफुले लेखेको समाचारले कुनै पीडितको घाउमा मल्हम लगाएको अनुभूति हुँदा ।
तपाईका दुःखहरु के हुन् ?
हामी दम्पत्ति नै पत्रकारितामा दैनिक १२ घण्टाभन्दा बढी घोटिन्छौँ, तर आर्थिक अभावले कहिल्यै छाडेन । छोराछोरीको स्कुल र कलेजको फि तिर्ने, भान्साको सिलिन्डरमा ग्यास भर्ने र खाद्यान्न जुटाउने समेत सामथ्र्य नपुगेका बेला चाहिँ दुःख अनुभूति हुन्छ ।
अनि तपाईको सुख चाहि नि ?
आफुलाई जति नै दुःख र अभाव भए पनि अरुको दुःखमा मल्हमपट्टि गर्न पाउँदा सुखको अनुभूति हुन्छ ।
तपाईको जीवनको सबैभन्दा दुःखद् क्षण ?
मेरो कान्छी भाउजु राधिका भण्डारी गुमाउनु पर्दा । किनभने ५ बर्षको भदा र ११ र ९ बर्षकी भदैनीहरुलाई सधैको लागि छाडेर यो संसारबाट भाउजुले विदा लिनु भयो । घाँस काट्न जाँदा भीरबाट लडेर भाउजुले जीवन गुमाउनु पर्यो ।
अनि खुसीको क्षण चाहि नि ?
सबभन्दा धेरै खुशी एसएलसी पास हुँदा भएकी थिएँ । मेरो परिवारमा एसएलसी पास गर्ने मै पहिलो सन्तान थिएँ
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
हामीले जनसंसद् दैनिक पत्रिका प्रकाशन गथ्र्यौ । आफैले बडो मिहेनतले जन्माएको र हुर्काएको पत्रिका छाडेर लोकतन्त्र पोस्ट दैनिक स्थापना गर्नु परेका बेला मैले जीवनको निकै संघर्षमय मोडको रुपमा लिएकी छु । पत्रिकाको जागिरमा हाम्रो परिवारको निर्वाह चल्थ्यो । चल्तीको पत्रिका छाड्नु पर्दा एकातिर असजिलो लाग्यो भने नयाँ पत्रिका कसरी चल्ने होला भन्ने अर्को अन्योल थियो । त्यसबेला हामी अहिलेसम्मकै धेरै ऋणमा डुब्न पुग्यौँ ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
पत्रकारितामा निष्ठापूर्वक लागेका कारण हामी सुरु गरेको लोकतन्त्र पोस्ट पत्रिका पनि ७ महिनापछि संकटग्रस्त भयो । साझेदारहरु छिन्नभिन्न भए । पत्रिकाको बिजनेस घाटामा थियो । पत्रिकालाई हामीले एकल लगानी र जोखिममा प्रकाशन गर्नु पर्ने भयो । हामी बलियो आत्मविश्वास, इमान्दारी र मिहेनतका कारण सफल भयौँ । यो सफलताका लागि योगदान पुर्याउनु हुनेहरु लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी, सहकर्मीहरु झुलन रेग्मी, राजु पाठक, देबु बानियाँ, रेवतीराज घिमिरे, मनोज बस्नेत, पंकज शर्मा, गोविन्द न्यौपाने, ज्ञानेन्द्र निरौला, गोविन्द घिमिरे, राजु पौडेल, मीना सिटौला, दिपीन राई, राजन साम्पाङ, हरि घिमिरे लगायतप्रति आभार प्रकट गर्दछु ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
बिहे पछि म अरु कुनै पेशामा पनि जान सक्थे । तर मैले पत्रकारितामा नै लाग्ने निर्णय गरे । पछि फर्केर हेर्दा अहिलेसम्मकै सही निर्णय गरेछु भन्ने लाग्छ ।
अनि गलत चाहिँ नि ?
नजानेर गल्ती थुप्रै भए होलान् । जीवन यात्रामा त्यसबाट पाठ सिक्दै अघि बढेकी छु ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
रेडियो सञ्चालन गर्ने भनेर ऋण काढेर गरेको लगानी फिर्ता भएन । पत्रकार आफैले ऋण काढी काढी लगानी नगर्नु भनेर धेरैले पहिले सम्झाएका थिए । केही साथीहरुलाई बढी विश्वास गर्दा त्यो लगानी डुबेर ऋणमा परियो । यसमा मलाई पछुतो छ । किनकि यस घटनाबाट हामीले ठूलो आर्थिक क्षति व्यहोरेका छौँ ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
भाउजु गुमाउँदा ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
मानिसका जीवन भनेकै हाँसो र आँसु हो । अरुको सानो दुःख देख्न नसक्ने मान्छेको रुवाइ कहिले अन्तिम हुँदैन ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
आफ्नो स्वाभिमानमा रमाउने, निडर र आत्मविश्वासी ।
अनि कस्तो मन पर्दैन ?
कायर, अल्छे, बेइमान, भ्रष्ट व्यहोरा भएको ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
जो अरुको समस्यामा रमाउँछ ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
घुम्न मन पर्छ ।
लेखन बाहेक तपाईको रुचीको क्षेत्र ?
