किशोर श्रेष्ठ
उर्लाबारी, २३ माघ । मोरङ उर्लाबारी–४ का मानबहादुर तामाङ र उनको श्रीमती शुकमाया तामाङले सायदै कल्पनासम्म पनि गरेका थिएनन्, कि जीबन मरणको दोसाँधमा पुगेको आफ्नो छोरा अहिलेको अवस्थासम्म आइपुग्ला भनेर । गत पुस ४ गते उर्लाबारी–७ मा रहेको प्रकाश चोङ्बाङको घरमा बिजुलीको पाइप जडान गर्ने क्रममा चौथो तलाबाट खसेर शक्त घाइते बन्न पुगेका उनीहरुको २४ बर्सिय छोरा देबेद्र तामाङको अवस्थालाई देख्ने प्रायः सबैले नै माया मारेका थिए । काम गर्ने सिलसिलामा छोरा घरमाथीबाट खसेर अन्तिम अवस्थामा रहेको खबर पाएका तामाङ परिवारलाई अचानक पहाडले थिचेको अनुभव भएको थियोे । छोरा अन्तिम अवस्थामा जीबन र मरणको दोसाँधमा हस्पिटलमा रहेको जानकारी पाएका तामाङ परिवारलाई हस्पिटलमा लाग्ने खर्चको जोहो गरेर तुरुन्त हस्पिटल बोलाईयो । तर वृद्ध तामाङ दम्पतीसँग न त उपचारका लागि लाग्ने खर्चको जोहो गर्नसक्ने क्षमता थियो, न त हस्पिटलसम्म जानसक्ने तागत नै । यस्तो अवस्थामा उनीहरुले सम्झिन पुगे गाउँमा रहेर समाजसेवा गर्दै आएका प्रभु दिलुङ्छा राईलाई ।
बेलुकीको खानपिन सकेर आराम गर्न लागेका राईको घरमा सहयोगको अपेक्षा सहित पुगे तामाङ दम्पति । प्रभु भन्छन्, ‘म त सुत्ने तयारीमा थिए सोही बेला बाजेबोजु आएर नाति हामी बर्बाद भयौं, हाम्रो जहाज डुब्यो भनेर भन्नुभयो’, कुरा बुझ्दै जादाँ त उहाँहरुको कान्छा छोरा घर माथीबाट खसेर गम्भिर अवस्थामा हस्पिटल लगिएको रहेछ । उपचारका लागि लाग्ने खर्च सहित हस्पिटल गइदिनका लागि अनुरोध गर्न आउनुभएको रहेको छ, उहाँहरु । अचेत अवस्थामा हस्पिटल पुर्याएको देबेन्द्रको बारेमा जानकारी पाएसँगै मनले आराम गर्न मानेन, त्यसमाथि पनि आमाबुबा जस्ता मानिसले गरेको अनुनय विनय कसरी नकार्न सक्थे र म । प्रभुले भने, यस बारेमा साथीहरू प्रेम बोहोरा र सुरेस राईलाई पनि जानकारी गराए । उहाँहरु पनि जान तयार भएपछि हामी रातको १० बजे बिराटनगर लाग्यौं ।
रातको समय त्यसमाथि नि हुस्सुले बाटो नै राम्रोसँग देखिदैन्थ्याें जसोतसो हस्पिटलसम्म पुगेका हामी आफैंले देबेन्द्रको अवस्था देखेपछि खासै उपचार हुन्छ भन्ने आशा मार्नु बाध्य भयौं । राई थप्छन्, तर जबसम्म सास रहन्छ तबसम्म आस रहन्छ भनेर हामी उनको उपचारमा लाग्यौं । अर्धचेत अवस्थामा पुगेका देबेन्द्रलाई उर्लाबारीको अरनिको हस्पिटलबाट अक्सिजनको सहाराले बिराटनगरसम्म पुर्याइएको थियो । बिराटनगरको न्युरो हस्पिटल, नोबेल हस्पिटलले देबेन्द्रको उपचार सम्भव नभएको भन्दै फिर्ता गरेपछि धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लगिएको थियो । तर त्यहाँ पनि उनको उपचार सम्भव नभएकाले फिर्ता लैजान डाक्टरले सुझाव दिएको थियो । अन्त्यमा सोही हस्पिटलमा कार्यरत डाक्टरले दिएको सुझाव अनुरुप नै देबेन्द्रलाई भारतको सिलगुडिमा रहेको नर्थ बेङ्गल न्युरो हस्पिटल