कोरोना महामारीका कारण विग्रदो अर्थव्यवस्थालाई मध्यनजर गरेर कोरोना राहत केन्द्रीत बजेट ल्याउन स्थानीय तहरुलाई केन्द्र सरकारले निर्देशन दिएको छ । मुलुकभरका स्थानीय तहहरु यतिबेला बजेट निर्माणको तयारीमा छन् । यसै सन्दर्भमा उर्लावारी नगरपालिकाले पनि बजेटको तयारी सुरु गरेको छ ।
नगरपालिकालाई राजस्व परामर्श समितिले प्रतिवेदन दिइसकेको छ । समितिले नगरपालिकालाई करको दायरा बढाएर करको दर यथावत कायम राख्न सुझाव दिएको छ । अब उक्त प्रतिवेदनमाथि छलफल गरेर स्रोत अनुमान समितिले नयाँ आर्थिक वर्षका लागि बजेट अनुमान गर्दै छ ।
सम्भवतः नगरपालिकाको स्रोत अनुमान समितिको बैठक आइतबार वा सोमबारभित्र बस्ने तयारी रहेको नगर प्रमुख खड्ग फागोले मंगलबारे पेजलाई बताए । स्रोत अनुमान तथा सीमा समितिमा नगर प्रमुख अध्यक्ष रहने प्रावाधन छ ।
यो समितिमा उपप्रमुखसहित दुई वडाध्यक्ष र २ जना कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ । उर्लावारीमा प्रमुख प्रशाकीय अधिकृत नभएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतले समितिको बैठकमा सदस्य सचिव रहनेछन् ।
कोरोनाका उर्लावारी नगरपालिकालाई राजस्व परामर्श समितिले सुझाव दिएको छ । यस वर्ष नगरपालिकाले आन्तरिक आयलाई बढाउनेतिर केन्द्रीत छ । यसका लागि घर बहाल कर १० प्रतिशतसम्म लिन सुझाव दिइएको उद्योग वाणिज्य संघ उर्लावारीका अध्यक्ष प्रितम खड्गीले पेजलाई बताए ।
यस वर्ष नगरपालिकाको आन्तरिक आय पनि केही बढ्ने देखिएको नगरपालिकाका अधिकृत भरत अधिकारी बताउँछन् । उनी मंगलबारे पेजलाई भन्छन्,' नगरपालिकाले घर वहाल करलाई यस वर्ष फोकस गरेको छ । कर पनि बढाएको छैन । दर्ता हुन बाँकी रहेका केही पसलहरुलाई करको दायरामा आउने अनुमान छ । व्यवसायिक कर र घरबहाल करबाट यस वर्ष बढी आय हुने प्रक्षेपण गरिएको छ । '
नगरपालिकाले आन्तरिक आयतर्फ सबैभन्दा बढी नदीजन्य पदार्थको ठेक्का हो । उर्लावारीका खोलाहरुमा ठेक्का लगाउँदा नगरपालिकाले राम्रो आम्दान गर्छ ।
चालू आर्थिक वर्षमा मावा खोलामा ठेक्का नलगाएपनि नदीजन्य पदार्थको ठेक्का २ करोड ६ लाखमा ठेक्का लगाएको छ । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले ३ करोड ५६ लाखमा नदीजन्य पदार्थको ठेक्का लगएको थियो । यस्ते घरवहाल करबाट करिब ७० लाखको हारहारीमा आम्दानी गर्न सकिने राजस्व परामर्श समितिको सुझाव रहेको अधिकृत अधिकारीले बताए ।
कर नबढ्नेः
उर्लावारी नगरपालिकाले यस वर्ष कर नबढाउने भएको छ । नगरपालिकाका प्रमुख खड्ग फागोले कोरोना कारण नगरपालिकाले यस वर्ष कर नबढाउने जानकारी दिए । यस्तै अघिल्लो आर्थिक वर्षमा पनि नगरपालिकाले कर बढाएको थिएन । कोभिड-१९ले अर्थतन्त्रलाई नराम्रोसँग असर गरेकाले नगरपालिकाले सबैलाई सहज हुने र काम गर्ने खालको बजेट ल्याउने नगर प्रमुख फागोले मंगलबारे पेजलाई बताए ।
स्रोत अनुमान तथा सीमा समितिको बैठकले आगामी आर्थिक वर्षका लागि राजस्व परामर्श समितिले दिएको सुझाव अनुसार अन्य आम्दानी तथा खर्चको प्रक्षेपण गर्ने उनले बताए । उक्त बैठकले कूल आयको प्रक्षेपण गरेर विभिन्न योजना तथा खर्चहरुको अनुमान गरेर त्यही अनुरुप छुट्टाइएको बजेट अनुसार वडाहरुलाई योजना ल्याउन सिफारिस गर्नेछ ।
नगरसभाको बैठक असार १० गते बस्नुपर्ने हुन्छ । यस्तै नगरपालिकाले नगरस्तरीय गौरवका योजनाहरु पनि बनाउने तयारी गरेको नगर प्रमुख फागोले हामीलाई जानकारी दिए । उनका अनुसार सबैसँग सरसल्लाह र विज्ञहरुको राय सुझाव लिएर नगरपालिकामा कस्ता किसिमका गौरवका आयोजनाहरु निर्माण गरिने भन्ने विषयमा छलफल र सबैको सहमतिमा निर्णय लिइनेछ ।
बजेट ६८ करोड हारहारीको:
यस वर्ष उर्लावारी नगरपालिकाको बजेट ६८ करोडको हारहारीमा हुने अनुमान गरिएको छ । नगर प्रमुख फागोका अनुसार संघ प्रदेश र आन्तरिक आय अनि विभिन्न अनुदानहरु गरेर ६८ करोडको हारहारीमा बजेट आउन सक्ने बताए ।