सामाजिक सेवा ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
मोहन मैनालीको ‘मान्ठा हराएको युग’ । जहाँ पश्चिम नेपालमा द्वन्द्वमा त्यहाँका सर्वसाधारणले भोगेको पीडालाई छर्लङ्ग उतारिएको छ ।
अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
पत्रकारितासँग सम्बन्धित केही पुस्तक पढ्दैछु ।
दोहोर्याएर पढ्नुु भएको पुुस्तक ?
अमर न्यौपानेको ‘सेतो धर्ती’ ।
कस्ता फिल्म हेर्नुुहन्छ ?
यस्तै भन्ने छैन । त्यति रुचिको विषयमा पर्दैन फिल्म ।
तपाईलाई मनपर्ने फिल्म ?
दर्पण छाँया ।
दोहोर्याएर हेर्नुभएको फिल्म ?
दपर्ण छाँया नै ।
तपाईलाई मन पर्ने हिरो हिरोइन ?
करिश्मा मानन्धर ।
तपाईलाई रुवाएको फिल्म ?
झोला ।
मनपर्ने गायक–गायिका ?
गायक नारायण गोपाल । गायिका अञ्जु पन्त ।
मनपर्ने ठाउँ ?
बझाङ ।
मनपर्ने खाना ?
दात भात ।
मनपर्ने पोसाक ?
सारी चोलो ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
केपी ओली ।
अनि विदेशका मनपर्ने नेता चहिँ नि ?
महात्मा गान्धी ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
योगेश भट्टराई ।
तपाईको आदर्श को हो, किन ?
मेरी आमा । किनभने जसले मलाई यो संसार हेर्न मौका दिनुभयो ।
नेपालका मन पर्ने साहित्यकार ?
झमक घिमिरे
आफैंप्रति तपाईलाई केही गुनासो छ कि ?
किन गर्नु आफैप्रति गुनासो ?
अनि यो समाजप्रति चहिँ नि ?
अलि अलि छ । किन भने २१ औं शताब्दीमा समेत महिलाहरु अझै सामाजिक तथा राजनीतिक विभेदको शिकार भइरहेका छन्, हेपिएका छन् । परम्पराको नाममा, धर्मको नाममा महिलाले पुरुषको दासको जस्तो दलन भोग्नु परिरहेको छ । शिक्षित र अग्रगामी भनाउने समाजले पनि महिलाप्रति समानताको दृष्टिले हेर्न सकेको छैन । सामाजिक चिन्तन र व्यवहारमा समयानुकूल परिवर्तन नआउँदा गुनासो हुँदोरहेछ ।
जीवन के रहेछ ?
जीवन एउटा अविरल यात्रा हो, पुस्तक हो । जुन यात्रालाई न रोक्न सकिन्छ, न पढेर कहिल्यै सकिन्छ ।
बाँकी योजना र सपना कस्ता छन् ?
त्यस्तो ठूला सपना बुनेकै छैन । तर पनि पत्रकारिता पेशाबाट विचलित हुन थालेका महिलाहरुलाई संगठित बनाएर हाम्रो सुन्दर भविष्य यही छ भनेर सक्षम र क्षमतावान बनाउन केही राम्रो काम गर्ने सोच छ । व्यक्तिगत रुपमा सन्तानहरुलाई राम्रो शिक्षा दिने सपना छ ।
पत्रकारितामा लागेर के पाउनुभयो ?
धेरै पाएँ, आज म धेरै ठाउँमा चिनिएकी छु । तपाइँले पनि अन्तरवार्ता लिनु भयो । अन्याय परेकाहरु लेखिदिनु पर्यो, बोलिदिनु पर्यो भन्दै आउनु हुन्छ । यो सब पत्रकारिताले गर्दा नै भएको हो ।
अनि के गुमाउनु भयो ?
जीवनका उर्वर सबै समय यही पेशामा लगाएकी छु । मेरा वाल्यकाल, मेरो वैसालु उमेर फेरि फर्किदैन होला ।
कहाँ कहाँ पुरस्कृत हुनुभयो ?
राष्ट्रिय समाचार समितिबाट तीन पटक पुरस्कृत भएँ । अरु पनि धेरै पुरस्कार पाएकी छु, सबैको नाम लेख्दा लामो हुन्छ ।
पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
अलि गाह्रो अवस्था चाहिँ अहिले पनि छ । तर व्यावसायिक पत्रकारिताको अभ्यासहरु भइरहेका छन् । त्यसले गर्दा हरेस खाइहाल्नु पर्न अवस्था चाहिँ छैन । आफ्नो सीप र क्षमतालाई निखार्न सकेमा अब चाहिँ यो पेशाबाट बाँच्न गाह्रो हँुदैन ।
यस क्षेत्रमा आउने नयाँलाई के सुझाव दिनुहुन्छ ?
पत्रकारितामा लहडको भरमा नलाग्न मेरो नयाँ पुस्तालाई सुझाव छ । यही पेशामा भविष्य बनाउँछु भनेर लाग्नेहरुले पत्रकारिता विषय नै पढेर आउनुस् । जसले गर्दा तपाईँलाई काम गर्न सजिलो हुन्छ ।