पुर्याइएको थियो । दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएको तामाङ परिवारसँग उपचार गर्न लैजाने खर्च थिएन त्यसमाथि पनि बाच्ने आशा न्यून हुँदा खर्च मात्रै हुने धेरैले अनुमान गरेका थिए । यस्तो अवस्थामा प्रभुले आफ्नो साथमा भएको २ लाख बोकेर लिला रिजालको सहयोगमा हस्पिटल हानीएका थिए । प्रभु भन्छन्, बेङ्गल हस्पिटल लाने सोच कसैले बनाएको नै थिएनन्, देबेन्द्र बाच्ने आशा एकदमै कम भएकाले पनि सबैले माया मारिसकेका थिए त्यसमाथि पनि आफ्नो खर्च गरेर उपचार गर्दिने को नै हुन्छ र यहाँ । नर्थ बेङ्गल न्युरो हस्पिटल पुर्याएको २० दिनसम्म पनि देबेन्द्रको अवस्थामा कुनै परिवर्तन नआएपछि धेरैले प्रभुले नहुने काम गर्यो भनेर समेत भनेका थिए । तर बिस्तारै देबेन्द्रको अवस्था फेरियो, उनी बोल्न सक्ने भए, सहयोगीको भरमा हिड्न सक्ने भए । ४५ दिनको उपचारपछि डाक्टरको सल्लाह बमोजिम नै देबेन्द्रलाई अहिले घर ल्याइएको छ ।
उनलाई घर ल्याउन प्रभुसँगै उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष चिन्तामणी पौड्याल, प्रेम बोहोरा, लिला रिजाल लगायतको समुह भारत गएको थियो । हाल देबेन्द्र परिवारको साथमा बसेर स्वास्थ्य लाभ लिरहेका छन् । उनको हेरचाहमा गत बैशाखमा विवाह गरेका पत्नी मेलिना तामाङ तल्लिन छिन् । देबेन्द्रको उपचारमा १२ लाख २८ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको बचाउ अभियानको संयोजक समेत रहेका प्रभुले जानकारी दिएका छन् । देश तथा बिदेशबाट देबेन्द्रको उपचारका लागी सहयोगी मानिसहरुबाट ५ लाख ५३ हजार ६ सय ८० रुपैयाँ संकल्न भएको थियो भने परिवारको ६ लाख ७४ हजार ७ सय खर्च भएको छ ।
अरुको घरमा भाडामा बस्दै आएको तामाङ परिवारले उक्त रकम आफन्त अनि गाउँलेहरुसँग ऋण गरेको हुन् । तामाङ दम्पतीले भएको एक हल गोरु पनि छोराको उपचारका लागी बेचेका थिए । सहयोगी सबैलाई धन्यवाद दिदै देबेन्द्रले नयाँ जीवन पाएकोमा एकदमै हर्सित भएको बचाउ अभियानका प्रभु राईले बताए । यो परिवारले दैनिक गुजारा गर्ने जोहो कसरी गर्लान् भन्ने चिन्ता एकातिर छ भने लागेको यतिठुलो ऋणको भारको चिन्ता अर्को छ । सबैको सहयोग भए केहिहदसम्म राहत मिल्ने भएकाले पुनः सहयोगको अपेक्षा राखेको पनि राईले बताए । छोराको उपचारका लागि देश तथा बिदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिदै तामाङ दम्पतिले प्रभुको यो सहयोग बाचुनज्यालसम्म सम्झिरहने बताए । उनीहरु भन्छनन्, भगवान छन् या छैनन् थाहा छैन तर हाम्रा लागि प्रभु नै भगवान हुन् । आशा मारिसकेका छोरा हामीले फिर्ता पाएका छौं । देबेन्द्रको भरमा नै चल्दै आएको यो परिवारको आगामी दिनहरु कस्तो होलान् ? परिवारमा लागेको ऋण कसरी तिर्नु भन्ने चिन्ता एकातिर रहेको छ भने छोराको थप उपचारका लागि लैजाने खर्च कसरी जुटाउँने अर्को चिन्तामा छ तामाङ परिवार यतिबेला ।